मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ बैशाख १४ मंगलबार १३:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लिदीवासीलाई सभामुखको आश्वासन– बर्खाअघि अस्थायी टहरो बनाइदिन्छौँ

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ बैशाख १४ मंगलबार १३:१८:००

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका पहिरो प्रभावित लिदीवासीलाई बर्खाअघि अस्थायी टहरो बनाइदिने आश्वासन दिएका छन् । पटक–पटक पहिरोपीडित भेट्न गए पनि सभामुख सापकोटाले के गर्ने भनेर खास निर्णय दिन सकेका छैनन् । टेन्टमा बसिरहेका पीडितलाई उनले बर्खाअघि अस्थायी टहरो बनाइदिने आश्वासन भने दिएका छन् ।

पहिरोपीडितलाई आश्वासन दिँदै उनले भने, ‘तपाईंहरू नआत्तिनुहोस् बर्खाअघि नै अस्थायी टहरो बनाइनेछ ।’ स्थायी संरचना बनाउन आउँदो आर्थिक वर्ष कुर्नुपर्ने भएकाले यसपालिको बर्खा कटाउन अस्थायी टहरो बनाउनुपर्ने अवस्था आएको सभामुखले बताए । अस्थायी टहरो निर्माणका लागि राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणसँग कुरा गर्ने सभामुखको आश्वासन थियो ।

गत वर्ष साउन ३० गते गाउँमाथिबाट झरेको पहिरोले ३० घर पुरिए । लिदीवासी ३९ जनाको ज्यान लियो ।घरमा भएको अन्नपात र वस्तुभाउ छोडेर ज्यान जोगाउन लिदीवासी बाँसखर्क बसाइँ सरे । पहिरोपीडितलाई सरकारी र अन्य निकायबाट धेरै राहत सामग्री वितरण गरियो । तर, वर्ष दिन हुन लाग्यो बसोवासको कुनै टुंगो छैन । सहयोगी हातले पीडितको नाममा दिएको ४० लाखभन्दा बढी रकम पालिकाको खातामा जम्मा भएको छ । त्यसउपर गाउँपालिकाले कुनै निर्णय लिन सकेकाे छैन । 

टेन्टमा बसिरहेका पहिरोपीडितका लागि वडाले राखेको भण्डारमा ३० बोरा चामल मात्रै मौज्दात छ । दाल, तेल, चिनी र अन्य सामग्री सकिएको वडाध्यक्ष लामाले बताए । सभामुख, स्थानीय सरकार र जिल्लास्थित सरकारी निकायले संयुक्त रूपमा बाढीपहिरोपीडितको व्यवस्थापनका लागि धेरैपटक छलफल गरेका छन् । तर, हालसम्म कुनै ठोस ठोस कदम चालिएको छैन । लिदी मात्रै होइन बाह्रबिसेको जम्बु, नागपुजे र भोटेकोसीका पीडितका लागि पनि ठोस कदम चालिएको छैन ।