१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
ललितपुरको कुमारीपाटी सडकको बीचमा चुहावट भएको मेलम्चीको पानी । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडौं
२०७८ बैशाख १० शुक्रबार ०७:१४:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्चीको पानी : उपत्यकाको साढे तीन सय ठाउँमा चुहावट 

Read Time : > 3 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७८ बैशाख १० शुक्रबार ०७:१४:००

पानी चुहावटका कारण बिग्रिएका सडक मर्मत गर्न मासिक एक करोड लाग्ने

सोमबारदेखि काठमाडौं उपत्यकामा मेलम्चीको १७ करोड लिटर पानी वितरण हुन थालेको छ । पूर्ण क्षमतामा पानी वितरण हुन थालेसँगै विभिन्न ठाउँमा पानी चुहावट हुने क्रम पनि बढेको छ । हालसम्म उपत्यकाका साढे तीन सयभन्दा धेरै ठाउँमा पानी चुहावट भएको छ । करिब दुई सय ठाउँमा मर्मतको कामसमेत भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ । 

प्रकाशकुमार राई : प्रवक्ता, काठमाडौं उपत्यका खानेपानी लिमिटेड

हाम्रो पुरानो वितरण प्रणालीमा पानी पनि थपियो । पानी थपिएसँग भोलुम बढ्यो । पाइपमा पनि प्रेसर बढ्यो । यी कारणले गर्दा लिक त भइहाल्छ । देखिएको ठाउँमा दैनिक रूपमै मर्मत गर्छाैं । दिउँसो सहरी आवागमनमा अवरोध गर्ने गरी मर्मत गर्न मिल्दैन । प्रायः मर्मतको काम राति गरिरहेका छौँ ।

‘हामीले पुरानै नेटवर्कबाट पानी वितरण गरिरहेका छौँ । यसले गर्दा कतिपय पाइप जीर्ण भएको अवस्था छ । कतिमा पहिले हाउस कनेक्सन भएकामा पनि पानी नआएकाले डिस्कनेक्ट भएको, ग्राहकले पनि जोड्ने तदारुकता नदेखाएका कारण पानी लिकेज भएको छ,’ केयुकेएल प्रवक्ता प्रकाशकुमार राईका भने, ‘धेरैजसो लिकेज हाउस कनेक्सनमा देखिएको छ । जुन पहिलादेखि नै छुटेको छुट्यै भयो । जसकारण लिकेज देखियो ।

ती सबैको मर्मत गर्ने काम तदारुकताका साथ गरिरहेका छौँ ।’ केयुकेएलका अनुसार हाल साढे तीन सयभन्दा धेरै ठाउँमा लिकेज भएकोमा करिब दुई सय स्थानमा मर्मत भइसकेको छ । 

पानी वितरणका क्रममा लिकेज हुने र मर्मत कार्यलाई निरन्तरताको प्रक्रियाको रूपमा हेर्नुपर्ने भन्दै प्रवक्ता राईले सडक विभागसँग अनुमति लिएर मर्मतको काम पनि जारी राखेको जानकारी दिए । ‘अहिले समस्या बढ्नु स्वाभाविक पनि हो । हाम्रो पुरानो वितरण प्रणालीमा पानी पनि थपियो । पानी थपिएसँग भोलुम बढ्यो । पाइपमा पनि प्रेसर बढ्यो । यी कारणले गर्दा लिक त भइहाल्छ,’ उनले भने, ‘देखिएको ठाउँमा दैनिक रूपमै मर्मत गर्छाैं । दिउँसो सहरी आवागमनमा अवरोध गर्ने गरी मर्मत गर्न मिल्दैन । प्रायः मर्मतको काम राति गरिरहेका छौँ ।’ 

राईका अनुसार लिकेजको समस्या आउनेबित्तिकै सडक विभागसँगको समन्वयमा काम भइरहेको छ । ‘नगरपालिकाअन्तर्गतका सडकमा वडा कार्यालयसँग समन्वय गरेका छौँ । कतिपय अवस्थामा इजाजत लिन समय लाग्छ । कार्यविधिका कारण सडक विभागसँग अनुमति लिन  ढिला हुन्छ । देखिएको ठाउँमा दैनिक रूपमै मर्मत गर्छौं,’ उनले भने ।

सडक मर्मतमा समन्वय अभाव
मेलम्चीको पानी लिकेज हुन थालेसँगै सडक विभागसँग मिलेर मर्मतको काम गर्न थालेको केयुकेएलको दाबीलाई सडक डिभिजन कार्यालय काठमाडौंले अस्वीकार गरेको छ । डिभिजन प्रमुख कुवेर नेपालीले व्यवस्थापकीय पाटोमा समन्वय भइरहे पनि व्यवहारमा लागू नभएको आरोप लगाए । ‘थापागाउँदेखि सिंहदरबार जाने खण्डमा हेर्ने हो भने चार–पाँच ठाउँमा ठुल्ठूला खाल्डा खनिएको छ । त्यो आपत्कालीन थियो भनेर हामी मर्मत गर्न गयौँ । स्थानीयले बनाइसकेको छैन, मर्मत नगर्नुस् भन्छन् । नौ दिन भइसक्यो । सम्बन्धित कार्यालयलाई कति बनाइसक्नुभयो, कहिले बनिसक्छ भन्दा त्यसको जवाफ आउँदैन,’ उनले भने, ‘सडक खन्न दिनु, लिकेज मर्मत गर्न दिनु बाटो बिगार्नु मात्र भयो । त्यो समाधान भएन भन्ने हाम्रो कुरा हो । औपचारिक, अनौपचारिक, व्यक्तिगत समन्वय भइरहेको छ । काममा त्यस्तो हुन सकेन ।’ 

कुवेर नेपाली : प्रमुख, सडक डिभिजन कार्यालय काठमाडौं

नियमित मर्मतसम्भारमा हाम्रो जति बजेट, कार्यक्रम, क्षमता छ, त्योभन्दा धेरै नयाँ लिकेज भएको छ । हाम्रो स्रोतसाधनले भ्याउँदैन । तुरुन्तै मर्मत गर्न सक्ने उहाँहरूको क्षमता पनि बढ्नुपर्‍यो । हामीलाई पनि सरकारले मर्मत गर्न, गराउन सक्ने अवस्थामा स्रोतसाधनको व्यवस्था गरिदिनुपर्‍यो ।
 

नेपालीका अनुसार केयुकेएललाई ५० ठाउँमा मात्र सडक खन्न अनुमति दिइएको छ । ‘हामीले ५० ठाउँमा सडक खन्न अनुमति दिएका छौँ । त्यसको पनि रिपोर्टिङ आएको छैन,’ उनले भने, ‘हामीले देखिरहेका छौँ । अनुमति नै नमागीकन उहाँहरूले वा उहाँहरूको नाममा अरूले पनि सडक खनेको अवस्था छ । यही मौकामा सडक जतासुकै खनिएको देखिएको छ ।’ सडक विभागले ५० मिटरको सडकमा तीन–चार ठाउँमा लिकेज भइरहेको जनाएको छ । उसले प्रत्येक सडकखण्डमा तीन–चार ठाउँमा लिकेज भएमा सडक निकै बिग्रने जनाएको छ । ‘पानी बगेर चुहावट हुनु एउटा कुरा हो, त्यसले तत्कालै सडकलाई क्षति गर्दैन । दीर्घकालमा मात्र गर्छ भनेर हामीले त्यसलाई टाल्ने हो । हामी खन्छौँ र लिकेज पनि टाल्दैनौँ भने सडक बनाउने अवस्था पनि रहेन,’ नेपालीले भने ।

पुरानो पाइपलाइनबाट कहिलेसम्म पानी वितरण गर्ने भन्ने समस्या
सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार मेलम्चीको पानी लिकेज भएर बिग्रिएको सडक निर्माणका लागि मासिक एक करोड रुपैयाँ आवश्यकता पर्छ । तर, आवश्यकताअनुसारको स्रोत भने कार्यालयसँग नभएको कार्यालय प्रमुख नेपालीले बताए । ‘नियमित मर्मतसम्भारमा हाम्रो जति बजेट, कार्यक्रम, क्षमता छ, त्योभन्दा धेरै नयाँ लिकेज भएको छ । हाम्रो स्रोतसाधनले भ्याउँदैन,’ नेपालीले भने, ‘तुरुन्तै मर्मत गर्न सक्ने उहाँहरूको क्षमता पनि बढ्नुपर्‍यो । हामीलाई पनि सरकारले मर्मत गर्न, गराउन सक्ने अवस्थामा स्रोतसाधनको व्यवस्था गरिदिनुपर्‍यो ।’ 

नयाँ पाइपलाइनबाट पानी वितरण कार्य छिटो गर्नुपर्ने भन्दै उनले स्रोतसाधनको पनि व्यवस्था हुनुपर्ने बताए । ‘पुरानो पाइपलाइनबाट कहिलेसम्म पानी वितरण गर्ने, छिटो निक्र्योल गर्नुपर्‍यो । महिनामा तीन सय जति लिकेज आउन सक्छ भन्ने छ । प्रत्येक महिनाको तीन सयवटा लिकेजको खाल्डा हामी कहिलेसम्म टाल्दै जाने ? त्यसका लागि स्रोतसाधनको व्यवस्था खोइ ?’ उनले प्रतिप्रश्न गरे, ‘हामीले ठेक्का लागिसकेको मर्मतसम्भारको काम गर्दा पनि उहाँहरूलाई बोलाएर लिकेज भए नभएको सोधिरहेका छौँ । मेलम्चीको कारण नै आएको छ भने पनि तुरुन्त बनाउन भनेका छौँ । तर, उहाँहरूको तर्फबाट भने त्यस्तो हुन सकेको छैन ।’ 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयले छलफल गरेर बनाएकोे कार्यदलले प्रतिवेदन दिए पनि पनि हालसम्म कुनै स्पष्ट निर्देशन, बजेट, कुन तरिकाले काम गर्ने भन्ने टुंगो नभएको कार्यालयले जनाएको छ । 

भक्तपुरको बोडेबाट मेलम्चीको पानी वितरण
मेलम्ची खोलाबाट आएको १७ करोड लिटर पानीमध्ये बुधबारदेखि भक्तपुरको बोडेबाट पनि वितरण सुरु भएको छ । ‘बुधबारबाट भक्तपुरको बोडेबाट पनि पानी वितरण सुरु भएको छ । हाम्रो योजनाअनुसार केही दिनमा कीर्तिपुरको पानी ट्यांकीबाट पनि पानी वितरण गर्छौं,’ केयुकेलएका प्रवक्ता राईले भने । खुमलटार, मीनभवन, अनामनगर, बाँसबारी, महाँकाल चौर, महाराजगन्ज, बालाजुको पानीपोखरीबाट पानी वितरण भइसकेको छ । कीर्तिपुर र बोडेसमेत गरेर एक लाख ७३ हजार ६ सय धारामा केयुकेएलले पानी पु¥याउनेछ । जसमध्ये हाल एक लाख ५९ हजार धारामा पानी वितरण भइरहेको छ । ललितपुरको खुमलटारबाट २५ हजार, भक्तपुरबाट ११ हजार चार सय १८ र काठमाडौंबाट एक लाख ३७ हजार धाराबाट पानी वितरण हुनेछ । 

यी हुन् चुहावट  भएका ठाउँ

मेलम्ची पानी वितरण हुन थालेसँगै एउटै सडकका पाँच–सात ठाउँमा चुहावट भएको देखिएको छ । लाजिम्पाट, लैनचौर, रत्नपार्क, अनामनगर, बानेश्वर, थापागाउँ, सिंहदरबार, सातदोबाटो, लगनखेल, कुमारीपाटी सडकखण्डका ठाउँठाउँमा चुहावट भएको देखिएको छ । पानी लिकेज हुँदा सडकको सुन्दरतासमेत बिग्रिएको छ ।