स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई बहिरंग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै अस्पताललाई मंगलबार पत्र लेख्दै कोभिड– १९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्न हाललाई बहिरंग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ती सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सुचारु राख्न भनिएको जानकारी दिए । मंगलबार एकै दिन चार हजार पाँच सय २४ जना कोरोना संक्रमित भएका छन् भने १८ जना संक्रमितको मृत्यु भएको छ ।
उनले कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्नसमेत निर्देशन दिएको बताए । मन्त्रालयले कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको आलोपालो निर्धारण गरी सेवा व्यवस्थापन गर्न भनिएको छ ।
यस्तै, मन्त्रालयले अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने र रिक्त दरबन्दी भए ६ महिना करारमा लिनसमेत भनिएको छ । मन्त्रालयले सघन उपचार कक्ष (आइसियू) तथा आकस्मिक उपचारसम्बन्धी औजार र अक्सिजनको व्यवस्थापन गर्नसमेत सबै अस्पताललाई निर्देशन दिएको छ ।