मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मलेसियामाथि विजयी हालिस गरेपछि खुसी मनाउँदै नेपाली टोली । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२०७८ बैशाख १० शुक्रबार ०६:३०:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

करणको विस्फोटक ब्याटिङमा नेपालको प्रभावशाली जित 

Read Time : > 3 मिनेट
२०७८ बैशाख १० शुक्रबार ०६:३०:००

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको अहिलेसम्मकै दोस्रो ठूलो (२१७ रन) योगफल, यसअघि सन् २०१९ को १३औँ दक्षिण एसियाली खेलकुदमा भुटानविरुद्ध नेपालले २३६ रन बनाएको थियो 

यसअघि नै फाइनलमा पुगिसकेको नेपालले त्रिदेशीय टी–२० शृंखलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध ६९ रनको प्रभावशाली जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले करण केसीको विस्फोटक ब्याटिङको मद्दतमा निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय सत्र रनको योगफल तय गरेको थियो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कुनै पनि टोलीविरुद्ध तय गरेको यो अहिलेसम्मकै दोस्रो ठूलो योगफल हो । त्यही योगफल रक्षा गर्ने क्रममा मलेसियालाई १९.१ ओभरमा एक सय ४८ रनमै रोक्दै नेपालले जित निश्चित गरेको हो । यसअघि सन् २०१९ को १३औँ दक्षिण एसियाली खेलकुदमा भुटनाविरुद्ध नेपालले सर्वाधिक २३६ रन बनाएको थियो ।

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आजको जितले फाइनल खेलअघि खेलाडीहरूलाई उत्साहित तुल्याउने जनाएका छन् । ‘नेदरल्यान्ड्सविरुद्ध पछिल्लो खेलमा ‘क्लोज कम्पिटिसन’ भएको थियो । त्यसैले जितका लागि कसरी खेल्ने भन्ने चुनौती थियो,’ जितपछि कप्तान ज्ञानेन्द्रले भने, ‘खेल राम्रो भयो, फाइनल खेलअघि प्राप्त यो जितले पक्कै पनि खेलाडीहरूलाई उत्साहित बनाएको छ ।’

नेपालले त्रिदेशीय शृंखलाको उपाधिका लागि शनिबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । नेदरल्यान्ड्स र मलेसियाले बुधबार बराबरी खेलेसँगै नेपाल र नेदरल्यान्ड्स फाइनलमा भिड्ने निश्चित भएको थियो । यो जितसँगै नेपालले अंक तालिकाको शीर्ष स्थानमा रहेर लिग चरणको खेलको अन्त्य गरेको छ । नेपालले चार खेलबाट तीन जितसँगै ६ अंक बनाएको छ । दोहोरो राउन्ड रोविन प्रणालीअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा नेपाल पराजित भएको थियो । दुई जित र एक बराबरीसँगै पाँच अंक जोडेको नेदरल्यान्ड्स दोस्रो र एक बराबरीबाट एक अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ । 

कुशल र करणको कीर्तिमानको अवसर गुम्यो
नेपालले मलेसियाविरुद्ध ठूलो अन्तरको जित निश्चित गर्नुअघि करण केसीले १३ बलमै ४५ रनको विस्फोटक ब्याटिङ गरेका थिए । उनले आफ्नो यो आकर्षक इनिङ्समा सात छक्का प्रहार गरे । उनले १८औँं ओभरमा चार छक्काको मद्दतले एकै ओभरमा २५ रन लिएका थिए । 

यही खेलमा उनी एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय कीर्तिमानको निक्कै नजिक पुगेर रोकिए । उनले १२औँ बलको सामना गर्दा एउटा मात्रै बढी छक्का प्रहार गरेको भए अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमानमा भारतीय खेलाडी युवराज सिंहसँगै आफ्नो नाम लेखाउने थिए । युवराजको नाममा १२ बलमा अर्धशतक पूरा गरेको कीर्तिमान छ । 

करणले कीर्तिमानको अवसरभन्दा पनि टोलीको जितमा खुसी व्यक्त गरे । ‘टिममा मेरो जिम्मेवारी नै यसै गरी खेल्नुपर्नेछ । कीर्तिमानको अवसर फेरि पनि पाइएला । जति वेलासम्म खेल्छु त्यस्तो अवसर फेरि आउन सक्छ,’ करणले भने, ‘आफ्नो कीर्तिमानभन्दा पनि टोलीको जितमा योगदान पुर्‍याउनु महत्वपूर्ण हो ।’

करणले भन्दाअघि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले पनि यस्तै महत्वपूर्ण कीर्तिमानको अवसर गुमाएका थिए । कुशल न्युजिल्यान्ड्सका ब्रेन्डन म्याककुलम र वेस्ट इन्डिजका खेलाडी क्रिस गेलले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको लगातार चार इनिङ्समा अर्धशतक प्रहार गरी कायम गरेको कीर्तिमान पछ्याइरहेका थिए । अघिल्लो तीन इनिङ्समा लगातार अर्धशतक प्रहार गरेका कुशलले मलेसियाविरुद्ध पनि त्यो सफलता दोहो¥याउन सकेको भए यो कीर्तिमानमा म्याककुलम र गेलसँगै उनको नाम जोडिने थियो । यद्यपि, उनले मलेसियाविरुद्ध १२ बलमा १६ रन मात्रै जोडे । उनी पाँचौँ ओभरको पहिलो बलमा फस्ट स्लिपमा क्याच आउट हुन पुगे । 

त्यसपछि मैदानमा अर्का प्रारम्भिक ब्याट्सम्यान आसिफ सेख र कप्तान ज्ञानेन्द्र मल्लको जोडी जमेपछि नेपालको इनिङ्स अघि बढेको थियो । आसिफले ४२ र ज्ञानेन्द्रले ४१ रनको योगदान दिए । यी दुई खेलाडीले दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । आसिफले ३२ बलमा समान तीन–तीन छक्का र चौका प्रहार गरे । २५ बल खेलेका ज्ञानेन्द्रले चार छक्का र एक चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र आउट भएपछि ब्याटिङका लागि आएका उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि १७ बलमै ३३ रन जोडे । कुशल मल्ल १० बलमा १९ रन जोड्दै अविजित रहे । दीपेन्द्रले एक छक्का र पाँच चौका प्रहार गरे भने कुशलले दुई छक्का प्रहार गरे । करण र कुशलले छैटौँ विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए ।

डेब्यु खेलमा कमलको तीन विकेट 
जवाफी ब्याटिङमा आएको मलेसियाविरुद्ध नेपाली बलरहरू सुरुवातबाटै हाबी भए । सोमपाल कामीले सुरुवाती दुई ओभरमा दुई विकेट लिए । उनले पहिलो ओभरमै मलेसियाका प्रारम्भिक ब्याट्सम्यान शेद अजिज (४) लाई आउट गराए । त्यसपछि तेस्रो ओभरको तेस्रो बलमा अर्का प्रारम्भिक ब्याट्सम्यान अन्वार अरुदिन (६) लाई पभेलियनतर्फको बाटो देखाए । सोमपालले दुई विकेट लिँदा बोर्डमा मलेसियाले १५ रन मात्रै पुर्‍याएको थियो । 

एकपछि अर्काे नेपाली बलरले कसिलो बलिङ गरेपछि मलेसियाका लागि कुनै पनि खेलाडीले ठूलो इनिङ्स खेल्न सकेनन् । मलेसियाका लागि अमिनुदिन राम्लीले ४१ र कप्तान अहमेद फइजले ३१ रन जोड्नबाहेक अन्य खेलाडीले योभन्दा गतिलो प्रदर्शन गर्न सकेनन् । अमिनुदिनलाई सन्दीप लामिछाने र कप्तान अहमेदलाई शुसन भारीले आउट गराए । 

सिनियर खेलाडीसँगै यसै खेलबाट अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा डेब्यु गरेका कमल सिंह ऐरीले पनि तीन विकेट लिए । उनले ३.१ ओभरमा १६ रन खर्चिए । दुई प्रारम्भिक ब्याट्सम्यानसहित तीन विकेट लिएका सोमपाल म्यान अफ दी म्याच चुनिए ।

सन्दीपको १००औँ टी–२० खेल
नेपाली टोलीका स्टार बलर सन्दीप लामिछानेले मलेसियाविरुद्धको यसै खेलमार्पmत १००औँ टी–२० खेल पूरा गरेका छन् । उनी यो कोसेढुंगा पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । उनले १२ मे २०१८ पहिलो टी–२० खेलेका थिए । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली डेयर डेभिल्स (अहिले दिल्ली क्यापिटल्स) बाट रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खेल्दै सन्दीपले टी–२० खेलमा डेब्यु गरेका थिए । त्यसयता निरन्तर खेल्दै आइरहेका उनले टी–२० खेलको शतक पूरा गरेका हुन् । आफ्नो १९९औँ टी–२० खेलमा सन्दीपले बिहीबार मलेसियाविरुद्ध तीन महत्वपूर्ण विकेट लिए । समग्रमा भने उनले एक सय टी–२० खेलबाट एक सय ३६ विकेट लिएका छन् ।