मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अजित अधिकारी काठमाडौं
२०७८ बैशाख २२ बुधबार १८:०३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आयल निगम ६ वर्षपछि पुनः नोक्सानीमा

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७८ बैशाख २२ बुधबार १८:०३:००

स्वचालित मूल्य प्रणालीका कारण विगत ६ वर्षदेखि निरन्तर नाफा कमाइरहेको आयल निगम चालू आर्थिक वर्ष ०७७–७८ को १५ वैशाखसम्म आइपुग्दा भने २ अर्ब रुपैयाँ नोक्सानीमा गएको छ । आर्थिक वर्षको अन्त्यतिर घाटामा देखिएकाले निगमको चालू आवको वार्षिक वासलात घाटा वा ‘ब्रेक इभन’मा रहने देखिएको छ ।

एक वर्षयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर वृद्धि भइरहेको छ । अन्तर्राष्ट्रिय बजारअनुसार भाउ समायोजन नगर्दा गत मंसिरदेखि निगमले नोक्सानी खेपिरहेको थियो । चालू आवको मंसिरसम्म निगम करिब तीन अर्ब नाफामा थियो । त्यसपछि भने प्रत्येक महिना नोक्सानी खेप्दै आउँदा मंसिरसम्मको नाफाले समेत नधानेर अहिले वासताल ऋणात्मक बनेको हो ।

निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले यो वर्षको समग्र वासलात ऋणात्मक देखिने जोखिम बढ्दै गएको बताए । ‘कोभिड नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी राखे इन्धनको खपत धेरै घट्छ । त्यस्तै मूल्य पनि स्थिर राख्ने वा वृद्धि नगर्ने हो भने हामी आव ०७१–७२ पछि पहिलोपटक नोक्सानीमा जाने खतरा रहन्छ,’ साहले भने ।

पेट्रोलियम कारोबारबाट निगम यो आवमा नोक्सानीमा जाने निश्चित छ । तर, विभिन्न बैंकमा निक्षेप राखेको २८ अर्ब रुपैयाँको ब्याजले भने ‘ब्रेक इभन’सम्म लैजाने आशा देखाएको साहले बताए । उनका अनुसार अहिलेसम्मको सञ्चित नाफा र मूल्यस्थिरीकरण कोष गरेर कुल २८ अर्ब रुपैयाँ निक्षेप छ । साहले भने, ‘यसको ब्याजबापत प्रतिवर्ष १ अर्ब रुपैयाँभन्दा बढी प्राप्त हुन्छ र यसले निगमको प्रशासनिक खर्च धान्न सकिन्छ ।’ प्रशासनिक खर्च धान्ने रकम ब्याजबापत आउने भएकाले निगमले ठूलो चिन्ता नलिएको उनको भनाइ छ । सोही रकमको ब्याजले पेट्रोलियम कारोबारको क्षतिलाई केही कम गर्न मद्दत मिल्ने उनले बताए ।

आव ०७१–७२ यता निरन्तर नाफा कमाएको निगमले त्यसयता कुल ६९ अर्ब ५ करोड रुपैयाँ नाफाबापत सुरक्षित गरिसकेको छ । गत आव ०७६–७७ मा मात्रै १२ अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यो वर्ष निगमले कम्तीमा १० अर्ब रुपैयाँ नाफा आजन गर्ने लक्ष्य राखेको थियो, तर कच्चा तेलको बढ्दो मूल्यले निगमलाई घाटामा धकेलिरहेको छ ।

अहिले पनि निगमले घाटामा तेल बेचिरहेका कारण चर्को नोक्सानी खेपिरहेको जनाएको छ । १९ वैशाखमा एक विज्ञप्ति जारी गर्दै निगमले नयाँ खरिद दर बढेर आएको तर कोभिडका कारण मर्कामा परेका जनतालाई इन्धनको मूल्य स्थिर राखेर राहत दिने निर्णय भएको जनाएको थियो । निगमका अनुसार अहिले पेट्रोलमा ८.७६ रुपैयाँ र डिजेलमा ३.४२ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यासमा ३७५.१३ रुपैयाँ प्रतिसिलिन्डर नोक्सानी खेपेर बिक्री गरिरहेको जनाएको छ । हाल काठमाडौं उपत्यकाका लागि पेटोल एक सय २१ र डिजेल तथा मट्टीतेल एक सय चार रुपैयाँ प्रतिलिटर छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार चार सय रुपैयाँ छ । 

एक वर्षदेखि निरन्तर मूल्य उकालो
अन्तर्राष्ट्रिय बजारमा गत वर्ष यही वेला इन्धनको मूल्य न्यूनतम बिन्दुमा थियो । गत वर्ष चैतमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल न्यूनतम बिन्दु २७ डलरसम्म झरेको थियो । खरिददर सस्तो भएकाले निगमले पनि त्यसवेला इन्धनको भाउ न्यूनतम बिन्दुमा रहने गरी १२ चैत, ०७६ मा पेट्रोल ९६ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ८५ रुपैयाँ प्रतिलिटर निर्धारण गरेको थियो । त्यसवेला इन्धनको माग निकै कम भएको र कच्चा तेलको भाउ पनि सामान्य दरमा वृद्धि भइरहेकाले निगमले यो मूल्य करिब अढाइ महिनासम्म कायम गरेको थियो ।

तर, कच्चा तेलको भाउ बढेर ४१.७१ डलर प्रतिब्यारेल पुगेपछि निगमले १६ असार ०७७ मा मूल्य समायोजन गर्दै पेट्रोलमा ५ र डिजेल तथा मट्टीतेलमा २–२ रुपैयाँ वृद्धि गरेको थियो । मूल्य वृद्धिपछि पेट्रोल १०१ र डिजेल तथा मट्टीतेल ८७ रुपैयाँ प्रतिलिटर पुगेको थियो । त्यसयता भने अन्तर्राष्ट्रिय बजार र नेपाली बजारमा इन्धनको मूल्य बढ्ने क्रम निरन्तर छ ।

पछिल्लो चार महिनायता मूल्य माथिल्लो बिन्दुमा पुगेर सामान्य दरमा वृद्धि भइरहेको छ । माथिल्लो बिन्दुमै मूल्य रहँदा ठूलो अन्तरले नेपालको खरिद दर बढ्ने, तर नेपाली बजारमा प्रत्येक १५ दिनमा प्रतिलिटर बढीमा २–२ रुपैयाँसम्म मात्र मूल्य बढाउन पाउने प्रावधानले अप्ठ्यारो परेको निगमको भनाइ छ । चार महिनाअघि २१ माघमा कच्चा तेलको भाउ प्रतिब्यारेल ५८.६ डलर थियो । त्यसको एक महिनापछि १९ फागुनमा आइपुग्दा कच्चा तेलको भाउ प्रतिब्यारेल ६४.०७ डलर पुगेको थियो । त्यसपछि डेढ महिनासम्म सोही मूल्य आसपास रहेको कच्चा तेल पुनः बढ्दै गएर २१ वैशाखमा ६८.८८ डलर कायम भएको छ ।

कच्चा तेलको मूल्य यसरी नै उच्च बिन्दुमा रहेर सामान्य दरले बढ्दै गए नेपाली बजारमा मूल्य थप आकासिने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल बताउँछन् । ‘हामीले किन्ने मूल्य नै बढेर आएपछि घाटा थेग्नै नसक्ने अवस्थामा पुग्छौँ र बाध्य भएर मूल्य वृद्धिको विकल्प रोज्नुपर्छ,’ उनले भने, ‘पछिल्लो समय हामीले चुहावट र चोरी नियन्त्रणमा सफलता हासिल गरिरहेका छौँ । तर, यी सुधारले पनि मूल्य वृद्धिलाई रोक्न भने सकिँदैन ।’

कच्चा तेलको बढ्दो मूल्य ग्राफले नेपाली उपभोक्तालाई चिन्तामा धकेल्दै गएको छ । पछिल्लो एक महिनामा मात्रै मूल्य ६.७३ डलर प्रतिब्यारेल बढेको छ । २३ चैतमा ६२.१५ डलर प्रतिब्यारेल रहेको कच्चा तेल २१ वैशाखमा ८७.८८ डलर पुगेको छ । यो मूल्य थप बढ्दै जाँदा नेपाली बजारमा पनि असर देखिनेछ ।

एक वर्षअघिको स्थितिसँग तुलना गर्ने हो भने कच्चा तेलको भाउ ४१.८८ डलर प्रतिब्यारेलले वृद्धि भइसकेको छ । अन्तर्राष्ट्रिय बजारमा यति ठूलो अन्तरले उछाल आए पनि नेपाली बजारमा पेट्रोल एक वर्षमा २५ रुपैयाँ प्रतिलिटरले बढेको छ । आयल निगमका कार्यकारी निर्देशक पौडेल घाटा सहेरै अन्तर्राष्ट्रिय बजारमा जस्तो नेपाली बजारमा मू्ल्य वृद्धि नगरिएको बताउँछन् । ‘संस्थाले थेग्नेसम्मको घाटा हामीले व्यहोर्दै आएका छौँ । त्यसैको परिणामले भारतभन्दा नेपाली बजारमा तेल सस्तो छ,’ उनले भने । 

पछिल्लो ६ वर्षमा आयल निगमले आर्जन गरेको नाफा
आर्थिक वर्ष    निगमको नाफा (रुपैयाँ)

आव ०७१–७२    १५ अर्ब ४ करोड
आव ०७२–७३    १९ अर्ब ३६ करोड
आव ०७३–७४    ९ अर्ब ४५ करोड
आव ०७४–७५    ३ अर्ब ५८ करोड
आव ०७५–७६    ८ अर्ब ७५ करोड
आव ०७६–७७    १२ अर्ब ८७ करोड
स्रोत : नेपाल आयल निगम लिमिटेड