मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २२ बुधबार १८:४८:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

भरतमोहन अधिकारी फाउन्डेसनले ज्येष्ठ नागरिकलाई पढाउने 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २२ बुधबार १८:४८:००

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिकहरूका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वर्गीय उपप्रधान तथा अर्थमन्त्री एवं वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको ८६औँ जन्मजयन्तीका अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममार्फत शैक्षिक कार्यक्रम घोषणा गरिएको हो ।
 
फाउन्डेसनका तर्फबाट भरतमोहनपुत्री लिमा अधिकारीले ‘ज्येष्ठ नागरिकहरूका लागि आधारभूत शैक्षिक कार्यक्रम’ घोषणा गरिन् । उनले निरक्षरताका कारण विभिन्न अवसरबाट वञ्चित ज्येष्ठ नागिरकका लागि उपयोगी हुने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइन् । एकवर्षे शैक्षिक कार्यक्रममार्फत निरक्षर ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी लिन सक्ने बनाइने अधिकारीले बताइन् । 

पहिलो चरणमा ललितपुरको बुङमतीमा ज्येष्ठ नागिरकका लागि आधारभूत शैक्षिक कार्यक्रम सुरु गरिनेछ । तत्काल प्रदेश तीन र क्रमशः सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आधारभूत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखिएको उनले उल्लेख गरिन् । पहिलो चरणमा ६० वर्ष उमेर नाघेका ३० जना निरक्षर वृद्धवृद्धा छनोट गरेर कार्यक्रम सञ्चालन गरिने फाउन्डेसनले जनाएको छ । सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन दुई घन्टा दरले कक्षा सञ्चालन गरिनेछ । कक्षामा १ कोअर्डिनेटर, नेपाली र स्थानीय भाषामा दख्खल राख्ने स्नातकोत्तर अध्ययन गरेका प्रमुख शिक्षक र प्लस टु अध्ययन गरेका सहायक शिक्षकको व्यवस्था मिलाइएको छ । अधिकारीले कक्षामा सहभागी हुने ज्येष्ठ नागरिकलाई शैक्षिक सामग्र्री, मोबाइल, बस, झोला र दिवा खाजाको व्यवस्था फाउन्डेसनले नै गर्ने घोषणा गरिन् । 

यस्तै प्रयोगात्मक सिकाइका लागि आवश्यकताअनुसार वृद्धवृद्धालाई शैक्षिक भ्रमणसमेत गराइने कार्यक्रम छ । सिकाइ मापन गर्न हरेक महिना आंशिक र १२औँ महिनामा अन्तिम परीक्षा लिइनेछ । अन्तिममा प्रमाणपत्रसमेत उपलब्ध गराउने फाउन्डेसनले जनाएको छ । 

कार्यक्रममा ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतमले ज्येष्ठ नागरिकलाई राज्यले हेर्नुपर्छ भन्ने कामको पहिलो पाइला भरतमोहन अधिकारीका तर्फबाट सुरु भएको बताए । भरतमोहनले थालेको एक सय रुपैयाँ वृद्धभत्ता बढेर हाल तीन हजार पुगेको भन्दै उनले उक्त कामका कारण अधिकारी सदैव जीवित रहने उल्लेख गरे । ज्येष्ठ नागरिक अशिक्षित हुँदा युगअनुसार चल्न नसक्ने र जीवनयापन कठिन हुने भएकाले उनीहरू शिक्षित हुन जरुरी रहेको उनको भनाइ थियो ।

ज्येष्ठ नागरिकलाई सशक्तीकरण गर्न अध्ययन जरुरी रहेको स्पष्ट गर्दै गौतमले विदेशमा रहेका सन्तानलाई फोन गर्न र आएको फोन फर्काउन नसक्नेको संख्या धेरै रहेको बताए । ‘आमाबाबु निरक्षर हुँदा छोराछोरीलाई पनि समस्या हुने गरेको छ,’ गौतमले भने, ‘ज्येष्ठ नागरिकलाई बोझ सम्झने सामाजिक मनोविज्ञान झाँगिएकाले यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास हामीलाई छ ।’

कुल जनसंख्याको ११ प्रतिशत अर्थात् ३५ लाख बढी ज्येष्ठ नागरिक रहेकाले उनीहरूका लागि काम गर्नुपर्नेमा जोड दिए । ज्येष्ठ नागरिकप्रतिको दुव्र्यवहारको प्रमुख कारण बुढ्यौली जीवनको योजना बनाउन नसक्नु भन्दै उनले अहिले युवा र प्रौढ अवस्थामा रहेकाहरूले छोराछोरी र परिवारको सँगै आफ्नो बुढ्यौली जीवनको योजना पनि बनाउन सुझाए । संयुक्त राष्ट्रसंघीय सहश्राब्दी विकास लक्ष्यको चौथो नम्बरमा ‘एडुकेसन फर अल’ कार्यक्रम समावेश भएको चर्चा गर्दै उनले शिक्षा र प्रविधि जोडेर ज्येष्ठ नागरिकलाई सँगै लैजानुपर्ने विचार व्यक्त गरे । 

कार्यक्रममा शिक्षाविद् गोविन्द गजुरेलले भरतमोहन अधिकारीको नाम लिनेबित्तिकै ज्येष्ठ नागरिकको अनुहार अगाडि आउने बताए । ज्येष्ठ नागरिक, एकल महिला, सुत्केरी भत्ताजस्ता सामाजिक सुरक्षाका सवालमा भरतमोहन अधिकारीले थालेका प्रयास अहिले समाजको अभिन्न अंग भएको गजुरेलले उल्लेख गरे । वृद्धवृद्धाका लागि मात्र नभई महिला सशक्तीकरणमा समेत भरतमोहनको योगदान रहेको चर्चा उनले गरे । महिलाका नाममा जग्गाको रजिस्टे«सन पास गर्दा लाग्ने शुल्कमा छुट दिने भरतमोहनको नीतिले महिलालाई सम्पत्तिको मालिक बनाएको उनको भनाइ थियो । 

शिक्षाविद् जनकराज तुलाधरले परिवर्तित सन्दर्भमा ज्येष्ठ नागरिकलाई प्रविधि प्रयोगमा जटिलता रहेकाले शिक्षाले घरमा सीमित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त गरे । फाउन्डेसनकी अध्यक्ष एवं भरतमोहन अधिकारीपत्नी सविता अधिकारीले स्वर्गीय भरतमोहनमा ज्येष्ठ नागिरकप्रति ठूलो आस्था, विश्वास र सदभाव रहेको स्मरण गरिन् । ज्येष्ठ नागिरकप्रतिको सम्मानस्वरूप ०५१ सालमा अल्पमत सरकारको अर्थमन्त्री हुँदा भरतमोहनले वृद्धभत्ताको कार्यक्रम सुरुवात गरेको बताइन् । सुरुमा सानै रकम भए पनि त्यसले देशभर वृद्धवृद्धामा राम्रो प्रभाव पारेको र अहिले मासिक तीन हजार पुगेको भन्दै उनले ०५१ यता बनेका विभिन्न दलका सरकारले उक्त कार्यक्रम हटाउन नसकेको उल्लेख गरिन् । ‘आफ्नो गाउँ आफैँ बनाऔँ, गाउँगाउँमा सहकारी, घरघरमा भकारी, वृद्धभत्ता, एकल महिला भत्ताजस्ता कार्यक्रमले भरतमोहन जनताका बीचमा लोकप्रिय हुनुहुन्छ,’ उनले भनिन् ।