मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १५ बुधबार
  • Wednesday, 28 April, 2021
कृष्ण रिजाल कामाडौं
२०७८ बैशाख १० शुक्रबार ०८:२८:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

डेढ वर्षदेखि चिनियाँ नाकाबाट हुने निर्यात ठप्प, १३ अर्बको आयात हुँदा निर्यात शून्य

Read Time : > 3 मिनेट
२०७८ बैशाख १० शुक्रबार ०८:२८:००

निर्यात खोलिदिन नेपालले गरेको पटक–पटकको आग्रहलाई छिमेकी चीनले सुनेन

चालू आर्थिक वर्षको ९ महिनामा नेपालले चिनियाँ नाका रसुवा र तातोपानी हुँदै १२ अर्ब ९७ करोड ४८ लाख रुपैयाँबराबरका वस्तु आयात गरेको छ । तर, यो अवधिमा चिनियाँ नाका हुँदै चीन र विश्व बजारमा नेपालले एक रुपैयाँको पनि निर्यात गर्न सकेको छैन ।

चीनले कोभिड–१९ को जोखिम देखाउँदै नेपालको निर्यात रोकेको डेढ वर्ष बितिसक्यो । नेपाल सरकार तथा व्यवसायीले पटक–पटक आग्रह गर्दासमेत चीनले नेपाली वस्तुलाई पहुँच दिएको छैन । चीनले पहुँच नदिँदा डेढ वर्षयता रसुवा र तातोपानी नाकाबाट चीन र विश्व बजारमा हुने नेपालको निर्यात ठप्प भएको छ । 

करिब डेढ वर्षअघि चीनमा कोभिड–१९ देखिएदेखि नै उत्तरी नाकाबाट हुने नेपालको व्यापार प्रभावित भएको छ । त्यसयता आयात आंशिक रूपमा भए पनि निर्यात भने ठप्प नै छ । भन्सार विभागका अनुसार तातोपानी नाकाबाट कात्तिक ०७६ देखि र रसुवा नाकाबाट माघ ०७६ देखि निर्यात भएको छैन । आर्थिक वर्ष ०७६/७७ को माघसम्ममा रसुवा नाका हुँदै नेपालले ५८ करोड २३ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । त्यस्तै, आर्थिक वर्ष ०७६/७७ को कात्तिकसम्ममा तातोपानी नाकाबाट नेपालले १३ करोड ७६ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । त्यसयता रसुवा र तातोपानी नाकाबाट निर्यात ठप्प रहेको विभागको तथ्यांक छ । पछिल्ला डेढ वर्षयता नेपाली वस्तुले निर्यातका लागि चिनियाँ मार्ग उपयोग गर्न पाएका छैनन् । 

आर्थिक गतिविधि बढ्दै जाँदा चिनियाँ नाकाबाट हुने निर्यातसमेत खुल्ने व्यवसायीहरूले अपेक्षा गरेका थिए । तर, आयात केही सहज भए पनि निर्यात खुल्न नसकेको नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले बताए । ‘कोभिडको जोखिमकै कारण चिनियाँ नाकाबाट हुने व्यापार प्रभावित भएको हो, अहिले आयात धेरै सहज भइसकेको छ, तर निर्यात भने अझै खुल्न सकेको छैन,’ उनले भने, ‘हामीले नेपाल सरकार, चिनियाँ सरकारका प्रतिनिधिहरू तथा चिनियाँ व्यवसायीलाई समेत निर्यात खोल्ने सहजीकरण गरिदिन आग्रह गर्दै आएका छौँ ।’ चीनले नेपाली वस्तुलाई निसंक्रमण गर्ने तथा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएर निर्यात खुलाउने जवाफ दिँदै आएको उनले जानकारी दिए । यसअघि संघले गत २० कात्तिक ०७७ मा विज्ञप्ति जारी गर्दै तातोपानी र केरुङ नाका लामो समयदेखि आंशिक रूपमा सुचारु हुने र रोकिने अवस्थाबाट गुज्रिरहँदा व्यवसायीहरू नराम्ररी प्रभावित हुनुका साथै दुई देशबीचको सम्बन्धमै टीकाटिप्पणी हुन थालेको औँल्याएको थियो ।

नेपालको आग्रहलाई चीनले मानेन
नेपालले निर्यात सहजीकरणका लागि चिनियाँ पक्षलाई पटक–पटक आग्रह गर्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए । तर, आग्रहलाई चीनले नमानेको उनले बताए । ‘हामीले उत्तरी नाकाबाट हुने निर्यात खुलाउन तीन–चारपटक औचपारिक पत्राचार नै गरिसकेका छौँ, तर हरेकपटक कोभिडको जोखिम कम भएपछि मात्रै निर्यात खुल्ने जवाफ आउने गरेको छ,’ उनले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर निर्यात खोल्न नेपालले गरेको आग्रहलाई चीनले मानेको देखिँदैन ।’ चीनले लिएको ‘जिरो कोभिड पोलिसी’का कारण नेपालको निर्यातलाई पहुँच नदिएको उनले बताए । यद्यपि, परराष्ट्र मन्त्रालयमार्फत समेत निर्यात खुलाउन कूटनीतिक पहल भइरहेको उनले जानकारी दिए । 

उद्योगमन्त्रीको अभिव्यक्तिपछि पनि अवस्था उस्तै
यसअघि गत ६ माघमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनसँगको व्यापारमा पुनर्विचार गर्नुपर्ने बताएका थिए । चीनले एक वर्षदेखि स्थलमार्गबाट हुने व्यापार रोकेको भन्दै उनले ‘चीनसँग व्यापार नै गर्ने कि नगर्ने’ भनेर पुनर्विचार गर्नुपर्ने बताएका थिए । नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टले चीनले व्यापारमा देखाएको व्यवहारप्रति असन्तुष्टि देखाएका थिए । ‘चीनले कोभिड र विभिन्न बहानामा एक वर्षदेखि व्यापार रोक्दा त्यसको मार जनतासम्म नै पुगेको छ,’ उनले भनेका थिए, ‘हाम्रो पडौसीको व्यवहारले असहज र अप्ठ्यारो भएको छ,  अप्ठ्यारो अवस्थामा पनि जिम्मेवार देखिएनन् ।’ अहिले ‘चीनसँग व्यापार गर्ने कि नगर्ने ?’ भनेर पुनर्विचार गर्नुपर्ने अवस्था आएको उनले बताए । उद्योगमन्त्रीको उक्त अभिव्यक्तिपछि चीनले निर्यात सहजीकरण गरिदिने अपेक्षा गरिएको थियो । तर, त्यसो हुन नसकेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

पारवहन सन्धि भयो, उपयोग हुन सकेन
नेपालले चीनसँग व्यापार तथा पारवहन सन्धि गरेको पाँच वर्ष बितिसकेको छ । तर, त्यसको उपयोग भने हुन सकेको छैन । वैशाख ०७६ मा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर भएपछि नेपालले थप नाका र बन्दरगाहको उपयोग गर्न सक्ने सुविधा पायो । तर, पारवहन सन्धिले दिएको सुविधा त परको कुरा, प्रयोग भइरहेका नाकाबाट समेत नेपालले निर्यात गर्न सकेको छैन । पारवहन सम्झौतापछि नेपालले समुद्रसँगको पहुँचका लागि भारतीय मार्गको विकल्पका रूपमा चिनियाँ मार्गलाई पाएको थियो । तर, पारवहन सम्झौताविपरीत चीनले नेपालको निर्यात रोकिरहेको सरोकारवाला बताउँछन् । 

चीनसँग १ खर्ब ६३ अर्बको व्यापार घाटा 
चालू आर्थिक वर्षको ९ महिना (चैत मसान्त)सम्ममा नेपालले चीनसँगको व्यापारमा १ खर्ब ६३ अर्ब ३३ करोड रुपैयाँबराबरको घाटा व्यहोरेको छ । यस अवधिमा नेपालले चीनबाट १ खर्ब ६४ अर्ब १३ करोड रुपैयाँबराबरका सामग्री आयात गरेको छ । तर, निर्यात भने ७९ करोड ६४ लाख रुपैयाँबराबरको मात्रै गर्न सकेको छ । नेपालले हवाईमार्ग र भारत हुँदै सामुद्रिक मार्गबाट मात्रै निर्यात गर्न पाएको छ । गत आर्थिक वर्षको तुलनामा चीनसँगको व्यापार घाटा १० अर्ब १२ करोडले बढेको छ । गत आर्थिक वर्ष ०७६/७७ मा ९ महिनामा नेपालले चीनबाट कुल १ खर्ब ५४ अर्ब ३० करोड रुपैयाँबराबरको सामग्री आयात गर्दा १ अर्ब ९ करोड रुपैयाँबराबरको निर्यात गरेको थियो, जसमा नेपाललाई १ खर्ब ५३ अर्ब २१ करोड रुपैयाँ घाटा भएको थियो ।

चैत मसान्तसम्ममा रसुवा नाका हुँदै नेपालमा ९ अर्ब १९ करोड रुपैयाँबराबरको सामग्री भित्रिएको छ । त्यस्तै, तातोपानी नाका हुँदै ३ अर्ब ७८ करोड ७६ लाख रुपैयाँबराबरको सामग्री भित्रिएको छ । गत आर्थिक वर्षमा नेपालले रसुवा नाकाबाट २६ अर्ब ४६ करोड रुपैयाँबराबरको वस्तु र तातोपानी नाकाबाट ९ अर्ब ५३ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको थियो ।