मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
दमक नगरपालिका परिसरमा आन्दोलनमा उत्रिएका सुकुम्बासी । तस्बिर : नयाँ पत्रिका
२०७८ बैशाख ८ बुधबार ०९:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

समस्या राख्न गएका सुकुम्बासीलाई मेयरले उल्टै हप्काए

Read Time : > 1 मिनेट
२०७८ बैशाख ८ बुधबार ०९:१३:००

आफ्ना समस्या नसुनी बीचमै मेयर उठेर हिँडेपछि आन्दोलनमा उत्रिए सुकुम्बासी

१२ दिनअघि दमक नगरपालिकाले डोजर चलाएको दमक–७ पञ्चमुखी टोलका सुकुम्बासी मंगलबार आफ्नो समस्या लिएर नगरप्रमुख रोमनाथ ओलीलाई भेट्न गए । यसअघि ज्ञापनपत्र बुझाउँदा मंगलबारको कार्यपालिका बैठकमा सुकुम्बासी समस्याको समाधानबारे छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

प्रतिबद्धताअनुसार सुकुम्बासीहरू बैठक सुरु हुनुभन्दाअघि नगरप्रमुख ओलीलाई भेट्न पुगे । तर, सकुम्बासीमाथि मेयर ओली उल्टै खनिए । ‘तपाईंहरूले दिएको विज्ञप्ति ७ गतेको बैठकमा छलफल गर्ने भनेर तोक लगाएको हैन नि,’ मेयरको कार्यकक्षमा पुगेका सुकुम्बासीलाई हप्काउँदै ओलीले भने, ‘छलफल नभई केही हुँदैन । कार्यपालिकाको बैठक हुन्छ अनि सुन्न आउनू ।’ ओली सुकुम्बासीप्रति निकै आक्रामक देखिन्थे । 

उनले सुकुम्बासीलाई सबैले उक्साएको भन्दै उतै जान चेतावनी दिए । ‘तपाईंहरूलाई हामीले थन्क्याउँछौँ भनेकै छ । तर, अरूको उक्साहटमा लाग्ने ?,’ ओलीले भने, ‘जसले उक्साउँदै छ उतै जानू । सुकुम्बासीको नाममा ढुकुम्बासीलाई दिइँदैन ।’ ओली आफ्ना कुरा राख्न गएका सुकुम्बासीको कुरा नसुनी बीचमै उठेर हिँडे । ‘मेयर हाम्रै हो । हामीलाई आश्वस्त पारेर हाम्रो माग पूरा हुन्छ भन्ने सोचेका थियौँ । तर, उहाँको प्रस्तुति त हामीलाई कुटौँलाझैँ गर्ने थियो,’ सुकुम्बासी मानाहाङ सुब्बा भन्छन्, ‘हाम्रो कुरै सुन्न मान्नुभएन ।’ 

गत २७ चैतमा नगरपालिकाले डोजर चलाएपछि सुकुम्बासीहरू त्रिपाल टाँगेर बसेका छन् । त्यहाँ एकपटक पनि जनप्रतिनिधि नपुगेको सुकुम्बासीको गुनासो छ । ‘हामीलाई विकल्प नदिई घर भत्काइयो । घर भत्काउने वेलामा थाहै नदिई प्रहरीले लग्यो । छोड्दा त घर भत्काइसकेको रहेछ,’ सुकुम्बासी मनीष बराइली भन्छन्, ‘भत्काउँदा त जानकारी दिएन । तर, भत्काएपछि एकपटक त जनप्रतिनिधि आएर यसरी व्यवस्थापन गर्छौँ भन्नुपर्छ नि !’ 

नगरप्रमुख ओली आक्रामक रूपमा प्रस्तुत भएपछि निर्णय सुन्न नगरपालिका पुगेका सुकुम्बासी आन्दोलनमा उत्रिएका छन् । प्लेकार्डसहित नाराबाजीमा उत्रिएका सुकुम्बासीले दमक नगरपालिका घेराउ गरे । ‘हामी त निर्णय सुन्न आएका थियौँ, तर मेयर साबको कुरा सुन्दा हामीले न्याय पाउँछौँजस्तो लागेन,’ सुकुम्बासी राम सम्बाहाम्फे भन्छन्, ‘बाध्य भएर आन्दोलनमा उत्रनुपर्‍यो । हाम्रो उचित व्यवस्थापन नगर्ने भए हामी योभन्दा ठूलो आन्दोलनमा उत्रन्छौँ ।’

घर नभएकाको व्यवस्थापन हुन्छ : नगरपालिका
दमक नगरपालिकाले घर भत्काइएका सुकुम्बासीको व्यवस्थापन गर्ने जनाएको छ । वास्तविक सुकुम्बासी भए उनीहरूको व्यवस्थापन गर्ने मंगलबारको कार्यपालिका बैठकले निर्णय गरेको उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् । ‘घर नभएका सुकुम्बासीलाई नगरपालिकाले व्यवस्थापन गर्छ । भएर पनि त्यहाँ बसेको अवस्थामा सामान सार्न पैसा पनि उपलब्ध गराउँछ,’ उनले भनिन्, ‘नगरपालिकाले बनाएका घरमा पानी, बिजुली नजोडेसम्मका लागि नगरपालिकाले भाडामै राख्ने निर्णय गरेको छ ।’

तर, सुकुम्बासीले नगरपालिकाको यो निर्णयमा विरोध जनाएका छन् । भूमि व्यवस्था आयोगले सुकुम्बासीको फाराम भरेको अवस्थामा नगरपालिकाले घर भत्काएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । ‘हामी त वास्तविक सुकुम्बासी हौँ । २० वर्षदेखि यहाँ बसेका छौँ । कानुनले पनि हामीलाई त धनीपूर्जासहितको जग्गा दिन्छ । सुकुम्बासीको फारम पनि भरेको छ,’ सुकुम्बासी विमला विश्वकर्माले भनिन्, ‘नगरपालिकाले दिने घर त भाडामा बसेजस्तै हो । धनीपूर्जा छैन । बसुन्जेल बस्ने निस्केका दिन सडकमा पुग्ने । त्यसकारण नगरपालिकाको निर्णय हामीलार्ई मान्य छैन ।’