Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १५ बुधबार ०९:२९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

करेक्सनपछि नेप्सेमा झन्डै सय अंकको सुधार, कारोबार रकम भने घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १५ बुधबार ०९:२९:००

दुई दिन उच्च अंकको करेक्सनपछि नेप्से परिसूचकमा सुधार आएको छ । नेप्से सूचक बढेको भए पनि कारोबार रकम भने घट्न पुगेको छ । नेप्से सूचक बढेर पनि कारोबार रकम घटेकाले अझै बजारले स्पष्ट दिशा नसमातेको लगानीकर्ता तथा विश्लेषक विष्णु बस्याल बताउँछन् । बजारमा कम्पनीहरूको मूल्य निकै घटे पनि लगानीकर्ता कारोबारलाई लिएर सुनिश्चित नभएको र अझै ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिने बस्यालको विश्लेषण छ ।  

सोमबार घटेको बजारमा समेत ६ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ५ अर्ब १० करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । यस दिन २ सय १६ किसिमका  धितोपत्र र ऋणपत्रका १ करोड २ लाख कित्ता–इकाइ किनबेच भएको हो । मंगलबार नेप्से परिसूचक भने एकै दिन ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव शून्य ०८ बिन्दुमा पुगेको छ । त्यस्तै ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १४ दशमलव ४८ अंकले बढेर ४ सय ६७ दशमलव २८ बिन्दुमा पुगेको छ ।

यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा अपर तामाकोसी हाइड्रोपावर कम्पनी छ । सो कम्पनीको यस दिन २३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । दोस्र्रो स्थानमा कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) छ । सो दिन बैंकको २१ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बिमा कम्पनीको पनि १४ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस दिन सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा अपर तामाकोसी हाइड्रोपावर कम्पनी छ । सो दिन कम्पनीको १० प्रतिशतले मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, विशाल बजार कम्पनी अघिल्लो सातादेखि नै मूल्य बढेर सर्किट लाग्दै आएको छ । कम्पनीको  प्रतिसेयर मूल्य ४ हजार २ सय १५ रुपैयाँ पुगेको छ । करिब १० प्रतिशतले नै सर्किट लागेको महिला लघुवित्त वित्तीय संस्थाको पनि २५ सय ८३ रुपैयाँमा कारोबार भएको छ ।

युनाइटेड इन्स्योरेन्स, सुमित लघुवित्त कम्पनीको मूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ । १२ प्रतिशत ब्याजदर रहेको आइसिएफसी फाइनान्स ऋणपत्र ०८३ को मूल्य भने यस दिन सबैभन्दा धेरैले घटेको छ । सो ऋणपत्रको मूल्य १ दशमलव ९४ प्रतिशतले घटेको हो । ग्लोबल आइएमईको ऋणपत्रको मूल्य पनि उच्चदरमा घटेको छ ।  

यस दिन कारोबारमा आएका सबै समूहका सूचक सकारात्मक छन् । सबैभन्दा धेरै बढ्नेमा हाइड्रोपावर समूह  छ । यस समूहको सूचक ६ दशमलव ४८ प्रतिशतले बढेको हो । 

सिंगटी हाइड्रोको सेयर नेप्सेमा सूचीकृत 
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको छ । मंगलबार कम्पनीको १ करोड ४५ लाख कित्ता सर्वसाधारण सेयर सूचीकृत भएको हो ।सर्वसाधारणका लागि निष्कासन गरेको २९ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको १४ लाख ५० हजार कित्ता र संस्थापक सेयर १ करोड १ लाख ५० हजार कित्तासमेत गरी सोबराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर बुधबारदेखि कारोबारमा आउनेछ । नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको सेयर मूल्य न्यूनतम १ सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्म तोकेको छ ।