मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका कोरोना संक्रमित । तस्बिर : विश्वराज पछलडङ्ग्या/नयाँ पत्रिका
२०७८ बैशाख ७ मंगलबार ०८:५०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोरोना संक्रमण दर अघिल्लो वर्षभन्दा तीव्र  : नियन्त्रणमा सरकारको तयारी सुस्त 

Read Time : > 3 मिनेट
२०७८ बैशाख ७ मंगलबार ०८:५०:००

नेपालमा कोरोना भाइरसको दोस्रो छाल सुरु भएसँगै संक्रमण दर तीव्र रूपमा वृद्धि भएको छ । १७ फागुनमा संक्रमण दर २ प्रतिशत भएकोमा ४९ दिन अर्थात् ६ वैशाखमा संक्रमण दर १७ प्रतिशतमा पुगेको छ । तर, सरकारबाट संक्रमितको व्यवस्थापन र नियन्त्रणमा अघिल्लो वर्षको जत्तिको तयारी पनि देखिएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार यसपटक निजी अस्पतालहरूलाई कोभिड अस्पतालमा सूचीकृत गरिएको छैन । यसपटक सरकार निजी स्वास्थ्य संस्थालाई कोभिड संक्रमितको उपचारमा बाध्यकारी बनाउने पक्षमा नभएको उनको भनाइ छ । ‘अघिल्लोपटक मन्त्रालयले निजी अस्पताल, मेडिकल कलेजहरूलाई २० प्रतिशत शय्या कोभिडका लागि छुट्याउने निर्णय गरेको थियो । संक्रमण बढ्दै जाँदा मेडिकल कलेजहरूका शय्या खाली गर्दै लगेको थियो । तर, अहिले निजी क्षेत्रका विषयमा मन्त्रालय बोल्ने पक्षमा देखिएको छैन,’ अधिकारीले भने ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारी भन्छन्–

अघिल्लो वर्ष कोरोना भाइरसको निकै डर थियो । समाज र परिवार पनि त्रसित भएकाले संक्रमित घरमा बस्ने वातावरण थिएन । त्यसैले सबै विद्यालय, निजी अस्पताल, पार्टीप्यालेसलाई आइसोलेसन र क्वारेन्टिन बनाइएको थियो । तर, अहिले समाज र परिवार परिवर्तन हुँदै जाँदा संक्रमित घरमा बस्न थालेका छन्, जसले गर्दा विगतका आइसोलेसन सेन्टर र क्वारेन्टिन बेड घटेका हुन् ।

निजी प्रयोगशाला तथा अस्पताललाई भने सरकारले कोभिडको परीक्षण तथा उपचारका लागि तोकिएको शुल्क दुई हजार रुपैयाँमा नबढाई लिन निर्देशन दिएको छ । त्यति मात्रै होइन, संक्रमितहरूको औषधिबाहेक उपचारका लागि संक्रमणको जटिलताका आधारमा दैनिक सामान्यलाई ३५ सय, मध्यमलाई सात हजार र जटिललाई १५ हजारमा ५० प्रतिशत थपभन्दा नबढ्ने गरी लिने व्यवस्था मिलाउन निर्देशन दिएको छ । संक्रमितलाई क्वारेन्टिन, आइसोलेसन र उपचारका लागि भने अघिल्लोपटक जस्तो बाध्यकारी पारिएको छैन । 

स्वास्थ्य मन्त्रालयले २ वैशाखमा सबै सरकारी अस्पताललाई कम्तीमा ५० प्रतिशत बेड कोभिड संक्रमितलाई छुट्याउन निर्देशन दिएको थियो । मन्त्रालयका अनुसार देशभर एक सय २५ सरकारी अस्पताल छन् । सहप्रवक्ता अधिकारीका अनुसार ५० प्रतिशतभन्दा बढी शय्या खाली गराउँदा नियमित सेवा अवरुद्ध हुन्छन् । 

भारतबाट नेपाल प्रवेश गर्ने नौ नाकामा ज्वरो मात्रै नापिन्छ
अहिले भारतबाट नेपाल प्रवेश गर्ने नौ नाकामा सामान्य ज्वरो नाप्ने काम मात्रै भएको छ । ६ चैतदेखि ५ वैशाखसम्म नाकामा १३ हजार आठ सय २९ जनाको मात्रै एन्टिजेन परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये आठ सय ७५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतबाट प्रत्येक दिन पाँच हजारभन्दा बढी मानिस नेपाल प्रवेश गरेका छन् । नाकामा उच्च जोखिम हुँदाहुँदै पनि ज्यादै न्यून परीक्षण गरेर सरकारले विगतकै गल्ती दोहोर्‍याएको छ । 

स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका अनुसार देशभर चार लाखलाई कोरोना पत्ता लगाउने आरटी पिसिआर किट मौज्दात छ । त्यस्तै, चार लाख ७५ हजार पिपिई सेट प्रयोग हुन बाँकी छ । महाशाखाका उपसचिव उपेन्द्र ढुंगानाका अनुसार देशभर एक लाख एन्टिजेन किट छ । युनिसेफबाट डेढ लाख किट आउने भएको छ अघिल्लो वर्षभन्दा अहिले कोरोनाको फैलावट धेरै भए पनि बजारमा स्वास्थ्यका सामग्री पाइने भएकाले आवश्यकताअनुसार खरिद गर्दै जाने स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘स्वास्थ्यका उपकरणमा कुनै समस्या देखिएको छैन,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले समस्या भनेको तीन तहका सरकारबीचको समन्वयमा हो ।’ 

क्वारेन्टिन र आइसोलेसन बेड बढेनन् 
संक्रमितको संख्या धमाधम बढेपछि देशभर आइसोलेसन शय्याको अभाव हुने भएको छ । अघिल्लो वर्षको भन्दा धेरै कम मात्रै क्वारेन्टिन र आइसोलेसन बेड छन् । अघिल्लो वर्ष एक लाख ५७ हजार ६ सय ७६ क्वारेन्टिन भएकोमा अहिले घटेर १६ हजार ५ सय ६० छ । आइसोलेसन वेड अघिल्लो वर्ष १५ हजार ८ सय १० रहेकोमा अहिले घटेर ११ हजार ४ सय ९१ पुगेको छ । 

मन्त्रालयका सहप्रवक्ता अधिकारी बाहिरबाट आएका मानिस क्वारेन्टिन र आइसोलेसनमा भन्दा पनि घरमा बस्न थालेकाले संख्या घटेको बताउँछन् । ‘अघिल्लो वर्ष निकै डर थियो,’ उनले भने, ‘समाज र परिवार पनि त्रसित भएकाले संक्रमित घरमा बस्ने वातावरण थिएन । त्यसैले सबै विद्यालय, निजी अस्पताल, पार्टीप्यालेसलाई आइसोलेसन र क्वारेन्टिन बनाइएको थियो । तर, अहिले समाज र परिवार परिवर्तन हुँदै जाँदा संक्रमित घरमा बस्न थालेका छन्, जसले गर्दा विगतका आइसोलेसन सेन्टर र क्वारेन्टिन बेड घटेका हुन् ।’

जनरल बेड, आइसियू, भेन्टिलेटरको संख्यामा नगन्य मात्रै फरक परेको छ । अघिल्लो वर्ष जनरल बेड १४ हजार आठ सय ९६ भएकोमा हाल बढेर १८ हजार ९ सय १७ पुगेको छ । अघिल्लोपटक सरकारले निजी अस्पताललाई २० प्रतिशत बेड कोभिडका लागि छुट्याउन भने पनि अहिले निजी स्वास्थ्य संस्थालाई संक्रमितको उपचार व्यवस्था गर्न अनुरोध गरिएको छैन । 

महामारीको एक वर्ष पुगिसक्दासमेत सरकारले आफ्नोतर्फबाट आइसियू र भेन्टिलेटर थप गर्न सकेको छैन । यसका लागि पनि चन्दा माग्नुपर्ने अवस्था देखिएको छ । दाताबाट मात्रै दुई सय आठवटा भेन्टिलेटर जुटाएको छ । सरकारले अघिल्लो वर्ष २२ वटा भेन्टिलेटर किन्न टेन्डर प्रक्रिया अगाडि बढाएर अन्तिममा रद्द गरेको थियो ।

अमेरिकी सरकारले २५ करोड रुपैयाँबराबरको एक सय थान पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ । त्यस्तै, भारत सरकारले २८, टु दी फाउन्डेसनले ३०, निक साइमन फाउन्डेसनले २४, चौधरी फाउन्डेसनले आठ, सानोपाइला संस्थाले ६ र वान हर्टले दुईवटा भेन्टिलेटर सहयोग गरेका थिए । त्यस्तै, भारतले नेपाली सेनालाई यसअघि १० थान भेन्टिलेटर पनि उपलब्ध गराएको थियो । 

सोमबार १२ सय ८१ संक्रमित थपिए, आठको मृत्यु
२४ घन्टामा नेपालमा एक हजार दुई सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । सात हजार पाँच सय ४८ जनाको परीक्षण गर्दा सो संख्या थपिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार आरटी पिसिआर परीक्षणमा एक हजार दुई सय ८१ र एन्टिजेनमा ५४ गरी एक हजार दुई सय ८१ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाबाट आठजनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या तीन हजार ९१ पुगेको छ । नेपालमा कुल संक्रमितको संख्या दुई लाख ८५ हजार नौ सय पुगेको छ । सोमबारसम्म देशभर एक सय ४८ जना आइसियू र ४३ जना भेन्टिलेटरमा उपचाररत छन् ।