मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख २१ मंगलबार १३:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अधिकारविहीन खुला जेलबाट मुक्त गराइदिएको भन्दै अमिक शेरचनले दिए राष्ट्रपतिलाई धन्यवाद 

Read Time : > 1 मिनेट
२०७८ बैशाख २१ मंगलबार १३:०२:००

सोमबार पदमुक्त भएका गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफूलाई पदमुक्त गरिदिएकोमा राष्ट्रपतिलाई धन्यवाद दिएका छन् । मंगलबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी शेरचनले आफूलाई हटाइएको कुरा आफूले मिडियामार्फत थाहा पाएको भन्दै उनले भने, ‘पदमुक्त भएकोमा अत्यन्तै खुसी छु, मुरीमुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई, अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा पनि धन्यवाद ।’ पदमुक्त भएसँगै अब आफू खुला राजनीतिमा सक्रिय रहन पाएको भनाइसमेत उनको थियो । 

तर, उनले एकपटक पनि नसोधी हटाइएको भन्दै गुनासो गरेका छन् । उनले भने, ‘मैले के गल्ती गरेको थिएँ र एकपटक पनि नसोधी हटाइयो, भनेको भए राजीनामा दिन्थेँ ।’  आफूलाई के कारणले हटाइयो भन्नेमा केही जानकारीसमेत नपाएको गुनासो उनको थियो ।            

प्रदेश प्रमुख भएदेखि आफूले संवैधानिक मर्यादालाई पूर्णपालना गरेको, कुनै पनि पार्टीविशेषको प्रभाव र छायामा काम नगरेको, सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियमअनुसार निर्णय गरेको र माननीय सांसदहरूबाट जे–जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियमबमोजिम सम्पादन मात्र गरेको भनाइ उनको थियो । आफ्नो काम कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन उनले अनुरोधसमेत गरे ।                                                     

७८ वर्षीय शेरचनले आफूले पदका लागि राजनीति नगरेको भन्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिका लागि आएको प्रस्ताव अस्वीकार गरेको, ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदासमेत आफूले ठाडै इन्कार गरेको भनाइ उनको थियो । 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क. यज्ञदेव आले, क. निर्मल आले र क. मोहनविक्रम सिंहजस्ता शीर्षस्थ नेताहरूको निकटमा रहेर सक्रिय राजनीतिक संघर्षमा आफूले आफ्नो जीवन समर्पित गरेकाले आफूले कहिले पनि पदका लागि कुनै प्रकारको बार्गेनिङ नगरेको दाबीसमेत उनले गरे ।

मनमोहन अधिकारीको निधनपछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि स्वीकार नगरेको भन्दै पद र सत्ताका लागि असंवैधानिक पद्धति र अपाच्य दृश्यहरू थोपार्ने पद जोगाउने व्यक्ति आफू नरहेको भनाइसमेत उनको थियो । पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्तिसमेत आफू नरहेको भन्दै शेरचनले आफू मार्क्सवाद, लेनिनवाद र माओ विचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरिक, श्रमजीवी, सर्वहाराजीवीको इमानदार साथी र वर्गसंघर्षमा जीवन समर्पित गर्ने योद्वा कार्यकर्ता रहेको भनाइ उनको थियो । 

नियुक्ति हुनुअघि ओलीजी र पुनः प्रचण्डजीमार्फत ओलीजीको प्रस्ताव आफूले अस्वीकार गरेको स्मरण गर्दै पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई पद स्विकारेको धारणा उनको थियो । १८ महिना दुई दिन पदमा रहेका शेरचन १९ कात्तिक ०७६ मा प्रदेश प्रमुख नियुक्त भएका थिए । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेलगत्तै  आफूले  राजीनामा दिने मनसाय बनाएको र  प्रचण्डसँग छलफल गर्दा हाल राजीनामा दिँदा नराम्रो सन्देश जाने भएकाले नदिन आग्रहपछि पछिहटेको भनाइ  शेरचनको थियो ।

प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका कारण तपाईंलाई हटाइएको हो भन्ने पत्रकारहरूको जिज्ञासामा उनले आफूलाई त्यस्तो केही नलागेको भनाइ व्यक्त गरे । तैपनि उनलाई सोही विषयमा जोडेर हटाइएको आरोप प्रतिपक्षहरूको रहेको छ । अविश्वासको प्रस्ताव दर्तापछि आफूले विशेष अधिवेशन आह्वान गरेको र त्यसपछि प्रदेश सभा बैठक स्थगित भएपछि सर्वदलीय बैठक बोलाएर समस्या हल गर्ने गरी छलफल गर्ने योजना बनाए पनि गर्न नपाएको भनाइ उनको थियो ।