मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७८ बैशाख २२ बुधबार ०६:१३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, चार घाइते

Read Time : > 1 मिनेट
२०७८ बैशाख २२ बुधबार ०६:१३:००

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका– ६ का वडासदस्यको शव लिएर फर्किएका आफन्त र गाउँले चढेको जिप भिरमा खस्यो

बैतडीको पञ्चेश्वर गाउँपालिका– ६ को गणमेश्रमा मंगलबार दिउँसो से.१ज १८३ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । चार घाइते भएका छन् । मृत्यु भएकामध्ये पाँचजना एउटै टोलका हुन् । जिपमा अघिल्लो दिन परेको चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर– ६ का वडासदस्य गोविन्दसिंह भण्डारीको शव लिएर फर्किएका आफन्त र गाउँले थिए । 

मृत्यु हुनेमा पञ्चेश्वर– ६ का जितसिंह भण्डारी, डम्बर भण्डारी, दीपक भण्डारी, हिक्मत भण्डारी र खेमसिंह भण्डारी छन् । खेमसिंह चट्याङ लागेर मृत्यु भएका वडासदस्यका दाइ हुन् । यस्तै, दशरथचन्द नगरपालिका– २ घर भएका जिपचालक तेजबहादुर बोहराको पनि ज्यान गएको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये हरिसिंह भण्डारी, मदनसिंह भण्डारी र दिलीपसिंह भण्डारीलाई थप उपचारका लागि धनगढी पठाइएको छ । अर्का घाइते मोहनसिंह भण्डारीको भने जिल्ला अस्पताल बैतडीमै उपचार भइरहेको छ । 

गाउँ पुग्नुअघिको उकालोमा मोड्न अप्ठ्यारो भएपछि ब्याक गर्ने क्रममा जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द, वडानम्बर ६ का अध्यक्ष उत्तम पुजारा, प्रहरी निरीक्षक दर्शन खड्कालगायत दुर्घटनाको प्रत्यक्षदर्शी थिए । उनीहरू पनि वडासदस्यको अन्त्येष्टिमा सहभागी हुन रोडीटोलतर्फ जाँदै थिए । 

‘वडासदस्यको शव बोकेको जिप हामीभन्दा करिब १०–२० मिटर अगाडि मात्र थियो । उकालोमा मोड नपुगेपछि चालकले ब्याक गरे । सायद ब्याक गर्ने क्रममा चालकले ब्रेक लगाउन सकेनन् । जिप पछाडितिर हुत्तिँदै सडकबाट भिरमा खस्यो,’ गाउँपालिका अध्यक्ष चन्दले भने, ‘आँखैअगाडि अकल्पनीय दुर्घटना भयो ।’ 

दुर्घटनाका प्रत्यक्षदर्शी रहेका प्रहरी निरीक्षक दर्शन खड्काले चारजनाको घटनास्थलमै र दुईजनाको उपचारका लागि जिल्ला अस्पताल बैतडी लैजाँदै गर्दा ज्यान गएको बताए । ‘हामी पनि नजिकै अर्को गाडीमा थियौँ । दुर्घटनालगत्तै तत्काल उद्धारमा जुट्यौँ । तर, चारजनाको घटनास्थलमै मृत्यु भइसकेको थियो । अस्पताल लैजाने क्रममा थप दुई घाइतेको ज्यान गयो,’ उनले भने ।  

वडाध्यक्ष पुजाराले वडासदस्यको शव लिएर हिँडेको जिप २० मिनेटजतिमै दुर्घटनाग्रस्त भएको बताए । ‘अघिल्लो दिनको भारी वर्षाले सडक हिलाम्मे भएको थियो । हामी करिब २० मिटरजतिको दूरीमा थियाँै । मोडमा गाडी ब्याक गरेको देखियो । हेर्दाहेर्दै सडकबाट तल भिरमा खस्यो,’ उनले भने । 

दुर्घटनापछि पूरै गाउँ शोकमा डुबेको छ । भण्डारी परिवारले दुई दिनमा दुई सदस्य गुमाएको छ भने रोडीटोलले वडासदस्यसहित ६ जनाको क्षति व्यहोरेको छ । ‘हिजो मात्रै वडासदस्य गुमायौँ, भोलिपल्टै उहाँका दाजु गुमाउनुप¥यो । आलो घाउमा नुन छर्किएजस्तो भएको छ,’ रोडीगाउँ नै घर भएका वडाध्यक्ष पुजाराले भने ।