मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अजित अधिकारी काठमाडौं
२०७८ बैशाख ८ बुधबार १०:३२:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

खाद्यान्नमा अस्वाभाविक मूल्यवृद्धि

Read Time : > 4 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७८ बैशाख ८ बुधबार १०:३२:००

तोरी, भटमास तथा सूर्यमुखीको तेलदेखि चामल र केराउको भाउसमेत आकाशियो, यसअघि प्रतिकिलो अढाई सयदेखि ३ सयबीचमा हुने कुखुराको मासुको भाउ साढे ४ सय पुग्यो 

पछिल्लो ६–७ महिनामा भान्सामा अनिवार्य खपत हुने खानेतेलको भाउ प्रतिलिटर ८० रुपैयाँसम्म बढेको छ । राजनीतिक अस्थिरता बढ्दै जाँदा व्यवसायीले मनोमानी ढंगले मूल्यवृद्धि गरेपछि उपभोक्ता चर्को महँगीको मारमा परेका छन् । अत्यधिक मूल्यवृद्धि भइरहँदा पनि सरकारी निकायले नियन्त्रणका लागि ठोस पहल गरेको छैन । आयातकर्ता र उत्पादकहरू अन्तर्राष्ट्रिय बजारलाई दोष दिइरहेका छन् । 

चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुबोध गुप्ता आयातमा निर्भर रहेको खानेतेलको मूल्य अन्तर्राष्ट्रिय बजारकै कारण बढेको जिकिर गर्छन् । बजार मूल्य नियन्त्रण गर्न सरकारले भन्सार दरमा सहुलियत दिनुपर्ने उनी बताउँछन् । ‘तेल आयातमा १३ प्रतिशत भ्याट र ५ प्रतिशत भन्सारसहित कुल १८ प्रतिशत मूल्यवृद्धि आयात बिन्दुमै हुन्छ,’ गुप्ताले भने, ‘यसको असर उपभोक्ता मूल्यमा पर्छ । त्यसैले उपभोक्तालाई सहुलियत दिन करका दरमा पुनर्विचार गर्नुपर्छ ।’

व्यवसायीको अराजक प्रवृत्तिले बजारभाउ बढेको र नियन्त्रण गर्न सरकारी निकायले उदासीनता देखाएको उपभोक्ताकर्मी माधव तिमिल्सिना बताउँछन् । ‘व्यवसायीले मूल्य बढाइरहेका छन्, सरकार नियन्त्रण गर्न चासो देखाउँदैन,’ तिमिल्सिनाले भने, ‘उपभोक्ताको मर्का बुझ्ने निकाय यहाँ भेटिँदैन ।’

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार भदौयता खानेतेलको मूल्य निरन्तर उकालो लागेको छ । सबैभन्दा धेरै (करिब ५० प्रतिशत) खपत हुने सनफ्लावर तेलको मूल्य प्रतिलिटर ७० रुपैयाँ बढेको छ । ‘भदौमा सनफ्लावर तेलको भाउ १ सय ६५ रुपैयाँ प्रतिलिटर थियो । पटक–पटक बढेर अहिले २ सय ३५ देखि २ सय ४० रुपैयाँसम्म पुगेको छ ।’

भटमासको तेलको भाउ पनि अस्वाभाविक रूपमा आकासिएको छ । भदौमा १ सय ५० रुपैयाँ रहेको भटमासको तेल अहिले २ सय ३० पुगेको छ । ‘पुसमा भटमासको तेलको भाउ २ सय टेकेको थियो,’ श्रेष्ठले भने, ‘माघ र फागुनमा मूल्य स्थिर नै थियो, तर मध्य चैतदेखि भाउ बढ्न थालेर अहिले २ सय ३० रुपैयाँ प्रतिलिटरसम्म कायम भएको छ ।’ 

अहिले सामान्य तोरीको तेलको भन्दा सनफ्लावरको भाउ बढी भएको उनले बताए । सामान्य तोरीको तेल प्रतिलिटर २ सय ३० रुपैयाँसम्म पुगेको छ । भदौयता प्रतिलिटर ५० रुपैयाँ मूल्यवृद्धि भएको हो । यद्यपि, भदौमा यही तेलको मूल्य १ सय ८० रुपैयाँ थियो । दसैँ र तिहारसम्म तोरीको तेल २ सय रुपैयाँ पुगेर जाडो मौसमसम्म स्थिर थियो । चैतयता तोरीको तेलको भाउ बढेको छ । धारा ब्रान्डको तोरीको तेल भने अहिले २ सय ७० रुपैयाँ पुगेको छ । यसअघि गत भदौमा २ सय ३० रुपैयाँ प्रतिलिटर थियो । 

चामल प्रतिबोरा ५० र केराउको मूल्य दोब्बर बढ्यो
खुद्रा व्यापारीका अनुसार अहिले सबै प्रकारको चामलमा प्रतिबोरा ५० रुपैयाँ बढेको छ । ‘सबैभन्दा धेरै खपत हुने जिरा मसिनो चामल प्रतिबोरा (२५ किलो) १६ सयबाट १६५० रुपैयाँ पुगेको छ,’ अध्यक्ष श्रेष्ठले भने । केराउको मूल्य दोब्बर बढेको छ । भदौमा सेतो केराउ ५० देखि ६० र हरियो केराउ ९०–१०० रुपैयाँ प्रतिकिलो थियो । अहिले सेतो केराउको भाउ १ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको श्रेष्ठले बताए । हरियो केराउको मूल्य सेतोको तुलनामा प्रतिकिलो १० रुपैयाँ बढी पर्छ । सरकारले केराउ आयातमा कोटा प्रणाली तोकेपछि कम आयात भएको भन्दै अभावको हल्ला फैलाएर मूल्य बढाएको उनले बताए ।

‘डेढ महिनाअघि सेतो केराउ प्रतिकिलो १ सयदेखि १ सय ५ रुपैयाँ थियो । सरकारले आयातमा कोटा प्रणाली तोकेका कारण बजारमा अभाव छ भन्दै ह्वात्तै बढाएर १ सय ५० रुपैयाँ पुर्‍याइएको छ,’ उनले भने । 

केराउ अभावका कारण मूल्य बढेको व्यवसायीले गुनासो गरेपछि सरकारले एक वर्षदेखि कायम कोटा प्रणाली ९ चैतमा राजपत्रमा सूचना प्रकाशित गरी हटाएको थियो । तर, मूल्य अझै घटेको छैन ।

सरकारले एक वर्षअघि वार्षिक ८५ हजार टन केराउ आयात गर्न पाउने गरी कोटा निर्धारण गरेको थियो । तर, त्यसले धान्न नसक्ने भन्दै ३ सयभन्दा बढी व्यवसायीले १ लाख ८० हजार आयातका लागि स्वीकृति माग गरेका थिए । तोकिएको कोटाभन्दा दोब्बर आयातका लागि माग भएपछि सरकार कोटा प्रणालीबाट पछि हटेको थियो । 

उपभोक्ताले दोब्बर मूल्यमा उपभोग गरिरहेको केराउको गुणस्तर पनि कमजोर रहेको गुनासो बढेको छ । ‘अहिले बजारमा आइरहको केराउ तुलनात्मक रूपमा कम स्वादिलो देखिएको छ, मूल्य भने धेरै तिरिरहनुपरेको छ,’ उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने ।

मूल्य नियन्त्रणका लागि छलफल गरिरहेका र्छौँ  : प्रकाश पौडेल महानिर्देशक, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

हामीले तेल र केराउको मूल्यवृद्धि नियन्त्रणका लागि व्यवसायीसँग निरन्तर छलफल गरिरहेका छौँ । छाता संगठनलाई बोलाएर छलफल गर्दा सम्बन्धित उत्पादक नआउने, पत्राचार गर्दा उचित कारण देखाउन नसक्ने समस्या देखिएको छ । त्यसैले मूल्य बढ्छ भने पारदर्शी कारण हुनुपर्छ भनेर निर्देशन दिएका छौँ । अहिले कुखुराको मासुको मूल्य उकालो लागेको छ । यसका विषयमा पनि अध्ययन थालेर नियन्त्रण गर्न लागिपरेका छौँ ।

भाउ अरूले बढाउँछन्, गाली हामीले खानुपर्छ : राजकुमार श्रेष्ठ अध्यक्ष, खुद्रा व्यापार संघ
अहिले अन्तर्राष्ट्रिय कारण देखाएर, कहिले बजारमा अभाव भएको भन्दै विभिन्न समयमा खाद्य वस्तुको भाउ बढाउने गरिएको छ । पछिल्लो समय खानेतेल र केराउमा अस्वाभाविक भाउ बढेको छ । चामलको भाउ पनि बढेको छ । यसको उचित कारण केही थाहा छैन । भाउ ठूलो अन्तरले बढ्दा उपभोक्तालाई मर्का परिरहेको छ । उनीहरूको गुनासो हामीले सुन्नुपर्छ । सरकारी निकायले मूल्यवृद्धिको उचित कारण पत्ता लगाई नियन्त्रणको प्रयास गर्नु जरुरी भइसकेको छ ।

अन्तर्राष्ट्रिय बजारका कारण मूल्य बढिरहेको छ : सुबोध गुप्ता अध्यक्ष, चामल, तेल, दाल उद्योग संघ
अहिले खानेतेलको मूल्यमा केही वृद्धि भएको छ । यो हामी उत्पादकले गर्दा होइन, अन्तर्राष्ट्रिय बजारमै भाउ बढेको छ । खानेतेलमा हामी ९० प्रतिशत परनिर्भर छौँ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा बढ्दा हामीकहाँ बढ्नु स्वाभाविक हो । चामलमा भने प्रतिकिलो १–२ रुपैयाँ बढेको हो । बजारमा यो दरमा कहिलेकाहीँ बढ्नु–घट्नु सामान्य कुरा हो । हामीले जबसम्म कृषि उत्पादनमा निर्भर हुने गरी सोच विकास गर्दैनाैँ, तबसम्म यस्ता दुःख पाइरहेका हुन्छौँ । 

कुखुराको मासु : किसानले २७० मा बेच्ने, उपभोक्ताले ४३० मा किन्ने

मुलुकमा सबैभन्दा बढी खपत हुने कुखुराको मासुको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । काठमाडौं उपत्यकाका लागि कुखुरा व्यवसायी संघले प्रतिकिलो ४ सय ३० रुपैयाँ मूल्य निर्धारण गरेको छ । तर, बजारमा ४ सय ४५ रुपैयाँ प्रतिकिलोसम्म बिक्री भइरहेको छ । एक महिनाअघि ३ सय रुपैयाँआसपास थियो ।

संघ अध्यक्ष जंगबहादुर विसीले मागअनुसार आपूर्ति हुन नसक्दा बजारभाउ आकासिएको दाबी गरे । ‘काठमाडौंमा मात्र ५ लाख किलो कुखुराको मासु दैनिक खपत हुन्छ । अहिले ३५ प्रतिशत कम आपूर्ति भइरहेको छ,’ विसीले भने, ‘त्यसैले मूल्यमा चाप बढेको हो ।’ उनका अनुसार देशभर ८ लाख किलो कुखुराको मासु दैनिक खपत हुने गरेको छ ।

दुई महिनाअघिबाट काठमाडौंआसपास बर्डफ्लुको संक्रमण देखिन थालेको छ । बर्डफ्लुको त्रासले किसानले अहिले नयाँ चल्ला खोरमा नहालेको र तराईका किसानबाट काठमाडौंमा कुखुरा आपूर्ति भइरहेको संघको भनाइ छ । बजारभाउ उच्च बिन्दुमा पुगे पनि कुखुरापालक किसानहरू भने खुसी छैनन् । राष्ट्रिय कुखुरापालक संघका अध्यक्ष झनक पौडेलले हाल तराईका किसानले २ सय ७० रुपैयाँ प्रतिकिलो भाउ पाइरहेको बताए । ‘अहिले कुखुरापालक किसानले जुन भाउ पाइरहेका छन्, यो हालसम्मकै धेरै हो,’ उनले भने, ‘तर, दाना र चल्लाको भाउ पनि यही मौकामा व्यवसायीले बढाइदिएका छन् । त्यसैले खासै खुसी हुने अवस्था छैन ।’

किसानले बिक्री गरेको मूल्यमा प्रतिकिलो १ सय रुपैयाँ बढीमा उपभोक्ताले कुखुराको मासु खरिद गर्न पाउने चल्ला, दाना, कुखुरा र कोल्ड स्टोर व्यवसायीबीच भद्र सहमति छ । तर, अहिले किसानले बेचेभन्दा डेढ सय रुपैयाँ बढी मूल्यमा उपभोक्ता मूल्य तोकिएपछि किसानहरूले असन्तुष्टि जनाएका छन् । ‘किसानले बेचेको तुलनामा उपभोक्ताले कुखुराको मासुका लागि तिरिरहेको मूल्य उच्च हो । व्यवसायीले यति धेरै बदमासी गर्नुहुन्न,’ पौडेलले भने । कुखुराको मासुको भाउ बढेपछि ५६–५७ रुपैयाँ प्रतिकिलो रहेको दाना ८० रुपैयाँ र ८० रुपैयाँ प्रतिगोटा रहेको चल्ला १ सय २० रुपैयाँसम्म व्यवसायीले तोकेर किसानलाई मर्कामा पारेको पौडेलले बताए ।

पेट्रोलियमको मूल्य बढ्दा हवाई भाडा पनि बढ्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको कारण देखाउँदै नेपाल आयल निगम लिमिटेडले निरन्तर नेपाली बजारमा पेट्रोलियम पदार्थको भाउ बढाइरहेको छ । पछिल्लो समय गत शनिबार प्रतिलिटर १–१ रुपैयाँ मूल्यवृद्धि गरी पेट्रोल १ सय २१ र डिजेल तथा मट्टीतेल समान १ सय ४ रुपैयाँ प्रतिलिटर निर्धारण गरेको छ । त्यस्तै, हवाई इन्धनको भाउ प्रतिलिटर २ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । हवाई इन्धनको भाउ बढ्नासाथ आन्तरिक सेवा दिइरहेका विमान कम्पनीहरूले गन्तव्यअनुसार ५० रुपैयाँदेखि ८५ रुपैयाँसम्म भाडादर बढाएका छन् । गत भदौमा पेट्रोल १ सय ७, डिजेल तथा मट्टीतेल ९० रुपैयाँ प्रतिलिटर थियो ।