Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख २३ बिहीबार ०९:०६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

लुटमा संलग्न औषधि कम्पनीविरुद्ध

Read Time : > 2 मिनेट
२०७८ बैशाख २३ बिहीबार ०९:०६:००

ठूला अमेरिकी औषधि कम्पनी सुलभ स्वास्थ्य बिमा कार्यक्रम ‘मेडिकेयर’ विस्तार नहोस् भन्ने चाहन्छन्, हामीले यो अवस्था अन्त्यका लागि लड्नुपर्नेछ

हामीले केवल धनीका लागि मात्र होइन, सबै नागरिकका लागि काम गर्ने सरकार सिर्जना गर्नेतर्फ प्रगति गर्न सुरु गरेका छौँ । यद्यपि हामीले अझै धेरै लामो मार्ग तय गर्नु छ । अहिले तपाईं जो बाइडेनले गत मार्चमै हस्ताक्षर गरेको १४ सय युएस डलर, बाल हेरचाह, बेरोजगारी भत्ता एवं करोडौँ डोज खोपजस्ता अमेरिकन रेस्क्यु प्लान कार्यान्वयनका समाचार पढिरहनुभएको छ, जुन यो महामारीलाई परास्त गर्न अत्यन्तै जरुरी छन् । तर, तपाईंले हामीले मेडिकल सेवा कमजोर रहेका क्षेत्रका सामुदायिक स्वास्थ्य केन्द्रका लागि लगानी दोब्बर बनाएको, डाक्टर तथा नर्समा लगानी तेब्बर बनाएर प्राथमिक स्वास्थ्य हेरचाहलाई निकै पहुँचयोग्य बनाएको समाचार भने पढ्न नपाएको पनि हुन सक्छौँ । तर, हामीले यो काम गरेका छौँ । बालबालिकाका लागि उल्लेख्य लगानी थपिएका कारण पछिल्लो वर्षदेखि घरमै बस्न बाध्य बालबालिकाले अब विभिन्न क्रियाकलापमा संलग्न हुन पाउनेछन् । बाइडेनका यी केही उल्लेख्य पहलकदमी हुन् । तर, यो अभूतपूर्व संकटका बखतमा पर्याप्त नै भने होइन भन्ने बाइडेन, म र तपाईंलाई थाहा छ । 

अघिल्लो बुधबारको भाषणमा राष्ट्रपति बाइडेनले अघि सारेका कार्यसूचीले कंग्रेसलाई रोडम्याप प्रदान गरेको छ । तर, मुलुकले सामान गरिरहेको विशाल आर्थिक, सामाजिक, स्वास्थ्य तथा वातावरणीय संकटसँग हामीले गम्भीरतापूर्वक जुझ्न भने अझै धेरै पहल लिनुपर्नेछ । सिनेटको बजेट कमिटीको अध्यक्षका नाताले मैले यो नयाँ विधायनको ड्राफ्टमा सहयोग गर्न भूमिका खेलेको छु । यसमा मुलुकको बिग्रिँदो पूर्वाधार, जलवायु परिवर्तन र प्रत्येक परिवारका लागि बाल हेरचाह उपलब्ध गराउनेलगायतका महत्वपूर्ण क्षेत्र समावेश छन्, जसको सम्बोधन हामीले गर्नेछौँ । । तर, अहिलेका लागि म तपाईंसँग हामी विशेष रूपले केन्द्रित हुने एक क्षेत्रको बारेमा कुरा गर्न चाहन्छु ।

शक्तिशाली ठूला औषधि कम्पनीले पहुँच र प्रभावको उपयोग गरेर सरकारलाई लुटिरहेका छन् र अमेरिकी नागरिकबाट मनलाग्दो रकम असुलिरहेका छन् । 

६५ वर्षमाथिका नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रम मेडिकेयर लागू गरिएको ५० वर्षभन्दा बढी भइसक्दासमेत ज्येष्ठ नागरिकहरूले अझै आधारभूत श्रवण, दृष्टि तथा दन्त सेवा प्राप्त गर्न पाएका छैनन् । बिमा योजनाले नसमेट्दा चस्मा किन्न नसकेर कैयौँ ज्येष्ठ नागरिकहरू पत्रपत्रिका पढ्नबाट वञ्चित छन् । श्रवण मेसिन किन्न नसक्दा नातिनातिनासँग कुरा गर्न सक्दैनन् । दाँत हाल्न नसक्दा खानमा समस्या भोगिरहेका छन् । यो लाखौँ वृद्ध उमेरका कामदारका निम्ति स्वास्थ्य सुविधा पाउने उमेर घटाउने समय पनि हो, जुन स्वास्थ्य हेरचाहका निम्ति अत्यन्त जरुरी छ ।

इतिहासको यो कठिन घडी डेमोक्र्याटिक राष्ट्रपति र डेमोक्र्याटिक कंग्रेसका लागि अमेरिकी जनताले चाहेको काम गर्ने समय हो । हामीले स्वास्थ्य बिमाको सुविधालाई अझ विस्तार गर्नुपर्छ । यसका लागि आफ्नो बहुमतलाई उपयोग गर्नु नै अमेरिकी जनताका लागि एक मात्र उचित कदम हुन्छ, साथै त्यो असल राजनीति पनि हुन्छ । यी पहलकदमी महँगाजस्ता लाग्छन्, साँच्चै यी महँगै पनि छन । तर, हामी यो पूरै अतिरिक्त खर्च चिकित्सकीय सिफारिस (प्रेस्क्रिप्सन) औषधिको मूल्यबाटै भुक्तान गर्न सक्छौँ ।

अहिलेको मेडिकेयर ऐनले औषधि कम्पनीबाट ज्येष्ठ नागरिकका लागि खरिद गरिने औषधिको खर्चबारे कुनै नेगोसियसनको अनुमति नदिने भएकाले यसो गर्न सकिँदैन जस्तो पनि लाग्छ । शक्तिशाली ठूला औषधि कम्पनीहरूले पहुँच र प्रभावको उपयोग गरेर सरकारलाई लुटिरहेका छन् र अमेरिकी नागरिकबाट मनलाग्दो मूल्य असुलिरहेका छन् । यति मात्रै होइन, अमेरिकी नागरिक औषधि कम्पनीहरूको यही सामथ्र्यका कारण सिफारिस औषधिका लागि विश्वमै उच्च मूल्य चुकाउन अभिशप्त छन् । यो विरोधाभासको अन्त्य हुनैपर्छ । हामीले पनि विश्वका अन्य ठूला मुलुकले जसरी नै औषधिको मूल्य तय गर्नुपर्छ । हाम्रा दिग्गज प्रशासकहरू यो गर्न समर्थ छन् । यो कदम उठाउन मेडिकेयर ऐनले रोकिरहेको छ । अहिले हामी अलमलमा परेको जित–जितको स्थितिको परिभाषा गर्नका लागि मात्रै हो । ज्येष्ठ नागरिकले प्रेस्किप्सन ड्रग्सका लागि कम मूल्य तिर्नुपर्दा श्रवण, दृष्टि तथा दन्त सेवा प्राप्त गर्ने अवसर पाउनेछन् । उमेरको सीमा घटाउँदा थप लाखौँ वृद्ध अमेरिकी यो मेडिकेयर योजनामा सहभागी हुन योग्य हुनेछन् । हामी यही गर्न चाहन्छौँ । 

यी सामान्य नीतिका लागि हामीले ठूलै संघर्ष गर्नुपर्छ भन्ने सोच्नु पनि बहुलठ्ठीपन हुन सक्छ । यो नीतिलाई अधिकांश अमेरिकीको समर्थन छ । तर, औषधि उद्योगले यस्तो नीतिलाई रोक्न वासिंटनमा रहेको आफ्नो सबै शक्ति उपयोग गर्न सक्छन् । सन् १९९९–२०१८ सम्ममा औषधि कम्पनीले लबिङमा संघीय सरकारका लागि चार अर्ब ७० करोड डलर खर्च गरेका थिए । यो राशि संघीय उम्मेदवार तथा कमिटीको चुनावी अभियानका लागि दिएको ४० करोड डलर र स्टेटका उम्मेदवार तथा कमिटीका लागि खर्चिएको ९० करोड डलरबाहेकै हो ।

वासिंटनमा जबर्जस्त पकड राख्ने औषधि उद्योग आफ्नो पैसा र पहुँचले मेडिकेयर कार्यक्रमको विस्तार र प्रेस्क्रिप्सन औषधिको मूल्य घटाउने राष्ट्रपतिको कदमलाई कंग्रेसलाई रोक्न सकिन्छ भन्नेमा विश्वस्त छन् । म यसमा असमत छु । हामी सबैले हाम्रो आवाजलाई सुनिने बनाउने हो भने अमेरिकी जनता कति शक्तिशाली छन् भन्ने देखाइदिन सक्छौँ । 

(स्यान्डर्स अमेरिका भूतपूर्व उपराष्ट्रपति हुन्)
गर्जियनबाट