परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिक्षा क्षेत्रका समस्या सुल्झाउन सरकारले लगानी बढाउने बताएका छन् । मन्त्री ज्ञवालीले शिक्षा क्षेत्रमा कमजोर लगानीका कारण निजी क्षेत्र हाबी भएको बताए । उनले वर्षेनी सार्वजनिक शिक्षाप्रतिको विश्वास ओरालो लागिरहेको भन्दै शैक्षिक गुणस्तर सुधार र रोजगारमुलक शिक्षाकालागि सरकार सचेत रहेको बताए ।
शनिबार काठमाडौंको डिल्लीबजार स्थित विजय स्मारक माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सवमा सहभागी हुँदै मन्त्री ज्ञवालीले निजी र सामुदायिक विद्यालयबीचको खाडल बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । शिक्षालाई व्यवसायिक र रोजगारमुखी बनाउनुपर्नेमा ज्ञवालीले जोड दिए ।
‘विश्वविद्यालय छाड्दा हातमा सर्टिफिकेट मात्रै होइन, सीप पनि होस्, अबको शिक्षा त्यस्तो हुनुपर्छ,’ उनले भने । शैक्षिक गुणस्तर सुधारकालागि शिक्षक र अभिभावक पनि उत्तीकै जिम्मेवार हुनुपर्ने उनले बताए । शिक्षकले आफ्नो दायित्व पुर्ण निर्वाह गरेमात्र पनि गिर्दो सार्वजनिक शैक्षिक गुणस्तर सुधार्न मद्धत पुग्ने उनको तर्क थियो । कार्यक्रममा प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ र गणेश दुलालको पनि सहभागिता रहेको थियो ।
विद्यालयले वार्षिक उत्सवका अवसरमा तीन दशकसम्म शिक्षण सेवा गर्ने शिक्षकहरु विमलेन्द्र मिश्र, भुपतिराज ज्ञवाली र लक्ष्मीकुमारी बस्नेतलाई नगद पाँच हजार रुपैयाँ सम्मान ग¥यो । सो अवसरमा मन्त्री ज्ञवालीले विद्यालयको दुई कोठे भवनको शिलान्यास गरे ।