मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
५० प्रतिशत अनुदानमा ओखरका बिरुवा लिँदै सिस्ने गाउँपालिकाका किसान । 
मनिष खड्का
२०७५ फाल्गुण ४ शनिबार १६:३१:००
Read Time : > 1 मिनेट
प्रदेश

८ हजार ओखरका बिरुवा वितरण

Read Time : > 1 मिनेट
मनिष खड्का
२०७५ फाल्गुण ४ शनिबार १६:३१:००

ओखर जोन कार्यक्रम अन्तरगत रुकुम पूर्वका कृषकहरुलाई दाँते ओखरका बिरुवा वितरण गरिएको छ । 

चालु आर्थिक वर्ष २०७५÷०७६ बाट लागू भएको ओखर जोन कार्यक्रम अन्तरगत ८ हजार ओखरका बिरुवा किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । कार्यक्रम संचालक समितिको माग अनुसार ओखरका बिरुवा खरिद गरी जिल्लाका ३ स्थानीय तहमा बाँडिएको छ । 

कार्यक्रमका लागि जिल्लाका तीन स्थानीय तहमध्ये पुथाउत्तरगंगा गाउँपालिकामा ४०, सिस्ने गाउँपालिकामा २० र भुमे गाउँपालिकामा १५ हेक्टर क्षेत्रफल जग्गा छनौट गरिएको छ । जसअुनसार पुथाउत्तरगंगामा ४ हजार ४ सय, सिस्नेमा २ हजार र भुमेमा एक हजार ६ सय बिरुवा वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, ओखर जोन परियोजनाका कार्यालय प्रमुख भिष्मराज रेग्मिले जानकारी दिए ।  

ओखर जोन कार्यक्रम लागू भएका सबै क्षेत्रको माटो परिक्षण गरिएपछि बिरुवा वितरण गरिएको उनले बताए । माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेका विज्ञ खिमबहादुर केसी लगायतको टोलीले जिल्लामा ओखर जोन लागु भएका क्षेत्रको माटो परिक्षण गरेको हो । माटोमा पी.एच, नाइट्रोजन, फस्फोरस र पोटासको अवस्थाको जाँच गरिएको र माटोमा पाईने खाद्यपदार्थ केही कम पाइएकाले किसानलाई आवश्यक सुझावसहित ओखरका बिरुवा वितरण गरिएको ओखर जोन परियोजना रुकुम पूर्वले जनाएको छ । साथै परियोजना संचालनका लागि सजिलो होस भनेर वटै स्थानीय तहका कृषि समुह, सहकारी, उद्यमी तथा जनप्रतिनिधिहरुलाई जानकारी समेत गराईएको कार्यालयले जनाएको छ ।

साढे १३ लाखमा भारतबाट ल्याईयो बिरुवा    
किसानलाई बाँडिएका ओखरका बिरुवा भारतको जम्मुकस्मिरबाट ल्याईएको हो । परियोजना संचालक समितिको माग अनुसार ‘कस्मिरी थिनसेल टुसा’ जातको टिष्युकल्चरबाट उत्पादित ८ हजार बिरुवा ल्याईएको हो । किसानकै माग अनुसार भारतबाट विरुवा ल्याईएको परियोजनाका कार्यालय प्रमुख रेग्मीले बताए । किसानहरुले नेपालमा उत्पादन भएका बिरुवा यस अघि पनि पटक पटक लगाएको तर उत्पादन राम्रो नभएको भन्दै भारतबाट बिरुवा ल्याउन माग गरेको उनको भनाई छ । 

सोही अनुसार परियोजना संचालक समितिको निर्णयमा प्रति विरुवा एक सय ७० रुपैंयाँका दरले खरिद गरी ८ हजार बिरुवा जिल्लामा पुर्याईएको हो । बिरुवा खरिदका लागि १३ लाख ६० हजार खर्च भएको कार्यालयको भनाई छ । कार्यालयका अनुसार यसमा ५० प्रतिशत परियोजना र ५० प्रतिशत किसानले ब्यहोर्ने छन् । 
 
परियोजना लागू भएपछि किसान हर्षित 
परियोजना लागू भएपछि किसानहरु खुसी छन् । जिल्लाका किसानहरुले परम्परादेखि नै ओखर खेती गर्दै आएका छन् । तर आवश्यक कृषि उपकरण र व्यवसायीकरण नुहँदा भने कृषकहरुले सोचे जति आम्दानी गर्न सकिरहेका छैनन् । परियोजना सिस्नेको १, २, ४ र ६, भुमे गाउँपालिकाको २, ३, ६, ७ र ८ तथा पुथाउत्तरगंगा गाउँपालिकाको ५, ६, ७, ८, १३ र १४ नम्बर वडामा लागु भएको छ ।