१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख १० शुक्रबार १४:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीमफेदी–कुलेखानी–सिस्नेरी सडक ४८ दिन बन्द हुने

Read Time : < 1 मिनेट
२०७८ बैशाख १० शुक्रबार १४:१४:००

हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत पर्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्ड ४८ दिन बन्द हुने भएको छ । १० वैशाखदेखि २५ जेठसम्म भीमफेदी–कुलेखानी र सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडकखण्ड मर्मत अघि बढाइएकाले ४८ दिन बन्द हुने यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले जनाएको छ । भीमफेदी–कुलेखानी खण्डमा स्ल्याब ढलान र सिस्नेरी–दक्षिणकाली–काठमाडौं खण्डमा कालोपत्रे गरिने भएकाले यातायात आवातजावत बन्द गरिएको निर्देशनालयका प्रमुख डा. सहदेव भण्डारीले जानकारी दिए ।

मदन भण्डारी राजमार्गअन्तर्गत रहेको सिस्नेरी सडकखण्डअन्तर्गत काठमाडौंको छैमलेबाट मकवानपुरको हेबीसम्म कालोपत्रे गरिने भएकाले यातायात आवातजावत पूर्ण रूपमा ठप्प हुने भण्डारीले बताए । उनका अनुसार यसअघि भीमफेदी–कुलेखानी–फाखेल सडकको ढल निर्माण र कालोपत्र गर्ने क्रममा फाखेल सडकखण्ड एक महिनासम्मका लागि आवतजावतमा रोक लगाइएको थियो ।

४८ दिनभित्र भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गतको १४ किलाेमिटर र सिस्नेरी–दक्षिणकाली–काठमाडौंअन्तर्गत पर्ने ४८ किलाेमिटर सडक पूर्ण रूपमा मर्मत भइसक्ने गरी काम गरिने निर्देशनालयका प्रमुख भण्डारीले बताए । भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशले भीमफेदीबाट चिसापानीगढी र हेबीसम्मको सडक विस्तार र कालोपत्र गर्न दुई चरणमा ३४ करोड रकम विनियोजन गरको छ । 

त्रिभुवन राजपथमा बढ्यो आवतजावत
हेटौँडा–काठमाडौं सडकखण्ड पूर्ण रूपमा सञ्चालन हुँदा न्यून सवारी आवतजावत हुने त्रिभुवन राजपथमा शुक्रबारबाटै सवारीसाधनको चाप बढेको छ । देशकै पुरानो सडकमार्ग त्रिभुवन राजपथमा शुक्रबार बिहानैबाट साना तथा ठूला सवारीसाधनको चाप बढेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार छोटो मार्ग बन्दपछि निजी कार, जिप र मोटरसाइकललाई मात्र कान्तिराजपथ हुँदै काठमाडौंतर्फ जाने रुटलाई अनुमति दिइएकाले त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेको हो ।