Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी टोकियो
२०७८ बैशाख ८ बुधबार ०७:१७:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

जापानले पाँच मिनेटमै कोभिड परीक्षण गर्ने प्रविधि पत्ता लगायो

Read Time : > 1 मिनेट
एजेन्सी टोकियो
२०७८ बैशाख ८ बुधबार ०७:१७:००

जापानले पाँच मिनेटमा नै कोभिड–१९ को संक्रमण भए÷नभएको थाहा पाउने प्रविधि पत्ता लगाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लागेको हो । जापानमा अहिले पनि पिसिआर टेस्ट नै प्रचलनमा छ । यसअघिको प्रविधिबाट कोभिड–१९ को भाइरस पत्ता लगाउन कम्तीमा पनि एक घन्टा समय लाग्ने गरेको छ । 

अब कुनै पनि व्यक्तिको स्याम्पल लिएको पाँच मिनेटभित्रै उसको शरीरमा कोभिड–१९ पोजिटिभ भए/नभएको पत्ता लाग्ने युनिभर्सिटी अफ टोकियोले जनाएको छ । यो प्रविधिले अब जापानमा कोरोना संक्रमणको परीक्षण गर्ने समय छोटो हुँदा धेरै व्यक्ति लामो समय लाइन लाग्नुपर्ने समस्याबाट मुक्त हुनेछन् । 

जापानको राष्ट्रिय टेलिभिजन संस्था एनएचकेले नयाँ प्रविधि द्रुत गतिमा अगाडि बढाइने जनाएको छ । युनिभर्सिटी अफ टोकियोका वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्नका लागि कुनै पनि जटिल प्रक्रिया नभएको र सामान्य रूपमा नै गर्न सकिने जनाएका छन् । ‘हामी थोरै उपकरणको सहायताबाट नै संक्रमण पत्ता लगाउन सक्छौँ,’ उनले भने । 

सिनोभ्याक ८० प्रतिशत प्रभावकारी
चीनको सिनोभ्याक बायोटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ८० प्रतिशत प्रभावकारी देखिएको चिली सरकारले जनाएको छ । सिनोभ्याक खोप कोभिडका लक्षणयुक्त संक्रमण रोक्न ६७ प्रतिशत प्रभावकारी रहेको र अस्पताल भर्ना रोक्न ८५ प्रतिशत सफल देखिएको चिली सरकारको भनाइ छ । यस खोप कोभिडका बिरामीलाई सघन उपचार कक्षमा भर्ना हुनबाट रोक्न ८९ प्रतिशत सफल रहेको देखाएको छ । 

चिलीमा सिनोभ्याक खोपको नमुना परीक्षण सफल तुल्याउने उप–व्यापारमन्त्री रोड्रिगो यानेजले सरकारले सिनोभ्याकसँग गरेको सम्झौता उपयुक्त रहेको प्रमाणित भएको बताएका छन् । दक्षिण अमेरिकी देश चिलीमा करिब ११ लाख ३१ हजारजना कोभिड–१९ बाट संक्रमित भएका छन् । यहाँ २५ हजार २७७ जनाको मृत्यु भएको छ । स्वास्थ्यमन्त्री एनरिक पेरिसले नियमित पत्रकार सम्मेलनमा अघिल्लो साता कोभिडका बिरामीको संख्यामा पाँच प्रतिशतले कमी आएको बताए । 

भारतमा संक्रमित संख्या डेढ करोड नाघ्यो 
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अहिलेसम्म एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोरोना सुरु भएयता हालसम्म एक करोड ५३ लाख २१ हजार ८९ जना संक्रमित भएको मन्त्रालयले बताएको छ । भारतमा कोरोना भाइरसबाट एकै दिनमा दुई लाख ५९ हजार १७० संक्रमित भएका छन् । एक हजार सात सय ६१ जनाको कोरोनाबाट मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोभिडका कारण एक लाख ८० हजार पाँच सय ३० जनाले ज्यान गुमाएका छन् ।     

भारतमा १६ जनवरीबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । अहिलेसम्म भारतमा १२ करोड ७० लाखभन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोना भाइरसविरुद्धको खोप चलाउने क्रम पनि चली नै रहेको छ ।