१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी लन्डन
२०७८ बैशाख १० शुक्रबार ०८:१२:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

पोल्यान्ड र मेक्सिकोमा नक्कली भ्याक्सिन

Read Time : > 1 मिनेट
एजेन्सी लन्डन
२०७८ बैशाख १० शुक्रबार ०८:१२:००

पोल्यान्ड र मेक्सिकोमा फाइजर कम्पनीकै नाममा नक्कली खोप (भ्याक्सिन) कार्यक्रम सञ्चालन भइरहेको फाइजर एन्ड बायोटेक कम्पनीले दाबी गरेको छ । फाइजर कम्पनीले नै गरेको परीक्षणमा मेक्सिको र पोल्यान्डमा पाइएको खोप नक्कली रहेको खुलासा भएको हो । मेक्सिकोमा नक्कली लेबल राखेको र पोल्यान्डमा एन्टिरिंकल खोप प्रयोग भएको फाइजरले जनाएको छ । 

विश्व स्वास्थ्य संठगन (डब्लुएचओ)ले नक्कली खोप प्रयोग गर्ने देशहरूलाई चेतावनी दिएको छ । जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्ने कार्य भएकाले यसलाई तत्कालै रोक्नुपर्ने डब्लुएचओले जनाएको छ । ‘यस्तो किसिमको भ्याक्सिनले सर्वसाधारणलाई मात्र नभएर विश्वकै स्वास्थ्यमा गम्भीर असर गर्छ,’ डब्लुएचओले भन्यो । मेक्सिको, पोल्यान्डबाहेक अन्य देशमा पनि नक्कली खोप कार्यक्रम सञ्चालन भइरहेको भए त्यस्ता देशबाट तत्कालै खोप लिएका व्यक्तिहरूको रगत परीक्षण गर्नुपर्ने डब्लुएचओले सुझाब दिएको छ ।

‘हामीले तत्कालै नक्कली खोप पत्ता लगाउनुपर्छ, साथै खोप लिएका व्यक्तिको रगत परीक्षणसमेत हुनुपर्छ,’ डब्लुएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पोल्यान्डका स्वास्थ्यमन्त्रीले बुधबार व्यावहारिक रूपमै नक्कली खोप वितरण नभएको दाबी गरेका छन् । ‘पोल्यान्डमा नक्कली खोप भन्ने कुरा छ, यसमा सत्यता छैन, यस्तो अवस्था सिर्जनासमेत हुनेछैन,’ पोल्यान्डका स्वास्थ्यमन्त्रीले भने । 

मेक्सिकोमा ८० जनाले एउटा क्लिनिकमा नक्कली खोप लगाएको बिबिसीले जनाएको छ । यस किसिमको खोपले शरीरमा धेरै हानि पु¥याउने मात्र नभएर कोरोना भाइरसविरुद्ध प्रभावकारी नहुने वेल्स स्ट्रिट जनरलमा उल्लेख छ । मेक्सिको सरकारका प्रवक्ता होगो लोपेज गटेलका अनुसार साइबर प्रहरीको अनुसन्धानमा मात्र मेक्सिकोमा फाइजर कम्पनीको नाममा नक्कली खोप कार्यक्रम सञ्चालन भइरहेको पत्ता लागेको हो । 

नक्कली खोपको पर्दाफास भएपछि ती समूहले अनुसन्धानमा संलग्न अधिकृतहरूलाई २५ सय डलर घुस दिने प्रयास भएको थियो । यसक्रममा प्रहरीले केही व्यक्ति पक्राउ गरेको प्रवक्ता होगोले बताएका छन् । फाइजर कम्पनीका ग्लोबल हेड लेभ कुबिएकले विश्वव्यापी रूपमा फाइजरको माग बढेकाले नै यसको नक्कली खोप उत्पादन गर्नेहरू सक्रिय भएको बताए । 

‘हामीसँग खोप बनाउने धेरै कम समय छ, छोटो समयमै मागभन्दा बढी खोप उत्पादन गर्नुपर्ने बाध्यता छ,’ लेभले भने, ‘यही समयमै अन्य कम्पनीले खोप उत्पादन गर्न मौका पाएका छन्, यस्तो महामारीको समयमा नै मेडिकल अपराध गर्ने समूह सक्रिय हुने गर्छन् ।’ अमेरिकाको न्याय विभागले मेक्सिको र पोल्यान्डमा नक्कली खोप पत्ता लगाउनु ठूलो सफलता मानेको छ । 

यसअघि मार्चमै बिबिसीले कोभिड–१९ विरुद्धको भ्याक्सिनसम्बन्धी र परीक्षणमा भएका अनुसन्धानात्मक कागज बिक्री भइरहेको खुलासा गरेको थियो । यद्यपि, त्यसवेला कम्पनीहरूले यसलाई त्यति गम्भीरतापूर्वक लिन मानेका थिएनन् ।