मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ बैशाख १८ शनिबार १५:३३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पश्चिम नवलपरासीमा २४ घन्टामा पाँच संक्रमितको निधन, सक्रिय संक्रमित तीन सय ५० पुगे

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ बैशाख १८ शनिबार १५:३३:००

पश्चिम नवलपरासीमा २४ घन्टाभित्र पाँचजना कोरोना संक्रमितको निधन भएको छ । शुक्रबार बिहानदेखि शनिबार बिहानसम्ममा पाँचजनाको निधन भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

मृत्यु हुनेमा रामग्राम नगरपालिका र सुनवल नगरपालिकाका दुई–दुईजना र सरावल गाउँपालिकाका एकजना रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिए । उनीहरूमध्ये सुनवल नगरपालिका–६ का ८४ वर्षीय पुरुषको शुक्रबार होम आइसोलेसनमा र सोही नगरपालिका–७ का ८५ वर्षीय पुरुषको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी, रामग्राम नगरपालिकाका–६ का ४२ वर्षीय पुरुषको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । शनिबार बिहान मात्र दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१० की ४५ वर्षीया महिला हुन् । उनको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो ।

त्यस्तै, पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा उपचारका क्रममा शनिबार सरावल गाउँपालिका–२ का ४५ वर्षीय युवकको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले जानकारी दिए ।  

वैशाखको पहिलो सातादेखि शनिबारसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । संक्रिय संक्रमितको संख्या तीन सय ५० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी रामग्राम नगरपालिकामा मात्र सातजना छन् । हालसम्म जिल्लामा पहिलो र दोस्रो चरणको लहरमा गरी मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।