मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख ९ बिहीबार ०९:३४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रदेश सरकारको लगानीमा दोलखामा आधा दर्जन सडक विस्तार हुँदै 

Read Time : > 1 मिनेट
२०७८ बैशाख ९ बिहीबार ०९:३४:००

बागमती प्रदेश सरकारको लगानीमा दोलखामा आधा दर्जन सडक विस्तार भइरहेको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत दोलखाका ६ वटा सडक आगामी दुई वर्षभित्र सम्पन्न हुने गरी काम भइरहेको छ ।

दोलखाको मुख्य पर्यटकीय गन्तव्य कालिञ्चोक मन्दिर प्रवेश गर्ने सडकदेखि शैलुङ पुग्ने मार्गसमेत निर्माणको काम अघि बढेको सिन्धुपाल्चोकस्थित पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख डिभिजन इन्जिनियर राजु श्रेष्ठले गत आर्थिक वर्षमा काम सुरु भएका तीनवटा र चालू आर्थिक वर्षबाट सुरु गर्ने गरी तीनवटा सडक निर्माणको प्रक्रिया थालनी भएको जानकारी दिए । उनका अनुसार अघिल्ला वर्ष सुरु भएका तीनवटा सडकमध्ये शैलुङ प्रवेश गर्ने मुडे–बाघखोर–कालापानी सडकमा कालोपत्रे गर्ने काम सुरु हुन लागेको छ भने सिद्धाको थान–जुँगु–झ्याँकु सडकमा स्तरोन्नति भइरहेको छ । त्यस्तै, दोलखाको दक्षिणी क्षेत्रको मुख्य मार्ग सितली–मेलुङ–माने बुद्धचोक सडक पनि प्रदेशकै लगानीमा निर्माणाधीन छ । 

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर रविन खातीले तीनवटै सडकको प्रगति सन्तोषजनक रहेको बताउँदै तोकिएकै अवधिभित्र सम्पन्न हुनेमा आफूहरू विश्वस्त रहेको जानकारी दिएका छन् । इन्जिनियर खातीले यसअघि दोलखाका चारवटा सडक आयोजनाको कालोपत्रे तथा स्तरोन्नति गर्ने काम सम्पन्न भइसकेको जनाएका छन् । लामोसाँघु–जिरी सडकखण्डको मकैबारी खण्डबाट देउराली बजार हुँदै सुस्पा क्षमावतीको पानीघाटसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ । त्यस्तै, जिल्लाको उत्तरी क्षेत्रअन्तर्गत सुरी–मुलाबारी–गुरुम्फी सडक र दक्षिणको जिरी–ठोसे शिवालय सडक पनि कालोपत्रेकोे काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । माली–शैलुङ–चेर्दुङ–सुरी सडकसमेत निर्माण पूरा भएको जनाइएको छ ।

चालू आर्थिक वर्षमा तीन सडक निर्माण सुरु हुने 
बागमती प्रदेशको लगानीमा चालू आर्थिक वर्षभित्रै जिल्लाका तीनवटा मुख्य सडक विस्तारको प्रक्रिया सुरु भएको कार्यालयका डिभिजन प्रमुख राजु श्रेष्ठले सुनाए । उनका अनुसार कालिञ्चोक मन्दिर प्रवेश गर्ने देउराली–कुरीखण्ड, वैतेश्वर र गौरीशंकर जोड्ने नाम्दु–मार्बु–क्षेत्रपा सडक र सिँगटी–लादुक–बुलुङ सडक निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ । श्रेष्ठले अबको केही समयभित्रै ठेक्का सम्झौता भएर यस आवभित्रै भौतिक काम सुरु हुने गरी तयारी थालिएको जानकारी दिएका छन् । 

सबै सडक आयोजना बहुवर्षीय 
पूर्वाधार विकास कार्यालयअन्तर्गत दोलखामा सञ्चालनमा रहेका ६ वटै सडक आयोजना बहुवर्षीय ठेक्का प्रणालीअन्तर्गत अघि बढाइएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले एकै वर्ष पूरै बजेट व्यवस्थापनको कठिनाइ हुने भन्दै कार्यविधि नै बनाएर बहुवर्षीय आयोजनाका रूपमा अघि बढाएको हो । आयोजना सम्पन्न नहुन्जेल क्रमागत रूपमा बजेट व्यवस्था गरी कार्य सम्पादन गर्ने तयारी मन्त्रालयको रहेको कार्यालयले जनाएको छ । तोकिएका सबै आयोजना सम्पन्न हुँदा झन्डै एक अर्ब बजेट खर्च हुने अनुमान गरिएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । 

सडकसहित समग्र विकासमा खटिएका छौँ : सांसद चौलागाईं 
दोलखाका प्रदेश सांसद पशुपति चौलागाईंले सडकलाई पहिलो प्राथमिकता दिँदै अघि बढेको र अन्य दर्जनौँ विषयमा केन्द्रित रहेर आफूहरू जिल्लाको विकासमा खटिएको दाबी गरे । सांसद चौलागाईंले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, विज्ञानजस्ता क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले दोलखामा उल्लेखनीय काम गरेको बताए । कोल्डस्टोर, विद्यालय नर्स कार्यक्रम, साइन्स पार्क, लिफ्ट इरिगेसन, पर्यटनसम्बन्धी थुप्रै कामजस्ता दर्जनौँ परियोजना सञ्चालनमा रहेको जनाए ।