Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्दै गरेकाको अभिलेख राख्दै सुरक्षाकर्मी । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका 
२०७८ बैशाख १४ मंगलबार १८:४४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वी नाकाबाट भारतीय नागरिकलाई प्रवेशमा रोक

Read Time : > 1 मिनेट
२०७८ बैशाख १४ मंगलबार १८:४४:००

भारतीय नागरिकलाई पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेशमा रोक लगाइएको छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर उच्च भएपछि जिल्ला प्रशासन कार्यालय झापाले पूर्वी नाकाबाट भारतीय नागरिकलाई प्रवेशमा रोक लगाएको हो । 

मंगलबार सुरु दिन भएकाले सूचना जारी हुन नपाउँदा २१ जना भारतीय नागरिक नेपाल प्रवेश गरे । त्यसपछि आएका भारतीयलाई भने फर्काइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । ‘नाकालाई व्यवस्थित गर्दै कोरोना संक्रमणको जोखिम व्यवस्थापन गर्न भारतीय नागरिकको प्रवेशमा रोक लगाएका छौँ,’ झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने, ‘नेपालबाट पनि भारततिर जाने नेपाली नागरिकलाई नजान आग्रह गरेका छौँ ।’

यद्यपि नेपालबाट जानेलाई भने पानीट्यांकी नाकामा रोक लगाइएको छैन । तर, नेपालतर्फ प्रशासनले भने विवाहका लागि बढीमा पाँचजना, अस्पताल जाने र अत्यावश्यक रूपमा भारत जानैपर्ने नेपालीलाई मात्र भारत पठाएको छ । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार मंगलबार २१ जना भारतीय नागरिक नेपाल प्रवेश गरे भने पाँच सय ३० नेपाली नेपाल आए । भारतर्फ ८३ नेपाली गए भने ६ सय ४२ भारतीय गएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । ‘मजदुरी गर्न, पढ्न र अस्पतालका लागि गएका नेपाली नाकाबाट फर्किरहेका छन्,’ प्रजिअ तिमिल्सिनाले भने, ‘नेपाल आउनेको पनि ज्वरो र एन्टिजेन्ट परीक्षण अनिवार्य गर्छौँ ।’

यसअघि जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका बैठकले काँकडभिट्टा नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर र कलवलगुढीमा पाँच सय क्षमताको होल्डिङ सेन्टर स्थापना गर्न प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको थियो । केन्द्रले झापाका १५ वटै स्थानीय तहमा कम्तीमा एक सय बेडको क्वारेन्टिन र ५० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको प्रजिअ तिम्सिनाले जानकारी दिए । 

भारतबाट आएका सार्वजनिक बस चढेर घर जान्छन् 
पूर्वीनाका काँकडभिट्टा भएर दैनिक करिब पाँच सयभन्दा बढी नेपाल भित्रिन्छन् । भित्रिएकामध्ये ज्वरो आएकाको एन्टिजेन परीक्षण गरिन्छ । पजिटिभ आएकालाई छुट्टै गाडीमा अस्पताल वा घर पठाइन्छ । बाँकी काँकडभिट्टा बसपार्क पुग्छन् र सार्वजनिक यातायात चढेर गन्तव्यमा जान्छन् । जसका कारण जोखिम बढेको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य बताउँछन् । ‘विगतमा नाका अलिक व्यवस्थित थियो । पारिबाट आउनेलाई लिन नाकामै गाडी पुग्थ्यो,’ उनी भन्छन्, ‘अहिले त्यति छैन । सिडिओ साब, समन्वय प्रमुखसहित समन्वय भइरहेको छ ।’

विगतमा भारतबाट आएका सीधै घर जान पाउँदैन थिए । विगतमा स्थानीय तहमा क्वारेन्टिन बनाइएको थियो । भारतबाट नेपाल प्रवेश गर्ने प्रत्येक नागरिकलाई क्वारेन्टिनमा राखिने गरेको थियो । तर, अहिले सीधै घर जान्छन् । उनीहरूले क्वारेन्टिन पनि बस्नुपर्दैन । ‘यसले जोखिम बढाएको छ । हामीसँग स्रोतसाधन छैन । केन्द्र सरकारसँग समन्वय भइरहेको छ,’ प्रजिअ तिमिल्सिनाले भने, ‘नाकामा एक हजार अट्न सक्ने क्षमताको होल्डिङ सेन्टर बनाउन माग गरिरहेका छौँ ।’