मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख १२ आइतबार १५:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा ६० प्रतिशत मात्रै पुनर्निर्माण

Read Time : < 1 मिनेट
२०७८ बैशाख १२ आइतबार १५:५४:००

भूकम्प भएको ६ वर्षमा लमजुङमा ६० प्रतिशत मात्र निजी आवास पुनर्निर्माण भएको छ । भूकम्पबाट क्षति पुगेका घरमध्ये आठ हजार नौ सय ७३ घर पुनर्निर्माण भएका छन् । 

जिल्लामा रहेका १५ हजार पाँच सय ४३ लाभग्राहीमध्ये आठ हजार नौ सय ७३ जनाले आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ताबापतको रकम लिइसकेका छन् । ०७२ को भूकम्पले लमजुङमा १४ हजार ६ सय ४९ निजी घर भत्किएका थिए भने आठ सय ९४ घर प्रबलीकरण लाभग्राहीका सूचीमा परेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सूर्यप्रसाद शर्माले बताए ।

उनका अनुसार १४ हजार पाँच सय ९७ लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएका छन् भने ११ हजार सात सय ५० लाभग्राहीले दोस्रो किस्ता बुझिसकेका छन् । जिल्लामा दुई हजार सात सय ७७ घर निर्माणाधीन अवस्थामा छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा दूधपोखरी गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो ।

२२ जनाले गरे अनुदान रकम फिर्ता
भूकम्पपछिको पुनर्निर्माणको लाभग्राही सूचीमा सूचीकृत भएका २२ जनाले अनुदान रकम फिर्ता गरेका छन् । पूर्ण क्षतिको विवरणमा परेर घर निर्माणका लागि भन्दै पहिलो किस्ता लगेर घर नबनाएकाले उक्त रकम फिर्ता गरेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निश्चित समयभित्र घर निर्माण गरिसक्नुपर्ने भनी समयसीमा तोकिएर सबै लाभग्राहीलाई आग्रह गरेपछि जिल्लामा २२ जना लाभग्राहीले निर्माण गर्न नसकेको कारण जनाउँदै निवेदनसहित रकम फिर्ता गरेका हुन् । भूकम्प प्रभावितहरूले आवास निर्माणका लागि पहिलो किस्ताबापत पाएका ५० हजार रकम फिर्ता गरेका हुन् ।