१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ६ सोमबार ०६:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वृद्धा सासूलाई बेवास्ता  गर्ने ज्वाइँ जेल चलान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ६ सोमबार ०६:५५:००

१ मंसिर ०७६ मा श्रीमान् भूपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि शोभा छोरी सुष्मासँगै बस्दै आएकी थिइन् । भूपेन्द्र र शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुनचाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो ।

सबै सम्पत्ति जालसाजीपूर्वक हात पारेर ८४ वर्षीया सासू शोभा रिजाललाई बेवास्ता गर्ने कमलप्रसाद रेग्मी जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । यसअघि उनकी श्रीमती सुष्मा रिजाल रेग्मीलाई पनि अदालतको आदेशमा जेल पठाइएको छ । दुवैलाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ । 

प्रहरीले सुष्मालाई गत २३ चैतमा पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले कमलप्रसादलाई पुर्पक्षका लागि जेल चलान गरिएको जानकारी दिए । ‘छोरी सुष्मालाई यसअघि नै पुर्पक्षका लागि जेल चलान गरिएको थियो । ज्वाइँ कमलप्रसादलाई पनि आइतबार जेल चलान गरिएको छ । ज्येष्ठ नागरिकलाई बेवास्ता गरेको अभियोग उनीहरूमाथि छ,’ उनले भने । जेल चलान गरिएको कमलप्रसाद जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक हुन् । सुष्मा नेपाल राष्ट्र बैंककी निर्देशक हुन् । 

सबै सम्पत्ति जालसाजीपूर्वक लिएको, तर सन्तानको कर्तव्य पूरा नगरेपछि आमा शोभाले छोरी सुष्मा र ज्वाइँ कमलप्रसादविरुद्ध जाहेरी दिएकी थिइन् । प्रहरीका अनुसार १ मंसिर ०७६ मा श्रीमान् भूपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि शोभा छोरी सुष्मासँगै बस्दै आएकी थिइन् ।

भूपेन्द्र र शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुनचाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो । सो रकम छोरी सुष्माले जालसाजीपूर्वक झिकेकी थिइन् । त्यसबाहेक भूपेन्द्रप्रसादको नाममा सिर्जना फाइनान्स र अरनिको सहकारीमा पनि सम्पत्ति थियो । त्यो पनि कमलप्रसादले झुक्याएर झिकेका थिए । शोभाको नाममा त्यसबाहेक पनि विभिन्न कम्पनीमा सेयर थियो । त्यो पनि सुष्मा र कमलप्रसादले अनधिकृत रूपमा झिकेका थिए ।

 रेग्मीदम्पतीलाई पाँच वर्षसम्म कैद र जरिवाना हुन सक्ने
प्रहरीका अनुसार सुष्माविरुद्ध ज्येष्ठ नागरिक ऐन ०६३ अनुसार मुद्दा चलाइएको छ । ऐनको दफा ४ मा ‘कसैले पनि ज्येष्ठ नागरिकलाई इच्छाविपरीत परिवारबाट अलग राख्न पाइनेछैन’ भनी उल्लेख छ । सोही दफाको उपदफा ५ मा ‘ज्येष्ठ नागरिकको चल–अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वा हकवालाले निजलाई आफूसँगै राखी पालनपोषण तथा हेरचाह गर्नुपर्नेछ’ भनी उल्लेख छ । 

यदि परिवारबाट अलग गरे वा अवहेलना गरे प्रहरीमा जाहेरी दिन सक्ने पनि सोही ऐनको दफा ५ मा उल्लेख छ । जाहेरीपछि कसुर गर्नेविरुद्ध एक वर्षदेखि पाँच वर्ष कैद र बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनको दफा २६ मा व्यवस्था गरिएको छ ।

ऐनको दफा २६ को उपदफा २ मा भनिएको छ, ‘हेरचाह केन्द्र वा दिवासेवा केन्द्रका प्रमुख, सञ्चालक, कर्मचारी वा अन्य कुनै व्यक्तिले ज्येष्ठ नागरिकको सम्पत्ति लिने बद्नियतले कुनै काम गर्नु गराउनु हुँदैन । कसुरको मात्राअनुसार एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुनेछ ।’