मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २३ बिहीबार
  • Thursday, 06 May, 2021
२०७८ बैशाख १४ मंगलबार ०९:५६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बसपार्क निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग : तत्काल काम रोक्न प्रशासनको निर्देशन

Read Time : > 1 मिनेट
२०७८ बैशाख १४ मंगलबार ०९:५६:००

काँडाचौर बसपार्क निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले तत्काल काम रोक्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापा र इन्जिनियरसहितको टोलीले सोमबार अनुगमन गर्दा गुणस्तरहीन सामग्री फेला पारेको हो ।

‘कामको अनुगमन गर्दा भनेबमोजिमको सामान प्रयोग नगरिएको र गुणस्तरीयतामा समस्या देखेपछि रोक्न भनेका छौँ । निर्माण कम्पनीलाई बोलाएर चेतावनीसँगै बिग्रेको काम सुधार गरेपछि मात्र काम सुरु गर्न निर्देशन दिइएको छ,’ प्याकुरेलले भने । 

केन्द्र सरकारको बहुवर्षीय कार्यक्रमअन्तर्गत सुर्खेतको भवन डिभिजनमार्फत दुई सय ३० मिटर लामो, ६ मिटर चौंडा आरसिसी र दुई सय ३० मिटर पक्की नाली निर्माणका लागि एक करोड लागतमा आर जे कन्स्ट्रक्सनले ४८ प्रतिशत घटेर ठेक्का लिएको छ । असारसम्म सक्नुपर्ने कामको ढुंगा सोलिङपछि गर्नुपर्ने तीन इन्च पिसिसी निर्माणको काम अहिले नै सुरु गरिएको छ । पिसिसी निर्माणपछि सरिया राखेर आठ इन्च ढलान गर्नुपर्ने सम्झौता छ । ढलान टिकाउ बनाउन पिसिसी हुनुपर्नेमा जग नै कमजोर बनाउने काम भएको भन्दै स्थानीयले विरोध गरेका छन् । 

अनुगमनका क्रममा स्टिमेटअनुसार प्रयोग गर्नुपर्ने गिटी प्रयोग नगरिएको पाइएको छ । तीन इन्च पिसिसी नदेखिएको र खोलाको मोरङ प्रयोग गरेर गुणस्तरहीन काम भएको पाइएको अनुगमन टोलीका एक सदस्यले बताए । काममा खटिएका कामदारले भने आफूहरूलाई जे गर्न भनिएको छ त्यही गरेको बताएका छन् । ‘गिटी आएको छैन, हामीले खोलाकै मोरङ प्रयोग गरेका छौँ । हाम्रो ज्यालाको समेत प्रबन्ध गरिएको छैन, कति दिने हुन्, त्यो पनि थाहा छैन,’ एक कामदारले भने ।

स्टिमेटअनुसार काम भए–नभएकोबारे अनुगमन गर्न भवन डिभिजन सुर्खेतले एउटा ओभरसियर खटाएको छ । तर, अनुगमन प्रभावकारी हुन सकेको छैन । ‘सुर्खेतबाट हामीले प्राविधिक पठाएका छौँ, दैलेखका अन्य काम पनि हेर्नुपर्ने र प्राविधिकले एउटा काम मात्र हेर्न गाह्रो भएको छ,’ इन्जिनियर रामकृष्ण आचार्यले भने।

बसपार्क निर्माणका लागि मुख्य ठेकेदारले अन्य पेटी ठेकेदारलाई काम दिएकाले गुणस्तरीय नभएको देखिएको छ । भवन डिभिजन सुर्खेतका इन्जिनियर आचार्यले स्टिमेटअनुसार काम नभए ठेकेदारलाई कारबाही हुने बताए । जिल्लाका ठूला विकासे कामको अनुगमन गर्न जिल्ला समन्वय समितिमार्फत प्राविधिक पठाएर अनुगमन तीव्र पारिने जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले जानकारी दिए ।