१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख १७ शुक्रबार १८:२२:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी केवल ‘ग्रान्ट’ हो, नेपालको हितमा छ : देउवा

Read Time : > 3 मिनेट
२०७८ बैशाख १७ शुक्रबार १८:२२:००

कांग्रेस सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा गलत प्रचार भएको बताएका छन् । आफ्नै निवासमा शुक्रबार पत्रकार सम्मेलन गर्दै देउवाले संसदबाट पास गराउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सघाउने भनेको सुनाउँदै एमसिसी नेपालकै हितमा भएको दाबी गरे ।

‘एमसिसी मैले मात्रै भनेको होइन, यो सुशील कोइराला र बाबुराम भट्टराईकै पालादेखि आएको हो,’ देउवाले अघि भने, ‘यो केवल ग्रान्ट हो । सित्तै दिएको हो । यसमा ब्याज तिर्नुपर्दैन, यो ऋण होइन । तर, नराम्रो हल्ला फैलाइएको छ । अमेरिकी सेना आउँछ भनिएको छ । मैले सेना ल्याउन दिन्छु होला ? झुटा प्रचार गरेर हुन्छ ?’ 

देउवाले पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सधैँ आफूलाई आरोप मात्रै लगाउदै आएको गुनासो गरे । तर, कांग्रेसमा बोल्ने छुट भएको उनले बताए । तपाईंले नयाँ सरकार बनाउने कुरादेखि पार्टीको महाधिवेशनको तयारीमा पनि लिंगरिङ गर्नुभयो भन्ने उहाँको आरोप छ नि ? भन्ने प्रश्नको जवाफमा देउवाले भने, ‘उहाँलाई कति भन्ने ? मलाई पार्टी सभापति भएदेखि नै यस्तै आरोप लगाउँदै आउनुभएको हो । तर, कांग्रेसमा त्यो छुट छ, बोल्न पाइन्छ । म ओलीजस्तो बोल्दैमा कारबाही गरेर निकाल्दिनँ ।’ 

देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन तोकिएकै मितिमा गर्नुको अर्को विकल्प नभएको बताए । ‘महाधिवेशन भदौमै गर्नुको अर्को विकल्प केही छैन । नेपालको संविधानअनुसार कुनै हालतमा पनि पार्टीको महाधिवेशन हुनैपर्छ । विकल्प खोज्न नेपालको संविधान संशोधन गर्नुपर्छ । त्यसका लागि संसदमा दुईतिहाइ चाहिन्छ,’  उनले भने, ‘कांग्रेससँग त्यो छैन, त्यसैले विकल्प छैन ।’

देउवाले महाधिवेशनको तयारीका विषयमा छलफल गर्न गत बुधबार र सोमबारका बैठक स्थगित भएका विषयमा समेत आफूलाई आरोप लगाइएको भन्दै गुनासो गरे । उनले पार्टीका महामन्त्री डा. शशांक कोइरालाको सल्लाह मानेर आफूले स्थगित गरेको सुनाए । ‘महामन्त्री पनि डाक्टर हुनुहुन्छ, उहाँले नै बैठक रोकौँ भनेपछि रोकेको हुँ, उहाँ आफैँलाई पनि कोभिड भएको हो,’ देउवाले अघि बोल्दै प्रश्न गरे, ‘एउटा डाक्टर मान्छे पार्टीको महामन्त्री छ, मैले उसको सल्लाह नमानेर हुन्छ ?’ पत्रकार सम्मेलनमा देउवाले प्रेस नोट जारी गर्दै कोभिड– १९ को नयाँ भेरियन्टसहितको दोस्राे चरणको संक्रमणका विषयमा सरकारसमक्ष पार्टीका प्रतिबद्धतासहितका मागहरू राखेका छन् । 

यस्तो छ देउवाको प्रेस नोट 
देश कोभिड– १९ महामारीको दोस्रो चरणमा छ । अत्यन्त कम संख्यामा पिसिआर परीक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको संख्या धेरै बढी भएको सहजै निष्कर्ष निकाल्न सकिन्छ । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ ।

संक्रमितहरूको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ । बढ्दो संक्रमणसँगै आइसियू बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ । यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मन्यता जिम्मेवार छ । यो सरकार न विगतका गल्तीहरूबाट सिक्छ न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाहरूले दिएको सल्लाह र सुझाबलाई आत्मसात् गर्छ ।

अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडकभडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ । 

सरकारले काठमाडौं उपत्यकालगायतका ठाउँहरूमा १५ दिने लकडाउन लगाउने निर्णय गरेपछि कोभिड–१९ परीक्षण नगरी उपत्यका छोड्ने समय दिएर लाखौँ मानिस लकडाउन नभएका कम संक्रमित जिल्लामा पुगेका छन् । सरकारको यस्तो निर्णयले संक्रमण कम भएका ठाउँहरूमा समेत व्यापक संक्रमण बढ्ने खतरा बढेको छ । 

कोभिड– १९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाई लकडाउनको समयलाई पूर्ण रूपमा सदुपयोग गरी तत्काल निम्न काम गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ । 

(१)    कोभिड– १९ संक्रमितहरूको उपचारका लागि अत्यावश्यक अक्सिजन र भेन्टिलेटरको यथेष्ट आपूर्ति तत्काल सुनिश्चित गरियोस् । 
(२)    कोभिड– १९ संक्रमितहरूलाई आवश्यक अस्पताल बेड, आइसियू बेडलगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्रीको तत्काल समुचित व्यवस्था गरियोस् । 
(३)    देशका सम्पूर्ण जिल्लाहरूमा कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरूको पिसिआर परीक्षणलाई व्यापक गरियोस् । 
(४)    सिमा नाकाहरुमा अनिवार्य पिसिआर परिक्षण र परीक्षणको नतिजा नआउन्जेल होल्डिङ केन्द्रहरूमा राख्ने व्यवस्था गरियोस् । परीक्षणमा संक्रमित देखिएकाहरूलाई स्थानीय निकायहरूको समन्वयमा आइसोलेसन केन्द्रहरूको व्यवस्था गरी राखियोस् । 
(५) स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीहरूलाई बिमा र जोखिम भत्ता तत्काल कार्यान्वयन गरियोस् । बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालहरूमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गरियोस् । 
(६) पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्यसचिव रिक्त राख्ने सरकारको गैरजिम्मेवारीपूर्ण रवैयाको भर्त्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्यसचिवको व्यवस्था सुनिश्चित गर्न फेरि माग गर्दछौँ । 
(७) खोप आपूर्तिलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कूटनीतिक पहल गरियोस् । 
(८) लकडाउनका समयमा पनि किसानका कृषि उपज तथा अन्य उपभोग्य वस्तुहरूको आपूर्ति र आवतजावतलाई सहज गरियोस् । 
(९) विदेशमा जानेहरूलाई आवश्यक पिसिआर परीक्षण गर्ने अस्पतालहरूको संख्या बढाइयोस् । 
(१०) लकडाउनका कारण आर्थिक–सामाजिक मारमा परेका आमनागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याइयोस् । 
(११)    मास्क अनिवार्य लगाउने, साबुनपानीले हात धुने, भौतिक दूरी कायम गर्नेलगायतका स्वास्थ्य सुरक्षा मापदण्डहरूलाई कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र मजबुत गरियोस् । 

नेपाली कांग्रेसको प्रतिबद्धता

सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई कोभिड– १९ को संक्रमणबाट आफू पनि जोगिन र अरूलाई पनि जोगाउन कोभिड– १९ स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न नेपाली कांग्रेस हार्दिक अनुरोध गर्दछ । नेपाली कांग्रेस कोभिड– १९ संक्रमणलाई रोकथाम गर्न, संक्रमितहरूलाई उपचार पहुँचमा सघाउन तथा राहत कार्य गर्न निम्नलिखित काम गर्ने प्रतिबद्धता जाहेर गर्दछ । 

(१) अनिवार्य मास्क लगाउने, साबुनपानीले हात धुने, भौतिक दूरी कायम गर्नेलगायतका स्वास्थ्य मापदण्ड पालना गर्न नेपाली कांग्रेसका केन्द्रदेखि स्थानीय तहसम्मका सबै संरचनाहरूलाई देशभरि सचेतना अभियान सञ्चालन गर्न क्रियाशील गराइनेछ । 
(२) कोभिड– १९ बाट संक्रमित भई उपचारको पहुँचमा पुग्न समस्यामा परेकाहरूलाई हरसम्भव सहयोग गर्न पनि पार्टी संरचनाहरूलाई सक्रिय गराइनेछ । 
(३) लकडाउनका कारण आर्थिक–सामाजिक समस्या परेकाहरूलाई गत समयमा जस्तै सहयोग अभियान चलाउन नेपाली कांग्रेस क्रियाशील हुनेछ । 
(४) यसअघि नै नेपाली कांग्रेसले विकसित मित्रराष्ट्रहरूलाई आफ्नो अग्रिम बुकिङ गरेको खोप संख्याबाट आवश्यक नभएको खोप नेपालजस्ता देशहरूलाई उपलब्ध गराउन अनुरोध गरेको थियो । यसैबीच संयुक्त राज्य अमेरिकाले खोप सहयोग गर्ने निर्णय गरेको छ । यस निर्णयको स्वागत गर्दै अन्य विकसित मित्रराष्ट्रहरूलाई पनि खोप सहयोग पुर्‍याउन अनुरोध गर्दछौँ ।