मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर काठमाडौं
२०७८ बैशाख १७ शुक्रबार ०४:४५:००
Read Time : > 6 मिनेट
Read Time : > 6 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७८ बैशाख १७ शुक्रबार ०४:४५:००

 

हिजो, प्रधानमन्त्री ओलीको भाषण सुनाउन एसी बसमा मान्छे ओसारिए

२३ माघमा नारायणहिटीअगाडि आयोजित आमसभाका लागि सहभागी बोकेर जिल्ला–जिल्लाबाट ल्याइएका बसका ताँती त्रिपुरेश्वरमा । तस्बिर सौजन्य : उमेश श्रेष्ठ


प्रचण्ड र माधवका भाषण सुनाउन जिल्ला–जिल्लाबाट नाइट बसका ताँती लागे

२८ माघमा भृकृटीमण्डपमा आयोजित आमसभाका लागि सहभागी बोकेका बस बाराको निजगढमा ।  अन्य जिल्लाबाट पनि यसैगरी मान्छे ओसारिएका थिए । तस्बिर : नयाँ पत्रिका फाइल

 

आज, महामारीले लखेटिएका जनता राजमार्गमा विलखबन्दमा

बिहीबार निषेधाज्ञा सुरु भएकोले सवारीसाधन नपाएपछि कलंकीमा अलपत्र यात्रु । मुस्किलले भेटिएको ट्रकमा पनि महँगो भाडा तिर्न बाध्य छन् विपन्न यात्रुहरू । तस्बिर : ज्ञानेन्द्र कार्की÷नयाँ पत्रिका

......

कोरोना भाइरसको दोस्रो लहर रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै घर फर्किने गाडी नपाएका सर्वसाधारण बिहीबार पनि सडकमै अलपत्र परेका छन् । निषेधाज्ञाअघि घर फर्किन दुई दिन समय दिइए पनि उपलब्ध सवारीसाधनले यात्रुको चाप थेग्न नसक्दा सर्वसाधारण सडकमै बिचल्लीमा परेका हुन् । 

निषेधाज्ञाको पहिलो दिन बिहीबार ट्रक र केही सवारीसाधन गुडिरहेकाले झुन्डिएरै भए पनि घर फर्किन पाउने आशामा सयौँ सर्वसाधारण कलंकीमा पानीमा भिज्दै बसिरहेका देखिन्थे । काठमाडौंबाहिर सवारी चल्ने र घर फर्किन लागेकाका लागि नाकामा केही खुकुलो गरिएकाले पछिल्लो लकडाउनजस्तो हिँडैरै उपत्यका छाड्नुपर्ने अवस्था छैन । यद्यपि काठमाडौंबाट बाहिरिने सवारीले यात्रुको चाप थेग्न नसक्दा अधिकांश सर्वसाधारण बस, ट्रकमा कोचिएर यात्रा गर्न बाध्य छन् । 

बिहीबार दिउँसो करिब ३ बजेतिर कलंकीमा पानीमा भिज्दै सामान ढुवानी गरेर उपत्यकाबाट फर्किरहेका ट्रकका चालकसँग सर्वसाधारणको एक हुल आफूहरूलाई लगिदिन आग्रह गरिरहेको थियो । सामान पु¥याएर फर्किरहेकाले ट्रक खाली पनि थियो, केही समयपछि ट्रकचालक उनीहरूलाई लैजान सहमत भए । काठमाडौंमा मजदुरी गर्दै आएका अर्जुन पण्डित र उनीसँगै रहेका अन्य ११ जनाको समूह थियो त्यो । जुन बिहीबार बिहान ७ बजेदेखि गाडी पाइने आशामा कलंकीमा बसिरहेका थिए । दिउँसो पानी पर्न थालेपछि उनीहरूले ट्रकमै भए पनि जाने योजना बनाएर चालकसँग धेरैपटक अनुरोध गरेका थिए । उनीहरूसँगै सर्लाही जाने अर्को समूहलाई पनि गाडीमा हालेपछि चालक २६ जनालाई लिएर हिँडे ।

उपत्यकामा गाडी चल्न बन्द भएपछि अर्जुन पण्डितको समूह भक्तपुरदेखि हिँडेरै ७ बजे कलंकी पुगेको थियो, तर निषेधाज्ञाका कारण गाडी पाइने टुंगो नभएपछि ट्रकमै कोचिएर यात्रा गर्न बाध्य भएको थियो । समूहमा कसैले मास्क लगाएका थिएनन् । ट्रकमा २६ जना बस्दा हुलमुल देखिन्थ्यो । ट्रकचालक प्रतिव्यक्ति पाँच सय रुपैयाँ भाडा दिने सर्तमा लैजान तयार भएका थिए । ‘सामान लिएर हिजै काठमाडौं आएको, अहिले खाली छ, गाडी नपाएर दुःख पाइरहेका रहेछन्, त्यही भएर लगिदिन खोजेको । हामीले भाडा पनि कम लिएका छौँ, सर्लाही पु¥याइदिन्छौँ । तर, नागढुंगामा रोक्छ कि भन्ने डर छ,’ ट्रकचालक सन्दीप महतले भने ।

दुबईबाट बिहानै काठमाडौं ओर्ले, साँझसम्म कलंकीकै अलपत्र

दुबईबाट बिहीबार मात्रै काठमाडौं आइपुगेका मानबहादुर धानुक पनि कलंकीमै गाडी कुरेर बसेका थिए । उनी दुबईबाट बिहान मात्र काठमाडौं ओर्लेका थिए, एयरपोर्टबाट ट्याक्सीले ११ बजेतिर कलंकी पु¥याइदियो । पानी परेकाले ओत लागेर बसेका धानुकको भने कैलाली फर्किने कुनै टुंगो थिएन । उनीसँगै गाडी कुरेर बसेका अन्य सर्वसाधारण ट्रकमा झुन्डिएर गए, कैलालीसम्म जान गाडी नभेटिएकाले उनी बेलुकीसम्म सडकमै छन् । ‘उतैबाट काठमाडौं गाडी आएको छ रे, बेलुकासम्म आइपुग्यो भने त्यसमै जान्छु भन्ने आस छ,’ धानुकले भने । काठमाडौंमा आफन्त कोही नभएकाले बस्ने ठाउँ नभएको उनले बताए । भन्छन्, ‘नजिकै भए त लिफ्ट मागेरै या गाडीको पछाडि झुन्डिएरै भए नि जान्थे ।’

छोटो दूरी तय गर्नुपर्ने यात्रुहरू बुधबार नै ठेलमेल गरेर भए पनि उपत्यका छोडिसके पनि लामोदूरीका यात्रुहरू भने सडकमै अलपत्र परेर बस्नुपर्ने बाध्यता छ । कैलाली, कञ्चनपुर, ताप्लेजुङ, झापा पुग्नुपर्ने यात्रुहरूका लागि सवारी पाउन निकै कठिन भएको छ । 

काठमाडौं उपत्यकामा मजदुरी गर्दै आएका भारतीय नागरिकहरू बढी समस्यामा परेका छन् । बुधबार रातिदेखि नै गाडी कुरेर बसेका कतिपय मजदुर अझै गाडी पाइने आशामा सडकमै छन् । कतिपय सर्वसाधारण भने बिहीबार पनि काठमाडौंबाट सवारी बाहिरिने आशामा १२÷१४ घन्टा सडकमा कुरिरहेका छन् । तीमध्ये हुन्, झापा जान गाडी कुरिरहेका यमुना गुरागाइँ र विनिता ओझा । उनीहरू गाडी पाइन्छ कि भन्ने आसमा बिहान ६ बजे नै कलंकी पुगेका थिए । ‘आज पनि गाडी जान्छ रे भनेर सुनेर आएको । गाडी आउँछ कि भनेर आस गरेर बसेका छौँ । बिहानै ट्याक्सीसमेत नपाएर सुन्धाराबाट बाइकमा लिफ्ट मागेर आएको । अब गाडी पाइएन भने के गर्ने टुंगो छैन,’ विनिताले भनिन् । काठमाडौंबाट बाहिरिने मुख्य नाका कलंकी र नागढुंगामा सर्वसाधारण अझै पनि गाडी पर्खेर बसेका छन् ।

......

काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा, आवश्यक परे चालकसँग सीधा सम्पर्क गर्न सकिने 

शान्ति तामाङ/नयाँ पत्रिका

काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको समयमा सर्वसाधारणलाई सहज होस् भनी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । त्यसका लागि महानगरले संयुक्त एम्बुलेन्सचालक संघसँग सम्झौता गरेको छ । सम्झौताबमोजिम सञ्चालित एम्बुलेन्सका चालकसँग सीधा सम्पर्क गरेर जसले पनि सेवा लिन सक्नेछन् ।

महानगरले सञ्चालन गरेको हटलाइन ११८० वा एम्बुलेन्सचालकको सीधा सम्पर्कबाट सेवा उपलब्ध हुनेछ । यसका लागि बिहीबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा महानगरका तर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र संयुक्त एम्बुलेन्सचालक संघका तर्फबाट अध्यक्ष गोवद्र्धन सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताबमोजिम राष्ट्रिय सभा गृह, ट्रलीबस परिसर, वडा ३ कार्यालयपरिसर महाराजगन्ज, वडा १५ परिसर स्वयम्भू र वडा ७ कार्यालयपरिसर मित्रपार्कमा दुई÷दुईवटा एम्बुलेन्स २४सै घन्टा तैनाथ हुनेछन् । यी एम्बुलेन्सहरू कोरोनाको संक्रमण नभएका बिरामीका लागि हुन् । कोरोना संक्रमण भएका बिरामीले महानगरको सहकार्यमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा १०२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन् । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध आदेशका समयमा बिरामी अस्पताल जानबाट वञ्चित हुन नपरोस् भनेर महानगरले यसप्रकारको सुविधा उपलब्ध गराएको हो ।

महानगरका प्रमुख शाक्यले जतिसुकै प्रतिकूल अवस्था भए पनि कसैलाई समस्या नआओस् भनेर महानगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको जानकारी दिए । ‘कहिलेकाहीँ बिरामीलाई अस्पताल पु¥याउन ढिला भएका कारण बचाउन नसकिएको गुनासो आउने गर्छ । कहिलेकाहीँ पाँच मिनेट मात्र छिटो ल्याउन सकिएको भए बचाउन सकिन्थ्यो भन्ने घटना सुनिन्छ । त्यसैले महानगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका हौँ ।’

घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुविधा उपलब्ध छ । यो सेवा महानगरको भौगोलिक सिमानाको दुई किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो । महानगरका सबै क्षेत्रका नागरिकले निःशुल्क एम्बुलेन्सको समान पहुँच पाऊन् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सहरका पाँच ठाउँमा राखिनेछन् । ‘यो सेवा पूर्ण निःशुल्क हो । यसमा मोलाहिजा हुँदैन । नाइँनास्ती हुँदैन,’ सहरी स्वास्थ्य महाशाखा प्रमुख रामप्रसाद पौडेलले भने ।

कहाँ कुन एम्बुलेन्स ?

चाबहिल, वडा ७ परिसर 
बा.३च २७६६ र बा.१०च ७८५६
चालक : अजय लामा ९८४१०५४७६८ र उद्धव भण्डारी ९८४११४०६२२

स्वयम्भू, वडा १५ परिसर 
ना.२च ७७५४ र बा.१०च ४३७३ 
चालक : शंकर दाहाल ९८०८२ ७९८१९ र डम्बर गुभाजू ९८८१३८७२१७

महाराजगन्ज, वडा ३ परिसर
बा.१२च २३६० र बा.६च २८२ 
चालक : श्याम श्रेष्ठ ९८१३ २४६०८६ र कृष्ण गुरुङ ९८०८२ ९२५५०

ट्रलीबस मीनभवन 
बा.१८च ५६५७ र ना.२च ४१२०
चालक : सोमबहादुर तामाङ ९८४०९१६२६२ र सविन थापा ९८४०२४१४४९

राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग 
बा.६च ९१०० र बा.५च ५७५९
चालक : गोवद्र्धन सापकोटा ९८५१०८२४२५ र तुलसिंह तामाङ ९८१८४३९५९५ 
 

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य भन्छन्– जनप्रतिनिधिको व्यक्तिगत नम्बरमा सम्पर्क गर्नोस्

विश्वभरि द्रुत गतिमा फैलिँदै गइरहेको कोभिडको नयाँ भेरियन्टबाट मुलुक नै भयभीत छ । संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिका यो सन्त्रासबाट अछुत रहने कुरै भएन । यहाँ देशभरिकै नागरिक विभिन्न पेसा व्यवसाय अँगालेर बसिरहेका छन् । विदेशी नागरिकसमेत आवतजावत हुने मुख्य केन्द्र भएकाले कोभिडको संक्रमण द्रुत गतिमा फैलिन सक्ने खतरालाई मध्यनजर गरी हामी सबैले सजगता अपनाउनुपर्ने आवश्यकता छ । महानगरवासीमा कुनै स्वास्थ्यसम्बन्धी समस्या आएमा वा कोभिडबाहेकका बिरामीले उपचारका लागि अस्पताल जानुपर्ने भएमा हटलाइन टेलिफोन नं. ११८०, मोबाइल नं. ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा तथा कोभिडका बिरामीले अस्पताल जानुपर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्नुहोस् । महामारीसँग सम्बन्धित कुनै समस्या परे मेयर, उपमेयर वा आफू नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्नुहोस् ।

काठमाडौं महानगरपालिका मुलुककै प्रमुख सांस्कृतिक सहर भएका कारण यहाँका मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्नुपर्ने दायित्व पनि हामीसामु छ । मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्चजस्ता धार्मिकस्थलमा गएर आ–आफ्नो परम्पराअनुसार पूजापाठ एवं प्रार्थना गर्ने चलन छ । यस्ता सार्वजनिक ठाउँमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै भाइरस सर्ने भएकाले अहिलेका लागि धार्मिकस्थलमा गएर भिड गर्नुभन्दा आफ्नो आस्थाअनुरूप घरमै बसेर नित्य पूजा गर्न सबैमा अपिल गर्दछु ।

......
 

निषेधाज्ञामा शुक्रबारदेखि थप कडाइ

टेकराज थामी/नयाँ पत्रिका

उपत्यकामा जारी निषेधाज्ञामा शुक्रबारदेखि थप कडाइ हुने भएको छ । कोरोना संक्रमित बढ्दै जाँदा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले दोस्रो दिनदेखि अझै कडाइ गर्ने प्रहरीले जनाएको छ । 

सरकारले बिहीबारदेखि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू गरेको छ । तर, पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएका छन् । विशेष गरी सहरका चोकहरूमा सवारीसाधनको बाक्लो चाप देखिएको छ । नयाँ बानेश्वर, कलंकी, थापाथली, सहिदगेट, महाराजगन्ज, नागढुंगा, कोटेश्वर, चाबहिललगायतका चोकमा त बिहान १० बजे र साँझ पाँच बजेको आसपास ट्राफिक जाम नै भयो । 

शुक्रबारदेखि सहरभित्रको निषेधाज्ञामा कडाइ गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए । ‘पहिलो दिन भएर सवारीसाधनलाई केही लुज गरिएकै हो । तर, शुक्रबारबाट त्यस्तो हुँदैन । हामीले कडाइका साथ निषेधाज्ञा कार्यान्वयन गर्छौँ । सरकारको निर्देशन कडाइका साथ पालना हुनेछ । जसले उल्लंघन गर्छ त्यसलाई कानुनअनुसार कारबाही हुनेछ,’ उनले भने ।

प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गर्ने सर्वसाधारणलाई कारबाही गरिनेछ । सरकारले तोकेका सवारीसाधनको आउजाउमा मात्रै छुट हुनेछ । मास्क नलगाई सडकमा निस्कनेको हकमा प्रहरी झन् कडाइका साथ उत्रने एसएसपी सिंहले बताए । ‘मास्क नलगाई सडकमा निस्कनेलाई प्रहरीले पक्राउ गर्नेछ । नागरिकलाई दुःख दिने प्रहरीको मनासाय होइन । नागरिकको स्वास्थ्यकै लागि प्रहरीले यसो गर्न लागेको हो । सकेसम्म हामीले उहाँहरूलाई सम्झाउँछौँ । मान्दै मानेन या अटेर गरे कारबाहीको विकल्प हामीसँग छैन,’ उनले भने । 

काठमाडौं प्रहरीका अनुसार मास्क नलगाई सडकमा निस्केका र निषेधाज्ञा उल्लंघन गर्ने चार सय ८१ जनलाई बिहीबार नै पक्राउ गरिएको थियो । उनीहरूलाई दुई घन्टा ‘होल्ड’ गरी राखेपछि मात्रै सम्झाइबुझाई छाडिएको थियो । त्यस्तै निषेधाज्ञा उल्लंघन गर्ने पाँच सय ८१ चारपांग्रे र नौ सय तीन दुईपांग्रे सवारीसाधन पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

पक्राउ गरी होल्डमा राखिएका सवारीसाधनको संख्या ट्राफिक प्रहरी महाशाखाको तथ्यांकमा अझ धेरै छ । महाशाखाका अनुसार दुई हजार ३९ सवारीसाधन नियन्त्रणमा लिइएको छ । जसमा तीन सय नौ चारपांग्रे, एक सय ८५ ठूला सवारीसाधन र १४ सय दुईपांग्रे सवारीसाधन छन् । बिहान ७ बजेदेखि नियन्त्रणमा लिइएका सबै सवारीसाधनलाई दिनभर ‘होल्ड’मा राखेर साँझ ७ बजे मात्रै छाडिएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए । 

प्रहरीको ‘मास्क लगाऊँ’ अभियान 

प्रहरीले निषेधाज्ञा उल्लंघन गर्नेलाई पक्राउ गरेर थुन्ने मात्र होइन, सम्झाइबुझाई मास्क नै लगाइदिएर बिदाइ पनि गर्ने गरेको छ । यसका लागि प्रत्येक बुथमा मास्क राखिएका छन् । 

प्रहरीले होल्डिङ क्षेत्रमा राखिएका नागरिकलाई मास्कको फाइदा र संक्रमणबाट बच्ने उपायबारे जानकारी गराइरहेको छ । छाड्ने वेलामा अनिवार्य रूपमा मास्क लगाएर पठाउने गरिएको छ । ‘मास्क लगाऊँ’ अभियानअन्तर्गत त्यस्तो गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए । 

‘हामीले मास्क लगाऊँ अभियान पनि सँगै चलाएका छौँ । होल्डिङ सेन्टरमा राखिएकालाई कोरोना र कोरोनाबाट बच्ने उपाय सिकाउँछौँ । मास्क लगाउँदाको फाइदा र लगाउने तरिकाबारे पनि सिकाउँछौँ । होल्डिङ सेन्टरबाट छाड्दा अनिवार्य रूपमा मास्क लगाइदिन्छौँ । यो अभियान अब निरन्तर चल्नेछ,’ एसएसपी सिंहले भने ।