१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका नयाँदिल्ली
२०७८ बैशाख ६ सोमबार ०९:४८:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

भारतमा लगातार चौथो दिन दुई लाखभन्दा बढी संक्रमित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
२०७८ बैशाख ६ सोमबार ०९:४८:००

भारतमा लगातार चौथो दिन कोरोना भाइरसबाट दुई लाखभन्दा बढी संक्रमित भएका छन् । आइतबार राति ११ बजेसम्म दुई लाख ५८ हजार चार सय ५७ जना संक्रमित भएका छन् । यसैगरी, शनिबार दुई लाख ६० हजार सात सय ७८, शुक्रबार दुई लाख ३३ हजार नौ सय ४३ र बिहीबार २ लाख १६ हजार आठ सय ८५ जना संक्रमित भएका थिए ।

‘लगातार यति धेरै संक्रमित भएको यो पहिलोपटक हो,’ स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतमा कोरोनाबाट एक लाख ७७ हजार पाँच सय ६७ जनाले ज्यान गुमाएका छन् भने एक करोड ५० लाख ४० हजार नौ सय १८ संक्रमित भएका छन् । जसमध्ये एक करोड २९ लाख ३२ हजार पाँच सय ७४ जना संक्रमित मुक्त भएका छन् । 

कोरोनाबाट भारतमा एक लाख ७८ हजार पाँच सय ६७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म भारतमा २६ करोड ६५ लाख ३८ हजार चार १६ जनाले कोरोना परीक्षण गरेका छन् । भारतमा दिनप्रतिदिन कोरोना महामारी फैलिने क्रम चलिरहे पनि खोप कार्यक्रम त्यति प्रभावकारी रूपमा अगाडि बढिरहेको छैन । भारतमा अहिलेसम्म १२ करोड २६ लाख २२ हजार पाँच सय ९० डोज खोप खपत भएको छ । यहाँ कोभिसिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको स्वास्थ्य तथा परिवार कल्याणले जनाएको छ ।

विश्वमा एक दिनमै पाँच लाख संक्रमित 
विश्वमा कोरोना भाइरस संक्रमित संख्या तीव्रताका साथ बढिरहेको छ । आइतबार राति ११ बजेसम्म विश्व भरी पाँच लाख आठ हजार एक सय ६७ जना संक्रमित भएका छन् । साथै, पाँच हजार ६ सय ९७ जना संक्रमितको निधन भएको छ । भारतपछि ब्राजिल एक दिनभित्र धेरै संक्रमित थप भएको देश हो ।

ब्राजिलमा ७५ हजार सात सय ९२ जना संक्रमित भएका छन् । यसैगरी, अमेरिकामा ६३ हजार पाँच सय ८१ र टर्कीमा ६२ हजार ६ सय ६ जना पछिल्लो २४ घन्टामा संक्रमित भएको डब्लुएचओले जनाएको छ । युरोपियन देश फ्रान्समा ३५ हजार आठ सय ६१ जना संक्रमित भए । 

देशभरि कोरोना नियन्त्रण गर्न फ्रान्सले नयाँ प्रोटोकल सार्वजनिक गरेको छ । ब्राजिलबाट आउने जोकोही व्यक्ति कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने फ्रान्सले जनाएको छ । यो २४ अप्रिलबाट लागू हुनेछ । यसैबीच, भ्याक्सिन प्रभावकारी बनाएको इजरायलले आइतबारदेखि सार्वजनिक स्थानमा मास्क अनिवार्य हटाएको छ । यसबाहेक अन्य स्थानमा भने मास्क लगाउनुपर्ने हुन्छ ।

 इटालीमा संक्रमित तथा मृत्युदर घटेपछि सर्वसाधारणले केही राहत पाउने भएका छन् । यो एक सातामा इटालीमा संक्रमित दुई तथा मृत्युदर १४ प्रतिशतले घटेपछि सरकारले केही सहरमा लकडाउन खुकुलो पार्ने योजना बनाएको छ । इटालीका प्रमुख सहरमा २६ अप्रिलसम्म लकडाउन जारी छ । 

इटालीका प्रधानमन्त्री मारियोले देशको अवस्था सुधार भइरहेकाले नागरिकलाई राहत दिलाउने योजना सार्वजनिक गर्न लागेको बताएका छन् । ‘अहिले कोरोनाको अवस्था गत वर्षभन्दा निकै राम्रो छ, यसै कारण सरकार हाल जारी गरिएको प्रतिबन्ध हटाउने तयारीमा छ, संक्रमित संख्या कम भएका स्थानमा सिनेमा हल खुला हुन सक्छ,’ उनले भने ।