Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख ८ बुधबार ०८:४३:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

बाँकेका उच्च जोखिमयुक्त स्थानमा एक साता लकडाउन 

Read Time : > 1 मिनेट
२०७८ बैशाख ८ बुधबार ०८:४३:००

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेको निश्चित ठाउँमा ९ वैशाखदेखि लकडाउन गर्ने तयारी गरिएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले एक साताका लागि लकडाउन गर्न सिफारिस गरेको हो । 

बाँके प्रशासनले कोरोना संक्रमण उच्च भएको स्थानको पहिचान गरी निश्चित ठाउँमा मात्र लकडाउन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनले लकडाउन गर्दा सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर पर्ने भएकाले कोरोना संक्रमणदर उच्च भएको, सर्वसाधारणको भिडभाड हुने स्थानमा मात्र लकडाउन गर्न लागिएको बताए । ‘सबैतिर एकैसाथ लकडाउन गर्दा सर्वसाधारणमा असर पर्ने भएकाले जोखिम क्षेत्रको पहिचान गरी निश्चित भू–भागमा मात्र लकडाउन गर्ने योजना छ,’ प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘कुन–कुन ठाउँमा लकडाउन गर्ने निर्णय बुधबार मात्र हुन्छ ।’ 

उनले लकडाउन गरिएको क्षेत्रमा अत्यावश्यक काममा मात्र हिँडडुल गर्न दिइने बताए । उनले सरकारको नीति र निर्देशनलाई कार्यान्वयन गर्न स्वास्थ्य मापदण्ड पालना गराउन प्रहरी परिचालन गरिएको बताउँदै सरकारको निर्देशन पालना नगर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारे । 

मास्क नलगाए सय रुपैयाँ जरिवाना 
नेपालगन्ज उपमहानगरपालिकाले पनि कोरोना संक्रमण न्यूनीकरण गर्न विशेष अभियान थालेको छ । कोरोना संक्रमण न्यूनीकरणका लागि समुदायस्तरमा प्रचार–प्रसार गर्ने नीति अवलम्बन गरेको उपमहानगरले कोरोना संक्रमणलाई मध्यनजर गरी नगरमा नगर प्रहरी परिचालन गर्ने र मास्क अनिवार्य लगाउन कडाइ गर्ने र मास्क नलगाउनेलाई जनही एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ । ‘मास्क नलगाउनेलाई जरिवाना र मास्क नलगाई तथा भौतिक दूरी कायम नगरी कारोबार गर्ने पसल एवं व्यवसायीको एक साताका लागि बन्द गर्ने निर्णय भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत छविलाल रेग्मीले भने । 

नौ सय ८९ जना सक्रिय कोरोना संक्रमित
बाँकेमा गत २४ घन्टामा बाँकेका विभिन्न पिसिआर ल्याबमा दुई सय ८९ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई सय १९ जना बाँकेका भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)का फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए । जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भए लकडाउन गर्न सकिने व्यवस्था छ । 

नौ सय ८९ जना सक्रिय संक्रमित रहेकोमा ५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको फोकल पर्सन ओलीले बताए । ‘भेरी अस्पतालको आइसियूमा ३५ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १८ जना गरी ५३ जनाको अवस्था गम्भीर छ । यीमध्ये भेरी अस्पतालको भेन्टिलेटरमा पाँचजनाको उपचार भइरहेको छ,’ ओलीले भने । 

उनले भेरी अस्पतालमा सातवटा भेन्टिलेटर रहेको बताए । भेरी अस्पतालको दुईवटा भेन्टिलेटर अहिले खाली भएको उनले बताए । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भेन्टिलेटरको व्यवस्था छैन । ‘भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई मेडिकल कलेजले भेरी अस्पतालमा रिफर गर्दै आएको छ,’ उनले भने । 

यस्तै नेपालगन्ज उपमहानगरपालिका–१ का सबै कर्मचारीमा कोरोना संक्रमण भएपछि वडा कार्यालय बन्द गरिएको छ । वडा कार्यालयका सबै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि परिस्थिति अनुकूल नहुँदासम्मका लागि वडा कार्यालय सिल गरिएको वडाध्यक्ष प्रमोद रिजालले बताए । ‘सम्पूर्ण कर्मचारीमा संक्रमण देखिएपछि सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गरी केही समयका लागि वडा कार्यालय सिल गरी कामकाज बन्द गरिएको छ,’ उनले भने । 

यसअघि वडाध्यक्ष रिजाललाई कोरोना संक्रमण भएको थियो । लक्षणसहितको कोरोना पुष्टि भएपछि उनलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।