मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख २१ मंगलबार ०६:२१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोरोना महामारीले अलैँचीको निर्यात शून्य

Read Time : > 2 मिनेट
२०७८ बैशाख २१ मंगलबार ०६:२१:००

भारतमा कोरोना महामारी तीव्र रूपमा फैलिएसँगै अलैँची निर्यात रोकिएको छ । माग हुने समयमा महामारी फैलिएर भारतका विभिन्न राज्यमा लकडाउन हुँदा अलैँची निर्यातमा कमी आएको हो ।  

विदेशी बजारमा निर्यात हुनेमध्ये ठूलो हिस्सा ओगट्ने अलैँचीको निकासी १५ दिनयता ठप्पझैँ भएको नेपाल अलैँची व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष राजकुमार कार्कीका अनुसार यसवेला सबैभन्दा धेरै अलैँची निर्यात हुने समय हो । तर, भारतमा संक्रमण तीव्र रूपमा फैलँदा निर्यात नै रोकिएको उनको भनाइ छ । । 

‘भारतमा जानका लागि त कुनै समस्या होइन । तर, निर्यात नै रोकिएको छ । यतिवेलाचाहिँ अलैँची बिक्ने वेला थियो,’ उनले भने, ‘यतिवेला अगाडि हामीले निर्यात गरेको अलैँची पनि सकिएको छ । माग आउन थालेको थियो । मुस्लिम समुदायको इद पनि सुरु हुने वेला भएको थियो । यो सिजन अलैँचीको धेरै माग हुने समय हो ।’ भारतकै माध्यमबाट विगतमा तेस्रो मुलुक निर्यात हुँदा पनि अलैँचीको माग उच्च थियो । तर, महामारी बढेसँगै भारतमा समेत निर्यात हुन छाडेको उनले बताए । 

भारतको दिल्लीमा सबैभन्दा धेरै अलैँची जाने गरेको उनले बताए । तर, यो समयमा महामारीका कारण भारतका अधिकांश राज्यमा लकडाउन छ । जसका कारण १५ दिनयता निर्यात शून्य भएको छ । महासंघका अनुसार गत चैतसम्म ५ अर्बभन्दा बढीको अलैँची निर्यात भइसकेको छ । अझै अढाई अर्बबराबरको अलैँची निर्यात हुन बाँकी रहेको महासंघ अध्यक्ष कार्कीको भनाइ छ । बाँकी रहेकोमध्ये आधा अलैँची बिर्तामोडमा रहेको अलैँची व्यवसायी महासंघका पूर्वअध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । 

नेपालका ४३ जिल्लामा विस्तार भएको अलैँचीखेती सबैभन्दा बढी ताप्लेजुङमा फल्छ । गुणस्तरको हिसाबले संखुवासभा पहिलो रहेको महासंघले जनाएको छ ।अलैँचीको कारोबार हुने हिसाबले झापाको बिर्तामोड नेपालकै प्रमुख व्यापारिक केन्द्र हो । अलैँची मुख्यतः मेची भन्सार कार्यालय काँकडभिट्टा हुँदै निर्यात हुने गरेको छ । कोरोना संक्रमण फैलिएपछि भारतबाट माग नआउँदा अलैँची गोदाममा थन्किएको छ । महामारीका कारण व्यवसायी र अलैँची कृषकले त्यसको मार खेप्नुपरेको अध्यक्ष कार्कीले बताए । ‘गत वर्ष लामो समय निर्यात नै हुन पाएन । त्यसको घाटा बल्ल पूर्ति हुँदै थियो,’ उनी भन्छन्, ‘अब त लयमा आउँछ होला भन्ने लागेको थियो,  फेरि महामारी सुरु भयो ।’ 

वर्षमा दुईपटक अलैँची भारतमा धेरै निर्यात हुने गरेको अध्यक्ष कार्की बताउँछन् । ‘असोज–कात्तिकमा नेपालमा जस्तै भारतमा पनि चाडपर्व भइरहछन् । यस समयमा माग धेरै हुन्छ । अलैँची त १२ महिनै भए पनि दुई लटचाहिँ धेरै बिक्री हुन्छ,’ उनले भने, ‘दोस्रो लट चैतदेखि सुरु हुन्छ । यो समयमा पनि धेरै नै माग हुन्छ । यसपटक सबै बेच्न पाएको भए पोहोरको जस्तो स्टक रहँदैनथ्यो । र, असोजदेखि त नयाँ उत्पादन सुरु हुन्थ्यो । अब त यसै भन्न सकिने अवस्था पनि रहेन ।’

विगतमा कारोबार गर्दैै आएका भारतीय व्यवसायीसमेत महामारीका कारण आउन छाडेको उनले बताए । बिक्री भएका अलैँची पनि ‘होल्ड’ गराएको महासंघका पूर्वअध्यक्ष भट्टराईको भनाइ छ । ‘खरिद भएको अलैँची पनि खरिदकर्ताले तत्काल नपठाउनु, अलिक सहज भएपछि पठाउनु भन्ने गर्नुभएको छ,’ उनले भने, ‘पछिल्लो चरण माल जान पाएको छैन । अब नेपालभरिमा करिब २ हजार मेट्रिकटन अलैँची बाँकी हुनुपर्छ । परिस्थिति सामान्य नभएसम्म निर्यात र मूल्यमा समस्या रहन्छ ।’

मेची भन्सारको निर्यातमा ५४ प्रतिशत अलैँची

अलैँची निर्यातका लागि मुख्य नाका पूर्वीनाका काँकडभिट्टा नै हो । ठूलो परिमाणमा यही नाका भएर अलैँची भारततर्फ निर्यात हुने गरेको छ । मेची भन्सार कार्यालयबाट निर्यात हुने सामग्रीको ५४ प्रतिशत यही अलैँचीले धानेको छ । 

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुव विश्वकर्माका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म अर्थात् नौ महिनामा ६९ लाख २५ हजार किलो अलैँची भारत निकासी भएको छ । जसको मूल्य ५ अर्ब ५७ करोड ९२ लाखबराबर रहेको उनले बताए । जुन चालू आर्थिक वर्षमा निर्यात भएको सामग्रीमध्ये ५४ प्रतिशत हुन आउँछ । गत वर्ष यही अवधिमा ४१ लाख ५१ हजार किलो अलैँची निर्यात भएको भन्सार प्रमुख विश्वकर्माले बताए । जसको मूल्य ३ अर्ब ३३ करोड ७० लाख रुपैयाँ भएको उनको भनाइ छ । मेची भन्सारबाट चालू आर्थिक वर्षको ९ महिनामा १० अर्ब २९ करोड ४६ लाखको सामग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।