१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँदिल्ली
२०७८ बैशाख १८ शनिबार ०७:५७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप युएईमा सर्न सक्ने

Read Time : > 1 मिनेट
नयाँदिल्ली
२०७८ बैशाख १८ शनिबार ०७:५७:००

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को तालिका अनुसार यही १८ अक्टोबर देखि १६ नोभेम्बरसम्म भारतमा आइसिसी टी–२० पुरुष क्रिकेट प्रतियोगिता हुनुपर्छ । भारतमा कोरोना भाइरस (कोभिड– १९) को दोस्रो लहर महामारीका रूपमा फैलिएपछि यो प्रतियोगिता युएईमा हुने सम्भावना बढेको छ । पछिल्लो केही दिनयता भारतमा तीन लाखभन्दामाथि नयाँ संक्रमित थप भइरहेका छन् । २९ अप्रिलमा मात्र भारतमा एकै दिन तीन लाख ८६ हजार आठ सय ८८ जना संक्रमित भएका छन् । 

भारतमा अहिलेसम्म एक करोड ८८ लाख ८१ हजार पाँच सय ८७ जना संक्रमित भएका छन् । दुई लाख आठ हजार नौ सय ५२ संक्रमितको निधन भएको छ । कोरोना भाइरसले भारतलाई अति नै प्रभावित बनाएका कारण नै आइसिसी टी–२० पुरुष क्रिकेट प्रतियोयिगता युएईमा हुने सम्भावना बढेको हो । आयोजक भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले पनि आफ्नो प्लान बीअनुसारै विश्वकप युएईमा गराउने पक्षमा देखिन्छ । 

भारतमा कोभिड– १९ को दोस्रो लहर महामारीका रूपमा फैलिएपछि आइसिसी टी–२० पुरुष विश्वकप प्रतियोगिता युएईमा हुने सम्भावना बढेको छ, आयोजक भारतीय क्रिकेट बोर्ड पनि प्लान बीअनुसार युएईमै प्रतियोगिता गराउने पक्षमा देखिन्छ

बिसिसिआईका जनरल म्यानेजर धीरज मलहोत्राले प्लान बीअनुसार युएईमा टी–२० विश्वकप आयोजना हुन सक्ने जनाएका छन् । यद्यपि युएईमा प्रतियोगिता आयोजना भए पनि त्यसको सबै आयोजना अधिकार बिसिसिआईसँगै रहने उनले स्पष्ट पारेका छन् । ‘अहिलेसम्म बिसिसिआईले ठोष निर्णय लिएको छैन, यदि टी–२० प्रतियोगिता युएईमा भए, यसको सबै अधिकार हामीमै निहित हुनेछ,’ मलहोत्राले भने, ‘बिसिसिआईले आयोजनाको अधिकार गुमाउने पक्षमा छैन ।’ 

एकातिर प्रतियोगितास्थल सार्न सक्ने बताए पनि बिसिसिआईका जनरल म्यानेजर मलहोत्राले समय बाँकी रहेकाले भारतको अवस्था सुधार हुन सक्ने जनाएका छन् । ‘अहिले नै यस्तै भन्ने सक्ने अवस्था छैन, तर प्रतियोगिता अक्टोबरमा हुने हो, त्यसवेलासम्म भारतको अवस्था सुधार आउने विश्वास लिएको छु, भारतमा कोभिड– १९ को अवस्था सुधार आउँदा प्रतियोगिता यहाँ नै हुनेछ,’ उनले भने, ‘बिसिसिआई टी–२० पुरुष विश्वकप भारतमै गर्ने कोसिसमा लागेको छ ।’ 

बिसिसिआईले भारतको वर्तमान अवस्था आइसिसीलाई जानकारी गराएको उनले बताएका छन् । ‘हामीले आइसिसीलाई वर्तमान अवस्थाबारे जानकारी गराएका छौँ, आइसिसी र बिसिसिआईबीचको अन्तिम छलफल हुन बाँकी नै छ,’ मलहोत्राले भने । भारतले टी–२० विश्वकपका लागि नौ सहरमा आयोजना गर्ने प्रस्ताव राखेको छ । मुम्बई, नयाँदिल्ली, चेन्नई, कोलकाता, बेंग्लोर, हैदरावाद, धर्मशाला, अहमदावाद तथा लखनउमा विश्वकप गर्ने बिसिसिआईले योजना बनाएको छ । 

भारतले गरेको प्रस्तावित सहर नै अहिले सबैभन्दा कोभिड– १९ ले प्रभावित क्षेत्रमा पर्छन् । भारतमा प्रतियोगिता आयोजना भए खण्ड नौबाट चार वा पाँच सहरमा मात्र हुने आइसिसीले जनाएको छ । ‘भारतमा टी–२० विश्वकप भए, हामी नौबाट चार वा पाँच सहरमा आयोजना गराउने पक्षमा छौँ,’ आइसिसीले भनेको छ, ‘तत्कालै केही निर्णय भइसकेको छैन ।’ प्रतियोगिता आउन ६ महिना बाँकी रहेकाले पनि आइसिसीले अहिले नै भारतमा गराउने वा युएईमा सार्ने सम्बन्धमा निर्णय नगरेको आइसिसीका एक पदाधिकारीले बताएका छन् ।

‘हुन त अन्तिम निर्णय आइसिसीले नै गर्ने हो, तर प्रतियोगिता आउन अझै ६ महिना बाँकी छ, यसबीचमा अवस्था राम्रो भए अर्को निर्णय हुनेछ,’ उनले भने, ‘हामीलाई अझै पनि विश्वास छ, प्रतियोगिता भारतमै हुनेछ ।’ आउने जुनमा आइसिसीको बोर्ड मिटिङ बस्नेछ । यसै बैठकले प्रतियोगिताको स्थलसमेत निर्णय हुनेछ । प्रतियोगितामा १६ देशले भाग लिनेछन् । प्रतियोगिता सुरु हुने एक महिनाअघि नै सबै सहभागी देशले खेलाडीको नाम घोषणा गर्नेछन् । यदि युएईमै प्रतियोगिता भए, यहाँका चार मैदानमा प्रतियोगिता हुनेछ । गत वर्ष इन्डियन प्रिमियर लिग (आइपिएल) पनि युएईमै भएको थियो ।