मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ९ बुधबार
  • Wednesday, 23 June, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २२ बुधबार ०९:०७:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

हिमाल आरोहणमा भिड व्यवस्थापन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २२ बुधबार ०९:०७:००

कोरोना संक्रमणको असरले सगरमाथा आरोहीलाई पच्छ्याएको छ । गत वर्ष सबै आरोहण गतिविधि रद्द गरिएको भए पनि यसपटक सगरमाथा आरोहणका लागि ४०८ जना विभिन्न देशका आरोहीले अनुमति पाएका छन् । यी आरोही र तिनका सहयोगीसमेत गरी चार हजारभन्दा बढी व्यक्ति सगरमाथा आधार शिविरमा पुगेका छन् । मे १२ बाट आरोहण प्रारम्भ हुने तयारी गरिएको समयमा आरोहीलाई कोरोना संक्रमणको भयले लखेट्न थालेको छ । उचाइमा लेक लाग्ने समस्यामा परेका केही आरोहीलाई काठमाडौं उपचार गर्न ल्याउँदा कोरोना देखिएपछि कोरोनाले लुक्लादेखि नाम्चे हुँदै आधार शिविरसम्मको यात्रा गरिसकेको हो कि भन्ने आशंकालाई बल पुर्‍याएको छ । डेली मेल र दी गार्जियनजस्ता बेलायतका धेरै पढिने पत्रिकाले सगरमाथा आधार शिविरमा भइरहेको संक्रमण र त्यसका कारण आरोहण त्याग्न बाध्य भएकाको विवरणसहित समाचार प्रकाशित गरेका छन् । 

आरोहणको समग्र व्यवस्थापनलाई अनुशासित र सुरक्षित राख्नु सरकार, स्थानीय जनता र पर्यटन उद्योगसँग जोडिएका सबैको जिम्मेवारी हो
 

नेपालमा पनि यस विषयमा समाचारहरू आएका छन् । सगरमाथा आधार शिविरमा जानुअघि परीक्षण र क्वारेन्टिनका माध्यमबाट संक्रमण नभएको पुष्टि भएकालाई मात्र जान दिनुपर्ने र उनीहरूले प्रयोग गर्ने सामानसमेत निर्मलीकरण गरिएको हुनुपर्नेमा त्यसतर्फ आरोहण व्यवस्थापकहरू र पर्यटन मन्त्रालयसहित सम्बद्ध अधिकारीको ध्यान नपुगेको देखिन्छ । यसले यसपटकको आरोहणमा संलग्न धेरै स्वदेशी तथा विदेशीले आरोहण त्याग्नुपर्ने या सहयोगीका रूपमा जानेहरूको जीवनसमेत असुरक्षित हुन सक्ने देखाउँछ । सगरमाथालगायतका हिमाच्छादित पर्वतहरूको आरोहण विश्वभरका साहसी खेल प्रेमीहरूको आकर्र्षणको विषय रहिआएको छ । झन्डै एक सय वर्ष पहिलेदेखि थालिएका प्रयासका बाबजुद ६८ वर्ष पहिले मात्र सगरमाथा आरोहणले सफलता पाएको थियो । 

त्यसअघि अन्नपूर्णको आरोहण प्रयास पनि भएको थियो । त्यसयताका वर्षहरू नेपाललाई विश्वसँग एकाकार राख्ने एउटा महत्वपूर्ण क्षेत्र पर्वतारोहण पनि रहिआएको छ । पहिले अरूको काम मानिने यो क्षेत्र अहिले नेपालीका लागि पनि चुनौती र आकर्षणको क्षेत्र बन्दै गएको छ । हरेक वर्ष नयाँ–नयाँ कीर्तिमान कायम हुँदै छन् । यस्ता धेरै कीर्तिमान नेपालीको पोल्टामा पर्न थालेका छन् । साहसिक पर्यटनको सबैभन्दा चर्चित मानिने उच्च शिखर आरोहण नेपालीका लागि विदेशी मुद्रा आर्जन र रोजगारीको क्षेत्र मात्र होइन, एउटा प्रतिष्ठा र पहिचानको विषय पनि हो । आरोहणको समग्र व्यवस्थापनलाई अनुशासित र सुरक्षित राख्नु सरकार, स्थानीय जनता र पर्यटन उद्योगसँग जोडिएका सबैको जिम्मेवारी हो । 

६ वर्ष पहिले भूकम्पले आरोहण रोकेको थियो । गत साल कोरोनाले रोक्यो । यस वर्ष कोरोनाका जोखिमका बाबजुद जति संख्यामा आरोहीहरू सगरमाथा आरोहणका लागि पुगेका थिए उनीहरूलाई जोखिमरहित ढंगले चुचुरोसम्म पुगेर फर्कने वातावरण मिलाउने काम नेपाल सरकारको थियो । कोरोना संक्रमण दर सक्रिय रहेकै समयमा गत नोभेम्बरमा पनि सुरक्षित आरोहणका केही शृंखला चलेका थिए । यसपालि भने आरोहणको मिति नजिकिँदै गर्दा आधार शिविमै कोरोना देखिन थाल्नुले आरोहणलाई जोखिमतर्फ धकेलिदिएको छ । शिविरसम्मै पुगेर स्वास्थ्य परीक्षण गर्दै सुरक्षाका आवश्यक उपाय अपनाउनेतिर सरकार र आरोहण व्यवसायीको ध्यान जाओस् ।