मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २२ बुधबार १७:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना संक्रमितको उपचारमा जनशक्ति व्यवस्थापन गर्न यस्ता छन् गगन थापाका सुझाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २२ बुधबार १७:५४:००

कांग्रेस नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना संक्रमितको उपचार र व्यवस्थापनका लागि ध्यान दिन सरकारसँग आग्रह गरेका छन् । नेता थापाले कोरोनाको राष्ट्रिय विपत्का वेला अधिकांश अस्पतालमा भौतिक पूर्वाधार र उपकरण भए पनि जनशक्ति नभएका कारण सेवा प्रभावकारी हुन नसकेको भन्दै त्यसका लागि सुझाबसहित आग्रह गरेका हुन् । 

‘स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शय्या मात्रै होइन, जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष हो । धेरै अस्पतालमा उपकरण र पूर्वाधार भएर पनि जनशक्तिको अभावमा सेवा प्रवाह हुन सकेको छैन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो राष्ट्रिय विपत्मा जोखिम मोलेरै पनि काम गर्न स्वास्थ्यकर्मी तयार छन्, गरिरहेका छन् । त्यसका लागि तत्काल देहायबमोजिमको व्यवस्था गर्न म सरकारसँग विनम्र आग्रह गर्दछु ।’ 

उनले उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई थप सुविधा र सुरक्षा पाउने कुराको सुनिश्चितता गर्न सुझाब दिएका छन् ।

यस्ता छन् थापाका सुझाब :
१) अत्यन्त अप्ठ्यारोमा पनि दिनरात नभनी स्वास्थ्यकर्मीहरू २४सै घन्टा खटिरहेका छन् । अहिले अग्रभागमा लडिरहेका जनशक्तिलाई सुरक्षा र प्रोत्साहन सुविधा उपलब्ध गराउने कुरामा कुनै कन्जुस्याइँ नगरौँ । निजी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई पनि व्यवस्थापन र सरकारबाट थप सुविधा र सुरक्षा पाउने कुराको सुनिश्चितता गरौँ ।

२) थप जनशक्तिका सन्दर्भमा अहिले करार वा दैनिक ज्यालादारी काम गर्न आउनुहोस् भनेर मन्त्रालय र अन्तर्गतका निकायले सूचना निकालेर मात्र हुँदैन । सुरक्षा र प्रोत्साहनको प्याकेज बनाऔँ र आह्वान गरौँ । यसका लागि :–
क) हाल झन्डै पाँच हजार योग्य चिकित्सक पिजीको तयारी गरिरहेका छन् । परीक्षा कहिले हुन्छ भन्ने ठेगान नहुँदा उनीहरू अलमलमा छन् । परीक्षाको तालिका केही महिना पछि सारेर परीक्षाको तयारीका लागि पछि निश्चित समय दिने हो भने त्यो जनशक्तिलाई कोरोना महामारी रोकथाममा परिचालन गर्न सकिन्छ । यसरी जोखिममा काम गर्नेलाई पिजीमा कार्य अनुभवको थप अंक पाउने गरी नियममा विशेष व्यवस्था गरौँ । 
ख) एकातर्फ लामो समयदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी पुनरावलोकन हुन सकेको छैन । अर्कोतर्फ सरकारी सेवामा आकर्षण घट्दै गएको छ । यस अवस्थामा सरकारी दरबन्दीको पुनरावलोकन गर्ने, सेवा–सुविधा र प्रोत्साहनको प्याकेज बनाउने साथै सरकारी सेवामा प्रवेश गर्न चाहने चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा अहिले महामारी र जोखिममा काम गरेमा विशेष ग्राह्यता दिने संयन्त्र र कानुनी व्यवस्था गरौँ । 
ग) हाम्रो स्वास्थ्य प्रणालीमा लामो समय काम गरेर निवृत्त भई बसेका, अध्ययन सकेर रोजगारीको पर्खाइमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको योग्यता र अनुभवलाई संकटमा परिचालन गर्न प्याकेज बनाऔँ । त्यस्ता जनशक्तिलाई राष्ट्रिय पुलमा समावेश गरी अभाव भएको स्थानमा सही तरिकाले परिचालन गरौँ ।