मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ बैशाख ९ बिहीबार १०:०७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेदरल्यान्ड्स र मलेसियाको बराबरीसँगै नेपाल फाइनलमा

Read Time : > 1 मिनेट
२०७८ बैशाख ९ बिहीबार १०:०७:००

उपाधिका लागि शनिबार हुने फाइनल खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने, त्यसअघि नेपालले बिहीबार मलेसियासँग खेल्नेछ

नेपाल त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको फाइनलमा प्रवेश गरेको छ । मलेसिया र नेदरल्यान्ड्सबीच बुधबार भएको खेल बराबरीमै रोकिएपछि नेपाल एक खेल अघि नै फाइनलमा पुगेको हो ।

यससँगै नेपालले उपाधिका लागि नेदरल्यान्ड्ससँगै प्रनिस्पर्धा गर्ने निश्चित भएको छ । फाइनल खेल शनिबार त्रिवि क्रिकेट मैदानमा हुनेछ । बुधबार वर्षाले बारम्बार अवरोध पुर्‍याएको खेलमा मलेसिया र नेदरल्यान्ड्सले अंक बाँडेका छन् । खेल सकिनुपर्ने ‘कट अफ टाइम’ समयसमेत नाघिसकेकाले सुपर ओभर सम्भव भएन । यो खेलको कट अफ टाइम दिउँसो ३:५५ बजेसम्म थियो । तर, खेल त्योभन्दा पनि पछि सकिएकाले सुपर ओभर सम्भव नभएको हो । 

मलेसिया उपाधि होडबाट बाहिरियो
यो नतिजाले मलेसियालाई उपाधि होडबाट बाहिर पठाएको छ । उपाधि भिडन्त कायम रहन मलेसियालाई यो खेलमा जित अत्यावश्यक थियो । जितबाहेक अन्य नतिजा निस्कँदा मलेसियाको यात्रा समूह चरणमै रोकिने निश्चित थियो । मलेसियाले त्यही अत्यावश्यक नतिजा निकाल्न सकेन । 

मलेसियाले अब घर फर्कनुअघि बिहीबार नेपालसँग अन्तिम खेल खेल्नेछ । यद्यपि, यो खेलको नतिजाले प्रतियोगितामा दुवै टोलीको यात्रालाई कुनै प्रभाव पार्ने छैन । त्रिवि क्रिकेट मैदानमा टस जितेका मलेसियन कप्तान अहमद फइजले पहिले फिल्डिङको निर्णय लिए । त्यसपछि नेदरल्यान्ड्सले ब्याटिङ सुरु गरेको ११औँ ओभरमा पहिलोपटक वर्षाले अवरुद्ध पार्‍यो । त्यस वेला नेदरल्यान्ड्सले १०.३ ओभरमा तीन विकेट गुमाएर ६८ रनको योगफल तय गरेको थियो । खेल फेरि सुरु हुँदा १३ ओभरमा छोट्याइएको थियो । त्यसपछि नेदरल्यान्ड्सले थप १६ बल खेलेर चार विकेटको क्षतिमा एक सय सात रन जोड्यो । डकवर्थ लेबिस नियमअनुसार मलेसियाले जितका लागि एक सय २० रनको परिवर्तित लक्ष्य पायो । 

सहज लक्ष्य पाएपछि मलेसियाले पनि सुरुवातबाटै आक्रामक खेल खेल्यो । यद्यपि, मलेसियाको ब्याटिङ पनि छैटौँ ओभरको समाप्तिसँगै वर्षाका कारण केही समय रोकियो । त्यसपछि मलेसियाले जितका लागि १० ओभरमा ९२ रनको अर्काे लक्ष्य पायो । तर, खेलको अन्त्यतिर दबाबमा देखिएको मलेसियाले जित हात पार्न सकेन । मलेसियालाई जितका लागि अन्तिम ६ बलमा सात रन आवश्यक थियो । नेदरल्यान्ड्सका भिभियन किङ्माले अन्तिम ६ बलमा ६ रन मात्रै दिए । त्यससँगै स्कोर बराबरी भएको थियो । 

नेदरल्यान्ड्सका लागि बेन कुपरले ३२ बलमा अविजित ५४ रनको योगदान दिए । उनले दुई छक्का र सात चौका प्रहार गरे । कप्तान पिटर सिलारले ३७ रनको योगदान गर्दा एन्तोनियस स्टल १० रनमा अविजित रहे । 

मलेसियाका लागि सेद अजिजले ३० र अन्वर अरुदिनले २३ रनको योगदान दिए । यी दुई प्रारम्भिक जोडीले मलेसियाका लागि ५७ रनको साझेदारी गरे । यी दुई खेलाडी क्रिजमा रहँदासम्म मलेसिया जितबाट निकै नजिक देखिएकोे थियो । उनीहरू आउट भएसँगै मलेसियाले खेल हातबाट गुमाउँदै गयो । भिरन्दीप सिंहले १४ र अमिदुदिन राम्लीले नौ रन जोडे । 

बलिङतर्फ मलेसियाका मुहम्मद वाफिक र नेदरल्यान्ड्सका सिबास्टियन ब्राटले दुई–दुई विकेट लिए । दोहोरो राउन्ड रोविन लिगको अन्तिम खेलअघिसम्म चार खेलबाट पाँच अंक जोड्दै नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा छ । तीन खेलबाट चार अंक भएको नेपाल दोस्रो र समान खेलबाट एक अंक मात्रै जोडेको मलेसिया पुछारमा रहेको छ ।