मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख १० शुक्रबार ०८:३३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मृत्यु भएका व्यक्तिको जग्गा अर्कैको नाममा पास : जग्गा हत्याउन वडाध्यक्षदेखि कर्मचारीसम्मको मिलेमतो

Read Time : > 2 मिनेट
२०७८ बैशाख १० शुक्रबार ०८:३३:००

भूमाफियाको समूहले झापामा नक्कली प्रमाण खडा गरेर मृत्यु भएका व्यक्तिलाई ज्युँदै रहेको भनी बिर्तामोडमा जग्गा हडपेको खुलेको हो । मृत्यु भइसकेका टुंगबहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को एक कट्ठा १३ दशमलव ७५ धुर जग्गा भूमाफियाले हत्याएका हुन् । प्रहरीले गिरोहका सदस्यलाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको हो । 

यस काममा वडाध्यक्षदेखि कर्मचारीसम्म संलग्न रहेको प्रहरीले जनाएको छ । बिर्तामोड– १ स्थित पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको एक कट्ठा जग्गा हडप्न निर्वाचित जनप्रतिनिधिदेखि सरकारी कर्मचारीसमेत संलग्न रहेको अनुसन्धानमा खुलेको छ । गिरोहले आश्रममा बस्ने वृद्धलाई नक्कली टुंगबहादुर बनाएर करोडौँ मूल्यको जग्गा हत्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गिरोहले कन्काई नगरपालिकास्थित कोटिहोममा बस्ने ७१ वर्षीय देवीप्रसाद पाण्डेलाई नक्कली टुंगबहादुर बनाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । 

टुंगबहादुरको मृत्यु ०७३ मै भइसकेको थियो । गिरोहले टुंगबहादुरको नक्कली नागरिकताको प्रतिलिपि बनाएर गत २१ माघमा बिर्तामोड– ४ की ३३ वर्षीय रञ्जु राईको नाममा जिल्ला मालपोत तथा भूमिसुधार कार्यालय झापाबाट जग्गा पास गराएको थियो । गिरोहले बस्नेतको नक्कली नागरिकतामा देवीप्रसादको फोटो टाँसेको प्रहरीले जनाएको छ । नक्कली नागरिकता शिवसताक्षी– ८ का भूपदेव कटुवालले बनाएको पाइएको छ । उनी नेपाल विद्युत् प्राधिकरण इलाम फिक्कल शाखाका कर्मचारी हुन् । 

गिरोहले जिल्ला अदालत काठमाडौंबाट २८ असोजमा बाह्रदशी– ३ घर भई बिर्तामोड बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेसनामा बनाएर जग्गा पास गरेको खुलेको छ । ‘कोटिहोमबाट ल्याएर देवीप्रसादलाई काठमाडौं लगेछन् । एयरपोर्टछेउको होटेलमा केही दिन राखे र अदालतमा लगे,’ डिएसपी थापा भन्छन्, ‘श्रीमान्का अगाडि सिरियस बिरामी बनाइयो । बोल्न पनि धेरै नसक्ने बनाइयो । त्यसरी वारेस बनाइएको रहेछ । देवीप्रसाद नाटक गर्न पनि माहिर रहेछन् ।’ 

ती वृद्धलाई पाँच लाख दिने प्रलोभन देखाएर जग्गा पास गराएको पाइएको उनले बताए । यसका लागि भोजपुर घर भई गौरीगन्ज बस्दै आएका बलराम विश्वकर्मा खटिएको प्रहरीले जनाएको छ । ‘पूर्वकर्मचारी र मालपोत कार्यमा आवतजावत गरिरहने जग्ग कारोबारमा संलग्न व्यक्तिहरूले यो योजना तीन वर्षअघि नै बनाएको अनुसन्धानका क्रममा पायौँ,’ डिएसपी थापाले भने, ‘पटकपटक बिर्तामोडमा भेला र बैठक गरेर रञ्जु राईको नाममा जग्गा ल्याउन सफल भएको अनुसन्धानमा पायौँ ।’ 

गिरोहका दश पक्राउ, वडाध्यक्षसहित ६ फरार
मृत्यु भइसकेका व्यक्तिको नाममा रहेको जग्गा अर्कैको नाममा पार्ने योजनामा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह–७ का वडाध्यक्ष बलराम खरेलसहित ६ जना फरार रहेका छन् । टुंगबहादुरका छोरा जितेन्द्र बस्नेतको जाहेरीका आधारमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान अघि बढाएको थियो । पक्राउ पर्नेमा पूर्वकर्मचारीदेखि भूमाफियासम्म छन् । 

अनुसन्धानका आधारमा प्रहरीले बाह्रदशी– ३ घर भई बिर्तामोड बस्ने मंगलसिंह राजवंशी, नापी कार्यालयका पूर्वकर्मचारी भद्रपुर– ७ का नवीन कोइराला, बाह्रदशी– ५ का लीलाधर राजवंशी, भोजपुर घर भई गौरीगन्ज बस्ने बलराम विश्वकर्मा, शिवसताक्षी– ८ घर भई नेपाल विद्युत् प्राधिकरण फिक्कलमा कार्यरत भूपदेव कटुवाल, अर्जुनधारा– ५ का लेखनाथ खनाल, बिर्तामोड– ४ का गोविन्द बान्तवा, बिर्तामोड– १० घर भई कोटिहोममा बस्ने देवीप्रसाद पाण्डे (नक्कली टुंगबहादुर बस्नेत), बिर्तामोड– ४ की रञ्जु राई (गोविन्द बान्तवाकी श्रीमती) र मोरङ उर्लाबारी– ४ का राजन विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार बलराम हुन् भने मालपोत कार्यालयका पूर्वकर्मचारी कोइरालाले उनलाई पूर्ण सहयोग गरेका थिए । पक्राउ परेकालाई ठगी, सरकारी छाप किर्ते, आपराधिक लाभ तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी थापाले जानकारी दिए । 

थापाका अनुसार गौरादह नगरपालिका– ७ का वडाध्यक्ष बलराम खरेलसहित ६ जना अझै फरार छन् । वडाध्यक्ष खरेलले किर्ते कागज बनाउन सहयोग गरेको थापाले बताए । ‘बलराम खरेलले बिर्तामोड नगरपालिकाबाट नबनेको मालपोत तिरेको रसिदलगायत कागजात बनाउन किर्ते गरेको पाइयो,’ उनले भने, ‘त्यस्तै उनले अधिकृत वारेस लिन गिरोहसँगै काठमाडौं गएर जिल्ला अदालत काठमाडौंमा समन्वयात्मक भूमिका खेलेको पाइयो ।’

घटनामा संलग्न भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अधिकृत चेतन अधिकारी, कार्यालयका तत्कालीन नायब सुब्बा हरि तिवारी, नक्कली वारेस दिलाउनेमा साक्षी बसेका ओखलढुंगाका वेदप्रसाद केइराला, खोटाङ घर भई काठमाडौं बस्ने देवबहादुर विष्ट र भद्रपुर– ७ का प्रकाश कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।