मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख ७ मंगलबार ०८:४५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जनशक्ति नहुँदा आइसियू र भेन्टिलेटर प्रयोगविहीन

Read Time : > 1 मिनेट
२०७८ बैशाख ७ मंगलबार ०८:४५:००

जिल्ला अस्पताल बझाङमा पाँच महिनाअघि जडान गरिएका दुईवटा भेन्टिलेटर र तीनवटा आइसियू उपकरण प्रयोगविहीन छन् । आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने जटिल अवस्थाका बिरामीलाई अस्पतालले डडेल्धुरा र कैलाली रेफर गर्ने गर्छ । चलाउने जनशक्ति नहुँदा अस्पतालमा जडान गरिएका उपकरण थन्किएका हुन् । ‘जडान गरेपछि एकपटक पनि प्रयोग गर्न पाएका छैनौँ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सन्दीप ओखेडाले भने, ‘आइसियू र भेन्टिलेटर चलाउने जनशक्ति अस्पतालमा छैन ।’ सुदूरपश्चिम प्रदेश सरकारले गत मंसिरमा आइसियू र भेन्टिलेटर उपकरण जडान गरेको थियो ।

जिल्ला अस्पताल डोटीमा पनि जडान गरिएका आइसियू र भेन्टिलेटर उपकरण प्रयोगमा आउन सकेका छैनन् । यी उपकरण प्रयोग गर्नका लागि जिल्ला अस्पतालमा जनशक्ति मात्रै होइन, आवश्यक ल्याब र अक्सिजनको अभाव छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश ठकुल्लाले उपकरण भएर पनि सेवा दिन नसकिएको बताए । उपकरण थन्क्याउनु परेकाले गम्भीर अवस्थाका बिरामीलाई जिल्लाबाहिरका अस्पतालमा पठाउनुपर्ने बाध्यताको अन्त्य हुन नसकेको उनले बताए । मेसु ठकुल्लाका अनुसार आइसियू र भेन्टिलेटर चलाउन जनशक्ति नभएको अस्पतालमा आइसियू सञ्चालन गर्न आवश्यक पर्ने ल्याब पनि छैन । ‘आइसियू चलाउन चाहिने ल्याबसमेत हामीसँग छैन । अक्सिजन पनि तराईबाट ल्याउनुपर्छ,’ उनले भने । जिल्ला अस्पताल डोटीमा करिब पाँच महिनाअघि तीनवटा आइसियू र दुई भेन्टिलेटर जडान गरिएका थिए । 

सुदूरपश्चिममा कोरोना संक्रमणको दोस्रो लहर फैलने जोखिम बढेको छ । जटिल अवस्थाका संक्रमितको उपचारमा भेन्टिलेटर र आइसियू आवश्यक पर्छ । संक्रमण भयावह बन्न सक्ने भएकाले अस्पतालहरूमा यी सुविधा थप्नुपर्ने सुझाब विज्ञहरूले दिइरहेका छन् । तर, यसअघिको संक्रमण मध्यनजर गर्दै प्रदेश सरकारले यहाँका अस्पतालमा जडान गरेका आइसियू र भेन्टिलेटर भने प्रयोगविहीन छन् । प्राविधिक जनशक्ति नहुँदा उपकरण भएर पनि सेवा सञ्चालन गर्न नसकिएको अस्पतालहरूले जनाएका छन् । भेन्टिलेटर र आइसियू चलाउन एनेस्थेसियोलोजिस्ट र क्रिटिकल केयर फिजिसियन आवश्यक पर्छ । उक्त जनशक्ति सेती र महाकाली अस्पतालमा मात्र रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल र अन्य ६ वटा जिल्ला अस्पतालमा दुई/दुईवटाका दरले २० वटा भेन्टिलेटर र २० वटा आइसियू जडान गरेको थियो । निर्देशनालयका अनुसार तीमध्ये सेती, महाकाली र डडेल्धुरा अस्पतालमा मात्र उपकरण प्रयोगमा छन् । डडेल्धुरामा तालिम लिएका चिकित्सकले चलाइरहेका हुन् । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले अहिले थप एक सय २५ वटा आइसियू खरिद गरेर यी अस्पतालहरूमा जडान गरिरहेको छ । उपकरण थन्क्याउनुपरेपछि प्रदेश र केन्द्र सरकारसँग पटक–पटक जनशक्ति माग गरिएको टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले बताए । उपचारका लागि आउने गम्भीर अवस्थाका संक्रमितलाई नेपालगन्ज मेडिकल कलेज पठाउने गरेको उनले बताए ।