मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २३ बिहीबार
  • Thursday, 06 May, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ११ शनिबार ०८:४६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

घरमै शृंखला जित्ने अवसर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ११ शनिबार ०८:४६:००

नेपालका लागि यो घरेलु मैदानमा पहिलो शृंखला जित्ने अवसर मात्रै होइन, फेरि बढ्दो अवस्थामा देखिएको कोरोना संक्रमणका कारण चिन्ता र निराशामा देखिएका नेपालीलाई खुसी दिने अवसर पनि हो

कोरोना भाइरस (कोभिड– १९) महामारी विश्वव्यापी बनेको १३ महिनापछि आयोजित त्रिदेशीय टी–२० शृंखलामा नेपाल उपाधिनजिक छ । उपाधिका लागि नेपालले शनिबार हुने फाइनल खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ः१५ बाट सुरु हुने यो फाइनल खेल नेपालका लागि धेरै दृष्टिकोणबाट महत्वपूर्ण छ । नेपालका लागि यो घरेलु मैदानमा पहिलो शृंखला जित्ने अवसर मात्रै होइन, फेरि बढ्दो अवस्थामा देखिएको कोरोना संक्रमणका कारण चिन्ता र निराशामा देखिएका नेपालीलाई खुसी दिने अवसर पनि हो । 

गत वर्ष चीनबाट युरोप हुँदै विश्वव्यापी बनेको कोरोना भाइरस संक्रमणका कारण नेपालको अन्तर्राष्ट्रिय सहभागिता पनि रोकिएको थियो । त्यसअघि नेपालले २३ फागुन २०७६ मा थाइल्यान्डमा भएको एसियाली क्रिकेट काउन्सिल (एसिसी) इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता खेलेको थियो । नेपाल र मलेसियाका लागि त्यसपछिको यो पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो । नेदरल्यान्ड्सको अन्तर्राष्ट्रिय क्रिकेट अझ त्योभन्दा पहिलेबाटै रोकिएको थियो । 

लामो समयपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फर्किएका दुई सशक्त टोलीबीचको यो उपाधि भिडन्त रोचक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताको सुरुवातबाटै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको नेपाल उपाधि जित्नेमा दृढ देखिएको छ । लिग चरणको अन्तिम खेलमा मलेसियालाई ६९ रनको भारी अन्तरले पराजित गरेपछि नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले खेलाडीमा आत्मविश्वास थपिएको प्रतिक्रिया दिएका छन् । 

सम्भवतः त्यही आत्मविश्वासले शनिबार उपाधि भिडन्तमा नेपाली टोली सशक्त रूपमा मैदानमा उत्रनेछ । जारी प्रतियोगितामा पहिलो खेलबाटै सशक्त प्रदर्शन गर्दै आइरहेका कुशल भुर्तेल र आसिफ सेखको प्रारम्भिक जोडीबाट फाइनलमा पनि त्यहीअनुरूप खेलको अपेक्षा गरिएको छ । उनीहरूले राम्रो सुरुवात दिलाएको खेलमा नेपालले सहज जित भेट्टाएको छ । नेपालसँग कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, करण केसीजस्ता विस्फोटक ब्याटिङ गर्ने खेलाडी पनि छन् । बलिङतर्फ नेपालको प्रदर्शन कमजोर छैन । 

त्यसका बाबजुद नेदरल्यान्ड्सविरुद्धको खेल सहज भने पक्कै हुनेछैन । प्रतिद्वन्द्वीअनुसार नेपाललाई उपाधि निश्चित गर्न कडा मिहिनेत गर्नुपर्नेछ । नेपालले नेदरल्यान्ड्ससँग जारी प्रतियोगितामै दुईपटक प्रतिस्पर्धा गरेको छ । जसमध्ये पहिलो खेलमा नौ विकेटको सानदार जित हात पारेको नेपालले दोस्रो भेटमा भने तीन विकेटको पराजय बेहोर्‍यो । छोटो समयको तयारीमा शृंखला खेल्न नेपाल आएको नेदरल्यान्ड्सले प्रतियोगिताको दौरान आफ्नो खेलमा सुधार ल्याएको छ ।

मैदानको वातावरण र अन्य ‘प्लेइङ कन्डिसन’सँग परिचित भइसकेको नेदरल्यान्ड्सले नेपालविरुद्ध फाइनलमा कडा चुनौती पेस गर्ने निश्चित छ । नेदरल्यान्ड्स अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालले अहिलेसम्म सबैभन्दा बढी प्रतिस्पर्धा गरेको टोली हो । नेपालले नेदरल्यान्ड्ससँग अहिलेसम्म आठ मान्यताप्राप्त अन्तर्राष्ट्रिय टी–२० खेल खेलेको छ । 

त्यसमा नेदरल्यान्ड्सले चार खेलमा जित हात पारेको छ भने नेपालले तीन खेलमा मात्रै जित हात पारेको छ । एक खेल वर्षाका कारण अनिर्णीत भएको छ । विगतको नतिजाभन्दा पनि जितका लागि वर्तमानको प्रदर्शनले निर्णायक भूमिका खेल्ने निश्चित छ । नेपाली टोलीले वर्तमानमा उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्ने विश्वास गरिएको छ ।