१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
टेकराज थामी काठमाडौं
२०७८ बैशाख ७ मंगलबार ०७:४१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एसएलसीको नम्बर सच्याएर एबिबिएस अध्ययन,  सिआइबीद्वारा सात डाक्टर पक्राउ 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ बैशाख ७ मंगलबार ०७:४१:००

अस्पताल भर्ना गरिएका सिकिस्त बच्चाको उपचारमा संलग्न चिकित्सक नै नक्कली भएको थाहा पाउँदा अभिभावकको मनोदशा कस्तो होला ? धनुषास्थित जनकपुर चिल्ड्रेन अस्पतालमा बिरामी बच्चा उपचार गराएका अभिभावक अहिले चिन्तामा परेका छन् । 

अस्पतालमा कार्यरत चिकित्सक कार्यरत भएको वर्ष दिनपछि नक्कली भएको पुष्टि भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार महोत्तरी सरपल्लो–६ का २९ वर्षीय सुवासप्रसाद साह नक्कली चिकित्सक रहेको खुलेको छ । उनी एक वर्षदेखि जनकपुर चिल्ड्रेन अस्पतालको आकस्मिक कक्षमा कार्यरत थिए । एसएलसीमा ६१ प्रतिशत र प्लस टुमा ५५ प्रतिशत नम्बर ल्याएका उनले बंगलादेशको चटगाउँस्थित ट्रस्ट मेडिकल कलेजबाट एमबिबिएस गरेका थिए । प्रहरीका अनुसार उनले एमबिबिएस अध्ययनकै लागि एसलसीको नम्बर सच्याएका थिए । 

पक्राउ परेकाहरूले एसएलसी सर्टिफिकेटमा प्राप्त गरेको नम्बर सच्याएर प्रमाणपत्र नक्कली बनाएको पाइयो । सोही आधारमा एमबिबिएस अध्ययन गर्न चीन र बंगलादेश पुगेको र अध्ययनपछि नेपाल मेडिकल काउन्सिलबाट पनि प्रमाणपत्र निकालेको देखियो । जसमध्ये चारजना अस्पतालमै कार्यरत थिए । - डिआइजी सहकुल थापा, सिआइबी प्रमुख

उनी जस्तै मोहम्मद राहिद राजाले पनि बंगलादेशस्थित इस्ट मेडिकल कलेजबाट एमबिबिएस गरे । नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिए । उनी दुई वर्षदेखि काठमाडौंको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालको आकस्मिक कक्षमा कार्यरत थिए । प्रहरीका अनुसार एसएलसीमा ६८.६३ प्रतिशत र प्लस टुमा ७० प्रतिशत नम्बर ल्याएका उनले पनि छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न एसएलसीको सर्टिफिकेटको नम्बर सच्याए । 

बंगलादेशको बंगाल मेडिकल कलेजबाट एमबिबिएस गरेका मोहम्मद सिद्धिकले पनि एसएलसी र प्लस टुमा प्राप्त गरेको अंक सच्याए । छात्रवृत्तिमा एबिबिएस अध्ययन गर्न बंगलादेश गए । प्रहरीका अनुसार एसएलसीमा ६८.५ र प्लस टुमा ६० प्रतिशत नम्बर ल्याएका उनी १५ महिनादेखि न्युरो अस्पताल विराटनगरमा कार्यरत थिए ।

सिआइबीको विशेष अप्रेसनपछि नक्कली सर्टिफिकेटका आधारमा डाक्टर बनेका उनीहरूजस्तै मनाङ चामे–५ का ३१ वर्षीय दीपेन्द्र गौतम, सप्तरी सकरपुरा–१ का ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरी मनरा–५ की २७ वर्षीया पल्लवी सिंह र ललितपुर–२ फराज हुसेन खान पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेकामध्ये पल्लवी किस्ट मेडिकल कलेज ललितपुरमा एमबिबिएस अध्ययनरत छिन् । उनले छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न एसएलसीको सर्टिफिकेट नक्कली बनाएकी थिइन् ।

त्यस्तै, बंगलादेशको इब्राहिम मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गरेका फराज हुसेन नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिने चरणमा थिए । उनले एसएलसीको सर्टिफिकेट नक्कली बनाएका थिए । चीनको हुवेई युनिभर्सिटीबाट एमबिबिएस गरेका अखिलेशकुमार देव पनि नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिने चरणमा थिए । छात्रावृत्तिमा एमबिबिएस अध्ययन गर्न उनले एसएलसीको सर्टिफिकेट नक्कली बनाएका थिए । दीपेन्द्र गौतमले पनि एमबिबिएस अध्ययन गर्न एसएलसीको प्रमाणपत्र नक्कली बनाएका थिए ।

सिआइबी प्रमुख डिआइजी सहकुल थापाले एसएलसीमा प्राप्त नम्बर सच्याएर डाक्टर अध्ययन गर्न गएको अनुसन्धानबाट खुलेको बताए । ‘पक्राउ परेकाहरूले एसएलसी सर्टिफिकेटमा प्राप्त गरेको नम्बर सच्याएर प्रमाणपत्र नक्कली बनाएको पाइयो । सोही आधारमा एमबिबिएस अध्ययन गर्न चीन र बंगलादेश पुगेको र अध्ययनपछि नेपाल मेडिकल काउन्सिलबाट पनि प्रमाणपत्र निकालेको देखियो । जसमध्ये चारजना अस्पतालमै कार्यरत थिए,’ उनले भने ।

प्रहरीका अनुसार छात्रवृत्तिमा अध्ययन गर्ने उद्देश्यले उनीहरूले नक्कली प्रमाणपत्र बनाएको अनुसन्धानबाट देखिन्छ । ‘धेरै नम्बर प्राप्त गरेको सिम्बोल नम्बर खोजे । सोही सिम्बोल नम्बरका आधारमा नक्कली सर्टिफिकेट झिके । कतिले भने राम्रो नम्बर आएको विषयसँग र कम नम्बर आएको विषयको नम्बर साटफेर गरे । निकै चलाखीपूर्ण ढंगले यो काम भएको देखिन्छ,’ थापाले भने ।

प्रहरीका अनुसार पक्राउ परेका सबैले पुरानो बसपार्कस्थित ज्योतिदीप कन्सल्टेन्सीबाट नक्कली प्रमाणपत्र बनाएको देखिन्छ । प्रमाणपत्र उपलब्ध गराउने कन्सल्टेन्सीका अरुण चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । ‘यिनीहरूले पुरानो बसपार्कमा रहेको ज्योतिदीप कन्सल्टेन्सीबाट नक्लकी प्रमाणपत्र बनाएको देखिन्छ । यसका सञ्चालकलार्ई पनि पक्राउ गरेका छौँ,’ सिआइबी प्रवक्ता एसपी गंगा पन्तले भनिन् ।