मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ६ सोमबार २०:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१५ वैशाखभित्र क्रियाशील सदस्यको विवरण पठाइसक्न कांग्रेसको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ६ सोमबार २०:०६:००

कांग्रेसले पार्टीका क्रियाशील सदस्यताको विवरण केन्द्रलाई पठाइसक्नुपर्ने म्याद पुनः एक साता सारेको छ । सोमबार साँझ बसेको केन्द्रीय कार्यसमितिको बैठकले १५ वैशाखभित्र क्रियाशील सदस्यहरूको विवरण केन्द्रमा पठाइसक्नुपर्ने, अन्यथा महाधिवेशनमा भाग लिन नपाउने गरी ७३ जिल्ला र क्षेत्रीय समितिहरूलाई निर्देशन गरेको हो । 

बैठकले अहिलेसम्म फारम नै नपाएका सप्तरी र सिन्धुपाल्चोक तथा अन्य जिल्लाको भन्दा ढिला गरेर फारम पुगेका बारा र सोलुखुम्बुबाहेक ७३ जिल्लाका जिल्ला कार्यसमिति र क्षेत्रीय समितिहरूले एक साताभित्र क्रियाशील सदस्यको विवरण पठाइसक्नुपर्ने निर्णय गरेको केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले जानकारी दिए । 

सप्तरी, सिन्धुपाल्चोक, बारा र सोलुखुम्बुले वैशाख ३० गतेसम्म क्रियाशीलको विवरण पठाउने म्याद पाएका छन् । ‘महाधिवेशनको मिति नजिकिएको छ, लामो समय पर्खिरहने अवस्था छैन, त्यसैले प्राविधिक कारणवश रोकिएकाबाहेक सबै जिल्लालाई १५ गतेभित्र क्रियाशीलको विवरण सफ्टवेयरमा इन्ट्री गरिसक्न निर्देशन गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय सुनाउँदै लेखकले भने, ‘वैशाख १५ गते राति १२ बजेबाट सफ्टवेयरमा इन्ट्री गर्ने सिस्टम नै बन्द हुन्छ ।’

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तल्ला तहको अधिवेशन सुरु हुन अब करिब दुई महिना मात्रै बाँकी छ । तर, ती अधिवेशनका मतदाता अर्थात् क्रियाशील सदस्यहरूको नामावली अझै संकलन नै भइसकेको छैन । नामावली संकलनपछि त्यसमाथि दाबी विरोध र छानबिनको काम अझै बाँकी नै छ । कांग्रेसले हाल भएको सदस्यता संख्यालाई दोब्बर गर्ने र त्यस्तो विवरण सम्बन्धित जिल्लाबाटै सफ्टवेयरमार्फत केन्द्रीय कार्यालयमा पठाउने व्यवस्था गरेको छ । जसअनुसार केन्द्रलाई अहिलेसम्म ७३ जिल्लाबाट ६ लाख पाँच हजार चार सय तीनजना क्रियाशील सदस्यको विवरण प्राप्त भएको संयोजक लेखकले बताए ।


जसमध्ये नवीकरण भएका पुराना सदस्यको संख्या तीन लाख ३० हजार रहेको छ भने नयाँ क्रियाशील सदस्यको संख्या दुई लाख ८६ हजार रहेको छ । 
छानबिन समितिका संयोजक लेखकले यसपटक कांग्रेसले सबै क्रियाशील सदस्यहरूको विवरण वेबसाइटमा सार्वजनिक गर्ने बताए । ‘क्रियाशील सदस्यता छानबिन समितिलाई प्राप्त विवरण हामी वैशाख १५ गतेपछि सार्वजनिक गर्छौँ, त्यो विवरण हेरेर आफ्नो नाम सच्याउनेदेखि जानकारी राख्ने कुरा हुन्छ, म छानबिन समितिका तर्फबाट त्यसका लागि आग्रह गर्दछु,’ लेखकले भने । 

उनले महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गर्ने गरी क्रियाशील सदस्यतामाथिको विवाद र समायोजनका विषयमा पार्टीभित्र छलफल भइरहेको बताए ।