मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ६ सोमबार ०६:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संसदमाथि आक्रमण र घेराबन्दी भएको सभामुखको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ६ सोमबार ०६:५३:००

प्रधानमन्त्री केपी ओलीले संघीय संसद् र आफूप्रति शृंखलाबद्ध आक्रमण गरेकोमा सभामुख अग्नि सापकोटाले गम्भीर असन्तुष्टि जनाएका छन् । आइतबार नेपाल पत्रकार महासंघको कार्यक्रममा सभामुख सापकोटाले प्रधानमन्त्री ओलीको नामै नलिई उनले संसद्माथि आक्रमण र घेराबन्दी गरेको आरोप लगाए ।

‘जब संघीय संसद्लाई जीवन्त, जनमुखी, चलायमान र गतिशील बनाउने काम सुरु भयो, जब लोकतान्त्रिक मूल्य–मान्यता र आदर्शलाई स्थापित गर्ने काम थालियो, जब प्रतिनिधिसभा संविधानको रक्षार्थ र राष्ट्रिय हितको सवालमा दृढतापूर्वक अगाडि बढ्न सुरु ग¥यो, त्यहीँबाट संघीय संसद्माथि घेराबन्दी हुन थाल्यो, अहिले निकै ठूलो घेराबन्दी छ,’ पत्रकार महासंघको २६औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा सापकोटाले भने ।

सापकोटाले आफूविरुद्ध भ्रम फैलाउने काम भएको र केही समयमा सत्य–तथ्य बाहिर आउनेसमेत दाबी गरे । ‘धेरैलाई केही समय भ्रममा पार्न सकिन्छ, केहीलाई सधैँभरि भ्रममा पार्न सकिन्छ, तर सबैलाई सधैँभरि भ्रममा पार्न सकिँदैन, बहसबाटै सबै भ्रमको अन्त्य हुन्छ,’ सभामुख लोकतन्त्रविरोधी रहेको प्रधानमन्त्री ओलीको भनाइतर्फ लक्षित गर्दै सापकोटाले जवाफ दिए ।

प्रधानमन्त्री ओलीमा संसद्ले आफ्नो पक्षमा काम गरोस् भन्ने चाहना देखिएको पनि सभामुख सापकोटाको संकेत थियो । तर, आफूले कसैको दबाबमा नपरी काम गर्ने सापकोटाले दाबी गरे । ‘मैले कसैको दबाब र प्रभावविनै स्वतन्त्रतापूर्वक गरेको छु, ब्रह्मले जे देख्छ, त्यही गरेको छु,’ सापकोटाले प्रधानमन्त्रीमाथि हमला गरे, ‘तर, यहाँ संसद् तटस्थ नहोस् भन्ने पनि छन्, कसै–कसैमा संसद्ले मेरो पक्षमा काम गरोस् भन्ने चाहना अन्तर्निहित छ ।’ 

सभामुख सापकोटाले आफूमाथि भइरहेको टीका–टिप्पणीप्रति पनि असन्तुष्टि जनाए । तर, यस्ता अभिव्यक्तिमा वास्ता नगरी आफूले काम गरिरहेको उनको भनाइ छ । ‘भन्नेले के भन्छन्, मैले धेरै वास्ता गरेको छैन । लुरुलुरु काम गरिरहेको छु । जे गरेको छु, देशलाई सम्झेर गरेको छु,’ सापकोटाले भने, ‘मेरो बुद्धि र विवेकले नपुगेर कहिलेकाहीँ त्रुटि हुन सक्छ, तर मैले जानीजानी देश र जनताको हितविपरीत कुनै काम गरेको छैन ।’

प्रधानमन्त्रीले सार्वजनिक रूपमै सापकोटामाथि लगातार कटाक्ष गर्दै आएका छन् । प्रधानमन्त्रीले सभामुखले ‘किर्ते’ काम गरेकोसमेत आरोप लगाएका छन् । तर, सभामुखले कमै मात्र प्रतिवाद गरेका छन्, जुहारी खेल्न नचाहने बताएका छन् ।