प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सच्चिनका लागि अन्तिम मौका भन्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहित २७ संघीय सांसदलाई स्पष्टीकरण सोधेका छन् ।
ओलीले खनाल, नेपाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरू, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन र मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधेका हुन् ।
‘आफ्ना विचार र क्रियाकलापहरू सच्याई नयाँ राजनीतिक दलको रूपमा तपाईं संलग्न भएको गतिविधिमा नलागी एमाले दलको पक्षमा आउने प्रतिबद्धतासहितको सप्रमाण जवाफ प्राप्त भएमा पार्टीले विचार गर्ने नै छ,’ ओलीले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा कुनै पनि वेला कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ ।’
कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको वेला फ्लोर क्रस हुन सक्ने भन्दै ओलीले २७ सांसदलाई स्पष्टीकरण सोधेका हुन् । सांसदहरूलाई स्पष्टीकरणपत्र पठाइसकेको एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराइएले जानकारी दिए ।