१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ बैशाख १५ बुधबार १२:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्नपूर्ण पदमार्गमा साढे दुई करोड लगानीमा न्यु वाटरफल होटेल निर्माण

Read Time : > 1 मिनेट
२०७८ बैशाख १५ बुधबार १२:१२:००

अन्नपूर्ण पदमार्गमा साढे दुई करोड लगानीमा होटेल निर्माण गरिएको छ । पदमार्गअन्तर्गत मर्स्याङ्दी गाउँपालिका– ४ स्याँगेमा दुई करोड ५० लाख लगानीमा होटेल निर्माण गरिएको हो । मर्स्याङ्दी गाउँपालिका– ४ स्याँगेका समाजसेवी नरबहादुर गुरुङले न्यु वाटरफल  गेस्टहाउस एन्ड रेस्टुरेन्ट होटेल निर्माण गरेका हुन् । गुरुङले मर्स्याङ्दी गाउँपालिकामा नै ठूलो सुविद्यासम्पन्न होटेल निर्माण गरी सञ्चालनमा ल्याएका हुन् । 

उनले भने, ‘सुविधासम्पन्न होटेल सञ्चालनमा आएसँगै अन्नपूर्ण पदमार्गका लागि आउने पर्यटक एक दिन होटेलमा बसेर घेर्मुको रकगार्डेन हेरेर मनाङ जानेछन् यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनेछ ।’  होटेलमा २९ वटा सुविधासम्पन्न कोठा छन् । गुरुङले पहिले १९ वटा कोठा निर्माण गरेका थिए भने थप नाै गरी २८ वटा कोठा पाहुनाका लागि तयारी अवस्थामा छन् ।

पर्यटकलाई लक्षित गरी गुरुङले कोरोना महामारीको समयमा होटेलसँगै ट्राउट माछा फार्म पनि सञ्चालनमा ल्याएका छन् । होटेलमा पर्यटकका लागि र भरियाको समेत व्यवस्था गरिएको गुरुङको भनाइ छ । विदेशी र आन्तरिक पर्यटकलाई आकर्षित गर्न नयाँ सुविधासम्पन होटेल सञ्चालनमा ल्याइएको गुरुङले बताए । उनले कोरोना महामारीमा भएको लकडाउनलाई अवसरको रूपमा लिएर होटेल सञ्चालन गरेको बताए ।

होटेलअगाडि स्याँगे झरनामा निर्माण गरिएको ‘स्याँगे वाटरफल जिपलाइन एड्भेन्चर’ पर्यटकको रोजाइमा परेको छ । मर्स्याङ्दी गाउँपालिका टेकेपछि पावरहाउस, सुरुङमार्ग, ड्यामसाइड, झरना, पार्क, जिपलाइन आदिको मजा लिन सकिने होटेल सञ्चालक गुरुङले बताए ।

अन्नपूर्ण पदमार्गमा आउने पर्यटक खुदी, भुलभुले, ङादी, बाहुनडाँडा र स्याँगेमा बस्ने गर्छन् । ताघ्रिङ, घेर्मु र स्याँगे हुँदै पर्यटक पदमार्गको अर्को गन्तव्य मनाङ जाने गर्छन् । अन्नपूर्ण पदमार्गमा दैनिक २०–२५ जना आन्तरिक र बाह्य पर्यटक  होटेलमा आउने गर्छन् । सदरमुकाम बेंसीसहर भएर वार्षिक २५ हजारको हाराहारीमा आन्तरिक र बाह्य पर्यटक अन्नपूर्ण पदमार्गमा आउने गर्छन् ।