मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख ८ बुधबार १२:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लामो पुल हेर्ने अब पैसा तिर्नुपर्ने 

Read Time : > 1 मिनेट
२०७८ बैशाख ८ बुधबार १२:०४:००

बाग्लुङ नगरपालिका– १ रामरेखाबाट पर्वत कुस्मा नगरपालिका– १ पाङ अदुवाबारी जोड्ने लामो पुलमा आउनेसँग शुल्क उठाउन थालिएको छ । बाग्लुङ नगरपालिको कार्यालयले चैतेदसैँको सन्दर्भ पारेर मंगलबार दिउँसोबाट पुल घुम्न आउने पर्यटकहरूबाट शुल्क उठाउन सुरु गरेको हो । बाग्लुङ नगरपालिकाको कार्यापालिकाको बैठकको निर्णयअनुसार शुल्क लिन सुरु गरिएको बाग्लुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले बताए । 

‘संघीय सरकारले निर्माण गरे पनि यसको सबै मर्मत सम्भार गर्नेगरी बाग्लुङ नगरपालिकालाई हस्तान्तरण भएको छ,’ उनले भने, ‘यसको मर्मत सुधारका लागि कोष बनाउनका लागि पाहुनाहरूबाट सामान्य शुल्क लिने काम भएको हो । यसलाई नगरपालिकाको कार्यपालिका बैठकले नै निर्णय गरेको छ ।’ गत चैत २७ गतेको कार्यपालिका वैठकको निर्णयअनुसार शुल्क उठाउने काम भएको उनी बताउँछन् ।

‘हामीले यसको मर्मत सुधारको जिम्मासँगै यसलाई थप आकर्षक बनाउने भनेका छौँ । पार्कको सुधारको कुरा पनि छ,’ उनी भन्छन् । नगरपालिकाले पुलमा पनि शुल्क लिन थालेपछि अहिले यसको विरोध भइरहेको छ । अहिले हरेक क्षेत्रमा नकरात्मकता मात्रै हाबी भएको भन्दै उनले विरोध गर्नेहरूले विरोध मात्रै गर्ने गरेको बताउँछन् ।

‘विरोध गर्नेहरूले सधैँ विरोध मात्रै गरिरहन्छन्,’  उनी भन्छन्, ‘यो कार्यपालिका बैठकले गरेको निर्णय हो । नगरसभामा लगेर पारित हुन्छ । अहिले नगरसभा नहुँदा कार्यकारी कार्यपालिका नै हो ।’ 

बाग्लुङ नगरपालिका र कुस्मा नगरपालिकालाई आफ्नो पहिचान खुल्ने कागज पत्रको आधारमा छुट दिइने उनले बताए । नगरपालिकाले पूर्वाधार उपयोग कर भनेर कुस्मा र बाग्लुङ नगरपालिका बाहिरका व्यक्तिका लागि प्रतिव्यक्ति २० रुपैयाँ अन्य देशका नागरिकका लागि ५० रुपैयाँ शुल्क लिन थालेको छ । ज्येष्ठ नागरिक, अपांग विद्यार्थीका लागि १० रुपैयाँ शुल्क तोकिएको छ । 

यसरी शुल्क लिन थालेपछि यसको चौतर्फी विरोध भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसको चर्को विरोध गरेका छन् । पछिल्लो समय लामो पुलका कारण बाग्लुङमा आउने पर्यटकहरूको संख्या बढ्दै गएकोमा नगरपालिकाको यो निर्णयले पर्यटकहरू भड्किन सक्ने भन्दै पर्यटन व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।