१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कामविहीन भएपछि फेवातालमा थन्किएका डुंगाहरू । तस्बिर : नयाँ पत्रिका
२०७८ बैशाख २३ बिहीबार ०८:५१:००
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

शान्त फेवा, बेचैन व्यवसायी 

Read Time : > 3 मिनेट
२०७८ बैशाख २३ बिहीबार ०८:५१:००

दोस्रोपटकको लकडाउनले यहाँको चर्चित पर्यटकीय गन्तव्य फेवाताल शान्त छ, आगन्तुक ओसारेर कहिल्यै नथाक्ने सयौँ डुंगा बाँधिएका छन्, डुंगाको ओहोरदोहोरले तरंगित बन्ने ताल मौन छ 

कोरोना महामारीको पहिलो लहरमा लामो समयसम्म लकडाउन झेलेको पोखराका पर्यटकीय क्षेत्रमा अहिले फेरि शून्यता छ । दोस्रोपटकको लकडाउनले यहाँको चर्चित पर्यटकीय गन्तव्य फेवाताल शान्त छ । आगन्तुक ओसारेर कहिल्यै नथाक्ने सयौँ डुंगा बाँधिएका छन् । डुंगाको ओहोरदोहोरले तरंगित बन्ने ताल मौन छ, तर डुंगा चलाउन नपाएका कारण चालकहरूको मन भने अशान्त छ । लकडाउनसँगै उनीहरू घरमा थुनिएका छन् । ताल र डुंगा शान्त भए पनि डुंगाचालक र यहाँका पर्यटन व्यवसायीको मनमा भने खैलाबैला मच्चिएको छ ।

फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपाली ताल शान्त हुँदा चालकको मन अशान्त हुने बताउँछन् । बिसौँ वर्ष यही पेसा गरेका नेपाली यस्तो कठिन अवस्था कहिल्यै नभोगेको बताउँछन् । ‘लामो समय मन्दिर बन्द रह्यो, डुंगा चलाउन पाइएन । यसो केही मेसो आउँदै थियो, फेरि लकडाउन भएपछि रोजीरोटी नहुँदा मन अशान्त छ । अब ठीक होला भन्ने लागेको थियो । फेरि के यस्तो आइलाग्यो । तर पनि जिउभन्दा ठूलो अरू केही रहेनछ । बाँचे फेरि काम गरौँला के गर्ने ?’ उनले भने । 

पश्चिमाञ्चल होटेल संघका अध्यक्ष विकल तुलाचन पर्यटकविनाको फेवाताल र लेकसाइड मरेतुल्य हुने टिप्पणी गर्छन् । भन्छन्, ‘पर्यटक आए पो होटेलमा बस्ने, रेस्टुरेन्टमा खाने, प्याराग्लाइडिङ गर्ने, फेवाताल घुम्ने हो । कोही नि नआएपछि ताल र लेकसाइड शान्त भएर के गर्नु ? जब सुन्दरता हेर्ने नै कोही नभएपछि सबै चौपट भैगयो नि ।’ 

अध्यक्ष तुलाचनले लामो लकडाउनपछि पर्यटन क्षेत्र बिस्तारै चलायमान हुन लागेका वेला फैलिएको दोस्रो लहर र लकडाउने व्यवसायीलाई शून्यबाट पनि तल झारेको बताए । उनका अनुसार पछिल्लो समय आन्तरिक पर्यटक आउने क्रम ह्वात्तै बढेको थियो । विदेशी पर्यटक पनि फाट्टफुट्ट आउन थालेका थिए । तर, दोस्रो चरणको लकडाउनले सबै शून्यबाट पनि तल झरेको छ । ‘शून्य भएका वेला केही बाह्य पर्यटक आउँदा पनि निकै आशा बढेको थियो । आन्तरिक पर्यटक त धेरै नै आउन थालेका थिए । तर, अहिले त झन् भयावह भयो,’ उनले भने ।

पछिल्लो समय आन्तरिक पर्यटक आउने क्रम ह्वात्तै बढेको थियो । विदेशी पर्यटक पनि फाट्टफुट्ट आउन थालेका थिए । तर, दोस्रो चरणको लकडाउनले सबै शून्यबाट पनि तल झरेको छ ।

उनले अघिल्लो लकडाउनका वेला ६ महिनादेखि एक वर्षसम्मको भाडा घरबेटीहरूले मिनाहा गरिदिएको स्मरण गरे । अहिले त घरबेटी पनि समस्यामा रहेको सुनाए । अब घरबेटीलाई भाडा मिनाहा गर भन्न पनि कठिन रहेको र जारी लकडाउनपछि व्यवसाय धान्ने अवस्था व्यवसायीमा नरहेको उनको विश्लेषण छ । ‘यस्तै केही समय रहिरहने देखियो । अब सरकारले केही योजना नल्याउने हो भने पलायन हुनुको विकल्प देखिन्न,’ उनले भने, ‘यस्तो वेला ऋण कसरी तिर्ने र व्यवसाय कसरी धान्ने भन्दा पनि कसरी बाँच्ने भन्ने सोच्नुपर्ने भयो । 

१५ हजारभन्दा धेरै मजदुर विस्थापित 
पोखरा र आसपासमा सात सयभन्दा धेरै पर्यटकीय स्तरका होटेल छन् । अध्यक्ष तुलाचनका अनुसार ती होटेलमा ३० हजार पर्यटक एकसाथ राख्ने क्षमता छ । १५ हजारभन्दा बढी मजदुरले प्रत्यक्ष रोजगारी पाएका थिए । त्यसमध्ये ३५ प्रतिशतजति कर्मचारी मात्र अघिल्लो लकडाउनमा काममा थिए सहज भएपछि अरू कर्मचारीलाई आलोपालो प्रणालीमा काममा लगाएको भए पनि अहिले तिनै कर्मचारीलाई व्यवस्थापन गर्न सकस भएको उनले बताए । ‘पहिले लकडाउनका वेला नै अधिकांश मजदूर विस्थापित भइसकेका थिए । बिस्तारै व्यवसाय लयमा आउने अपेक्षाले होटेलका कर्मचारी बोलाउने काम भएको थियो । अहिलेको अवस्थामा तीमध्ये पनि धेरै फर्किसकेका छन्,’ उनले भने । 

सबै तहका सरकारले राहत प्याकेज ल्याउनुपर्छ : व्यवसायी 
पोखराका पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई अब राज्यले पर्यटन क्षेत्रलाई विशेष केही नगर्ने हो भने पलायनको विकल्प नरहेको बताउँछन् । कोरोनाको पहिलो लहरले नै शून्यमा पुर्‍याएको यस क्षेत्रलाई दोस्रो चरणमा माइनसतर्फ धकेलेको उनको पनि विश्लेषण छ । 

महामारी हाम्रो हातमा छैन । कहिले सकिन्छ भन्ने पनि यकिन भएन । पर्यटनबाट हामीले केही महिना पूर्ण रूपमा नोक्सान खेप्ने मानसिकता बनाएकै छौँ । केन्द्र, प्रदेश र स्थानीय तहले अबको बजेटमा सम्बोधन गर्नेगरी योजना ल्याउनुपर्छ । त्यसो भयो भनेमात्र व्यवसाय र व्यवसायी बाँच्ने आधार होला नत्र अब उठ्न निकै कठिन छ,’ उनले भने ।

पोखरामा अझै दुई सय विदेशी पर्यटक
पोखरा र आसपासका क्षेत्रमा अझै पनि दुई सयको हाराहारीमा पर्यटक रहेको पर्यटन प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । पर्यटन प्रहरी प्रमुख, प्रहरी निरीक्षक राजन रायमाझीले यकिन तथ्यांक लिन बाँकी रहे पनि दुई सयको हाराहारी विदेशी पर्यटक रहेको बताए । 

दुई दिनअघिसम्म आन्तरिक उडान भएकाले कति बाहिरिए र कति यहाँ छन् भन्ने विषयमा यकिन गर्ने काम भइरहेको उनले बताए । ‘दुई दिनअघिसम्म आन्तरिक उडान कायम थियो । त्यस अवधिमा केही पर्यटक यहाँबाट बाहिरिएका पनि छन् । केही ट्रेकिङ रुटमै रहेको जानकारी पाएका छौँ,’ उनले भने, ‘होटेलहरूसँग हामीले डाटा लिएर पुष्टि गर्छौं ।’

टान पोखराका अध्यक्ष सुशीलराज पौडेलका अनुसार अहिले ५० जनाको हाराहारीमा विदेशी पर्यटक ट्रेकिङ रुटमै छन् । अध्यक्ष पौडेलले पनि राज्यका सबै तहको साथ नहुने हो भने पर्यटन क्षेत्र अब माथी उठ्न कठिन हुने धारणा राखे ।