मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७८ बैशाख १३ सोमबार १६:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कृषि तथा वनजन्य उत्पादन र उद्योगमा कर्णालीको जोड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७८ बैशाख १३ सोमबार १६:५७:००

कर्णाली प्रदेशले कृषि तथा वनजन्य उत्पादन र उद्योगमा जोड दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा कर्णाली प्रदेश योजना आयोगका अध्यक्ष महेन्द्रबहादुर शाहीको अध्यक्षता बसेको कर्णाली प्रदेश विकास परिषद्को दोस्रो बैठकले कृषि तथा वनजन्य उत्पादन र उद्योगमा जोड दिने निर्णय गरेको हो । 

कर्णाली प्रदेशमा कृषि तथा वनजन्य उत्पादन र उद्योगमा जोड दिने र पूर्वाधार विकासमा निरन्तरता दिनुका साथै रोजगारीको सुनिश्चितता गराउनुपर्नेमा जोड दिएको कर्णाली प्रदेश विकास परिषद् दोस्रो बैठक संयोजन समिति संयोजक डा. दीपेन्द्र रोकायाले जानकारी दिए । ‘परिषद्ले अधुरा योजना पूरा गर्ने, नयाँ योजनालाई अध्ययन गर्ने, जनशक्तिको व्यवस्थापन गर्ने र आयोजना बैंकको व्यवस्थापन गरी कर्णालीमा लगानी आकर्षित गर्ने निर्णय भएको छ,’ उनले भने, ‘कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा संवेदनशील भई व्यवस्थापन गर्नुपर्ने, शिक्षा पर्खने विषय नभएकाले शिक्षामा डिजिटल व्यवस्था गर्नुपर्ने निर्णय भएको छ ।’

दीर्घकालीन लक्ष्य प्राप्तिका लागि प्रथम पञ्चवर्षीय योजना महत्वकांक्षीजस्तो देखिए पनि योजनाले मार्गनिर्देशन गरेअनुसार अगाडि बढ्नुपर्नेमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्पराज खड्काले बताए । ‘चालू आ.व. मा २० प्रतिशत मात्र बजेट खर्च भएको र यसो हुनुको मूल कारण दक्ष जनशक्तिको अभाव, साना योजना बढी हुनु, अपनत्वको कमी, अध्ययन नभएका आयोजना हुनु, खरिद प्रक्रिया योजनामा अलमल देखिनु, समयमै आयोजनाको इआइए र आइइई नहुनु पनि एउटा कारण हो,’ उनले भने, ‘जग्गा प्राप्तिमा समस्या देखिनु, सिमाना तथा मूलको विवादजस्ता विषय जिम्मेवार रहेको कुरा छलफलमा आएको थियो ।’

परिषद् बैठकले विकास कार्यक्रमको समस्या समाधान गर्नुका साथै योजना छनोटदेखि कार्यान्वयनसम्म प्रदेश र स्थानीय तहबीच दह्रो सहकार्य हुनुपर्ने डा. रोकायाले बताए ।