Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख ५ आइतबार ०९:४२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोरोना महामारी : भारतीय बजार जान नेपालीलाई रोक

Read Time : > 2 मिनेट
२०७८ बैशाख ५ आइतबार ०९:४२:००

बाँके प्रशासनले नेपालीलाई भारतीय बजार रुपैडियामा जान रोक लगाएपछि नेपालगन्ज नाका सुनसान

बाँके प्रशासनले किनमेल गर्न भारतीय सीमाबजार रुपैडिया जान रोक लगाएपछि नेपालगन्ज नाका सुनसान भएको छ । रुपैडिया आउजाउ गर्दा सर्वसाधारणमा कोरोना संक्रमण हुन सक्ने भन्दै प्रशासनले गत शुक्रबारदेखि रोक लगाएको थियो । 

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ विष्णु गिरीले भारतीय बजारमा जान रोक लगाएपछि किनमेलका लागि सर्वसाधारण आउने क्रम घटेको जानकारी दिए । नेपालगन्ज नाकामा प्रत्येक शनिबार रुपैडिया किनमेल गर्न जानेको भिड लाग्ने गरेको थियो । तर, शुक्रबारदेखि प्रशासनले औषधि खरिद र उपचारका लागि बाहेक अन्य प्रयोजनका लागि भारत जान रोक लगाएको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार भारतीय सीमा बजारबाट किनमेल गरेर ल्याएको ठूलो परिमाणको खाद्य वस्तु नेपालगन्ज नाकाबाट नियन्त्रणमा लिएको थियो । घरायसी प्रयोगका लागि ल्याउन लागेको सामान नियन्त्रणमा लिएको भन्दै सर्वसाधारणले प्रहरीको गाडीमाथि आक्रमण प्रयाससमेत गरेका थिए । सामान किनमेल गर्न नाकाबाट एकजना पनि छाडेका छैनौँ । सामान जफत गरेपछि किनमेलका लागि भारतीय बजार जान सर्वसाधारण डराएका छन्,’ सइ गिरीले भने । 

फुर्सदिला भए कर्मचारी र सुरक्षाकर्मी
प्रत्येक शनिबार झन्डै १० हजार सर्वसाधारण किनमेल गर्न भारतीय सीमाबजार रुपैडिया जाने गरेका थिए । प्रशासनले रोक लगाएपछि शनिबार नाकामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपालगन्ज भन्सार कार्यालय यात्रु शाखाका कर्मचारी फुर्सदिला देखिए ।

‘किनमेलका लागि सर्वसाधारण भारतीय बजार गएपछि चेकजाँच गर्न हामीलाई भ्याइनभ्याई हुन्छ,’ जमुनाह प्रहरीका असइ कुलबहादुर विकले भने, ‘भारतीय बजार जान रोक लगाएपछि काम पनि छैन, फुर्सद पनि छैन भनेजस्तै भएको छ ।’

घरबाहिर निस्कन छाडे सर्वसाधारण
दिनप्रतिदिन कोरोना संक्रमित फेला पर्न थालेपछि सर्वसाधारण घरबाहिर निस्कने क्रम घटेको छ । नेपालगन्जको अति व्यस्त रहने धम्बोझी, बिपी चोक, सदरलाइन, त्रिभुवन चोक, सेतु विक चोक, न्युरोडलगायत स्थानमा शनिबार सर्वसाधारणको उपस्थिति निकै कम देखिएको नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले बताए । 

कोरोना संक्रमण बढेपछि सर्वसाधारण स्वस्फूर्त रूपमा घरभित्र बस्न थालेको उनले बताए । हरेक दिन भिडभाड हुने स्थानमा समेत शुक्रबारदेखि सर्वसाधारणको उपस्थिति घटेको उनको भनाइ छ । ‘कोरोनाप्रति सर्वसाधारण आफैँ सजग भएर घरभित्र बस्न थालेको हुनुपर्छ,’ उनले भने, यसले कोरोना संक्रमण न्यूनीकरण गर्न केही हदसम्म सहयोग मिल्नेछ ।’

उनले लकडाउन गर्नुभन्दा सर्वसाधारणलाई कोरोनाको बारेमा बुझाउन जरुरी रहेको बताए । सर्वसाधारणमा जागरुक र सचेतना नभएसम्म लकडाउनको कुनै अर्थ नरहने जिकिर गरे । ‘सर्वसाधारण स्वस्फूर्त रूपमा घरबाहिर ननिस्कने हो भने लकडाउनको आवश्यकता पर्दैन,’ वैश्यले भने । 

नाकामा १७ को परीक्षण गर्दा नौ जनामा कोरोना
नेपालगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा शनिबार ९ जना कोरोना संक्रमित फेला परेका छन् । भारतको गुजरातबाट आएका १७ जनाको एन्टिजेन विधिबाट स्वाब परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)का फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए ।

उनले अहिलेसम्म नेपालगन्ज नाकामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । पछिल्लो समय नाकामा कोरोना संक्रमित फेला पर्ने संख्या बढेको उनले बताए । 

भेरी अस्पतालमा १६६ परीक्षण गर्दा ११८ संक्रमित

भेरी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा शनिबार थप एक सय ६६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये एक सय १८ जना बाँकेका हुन् । विगत २४ घन्टामा दुई सय ५५ जनाको स्वाब परीक्षण गर्दा ८ देखि ७३ वर्ष उमेर समूहको एक सय ६६ जनामा कोरोना पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । 

शुक्रबार मात्र बाँकेका विभिन्न प्रयोगशालामा दुई सय जनामा कोरोना पुष्टि भएको थियो । तीमध्ये एक सय ३८ जना बाँकेका भएको डिसिसिएमसीले जनाएको छ । यहाँ ६ हजार १८ जनामा संक्रमण पुष्टि भएको छ । बेलुकी ७ बजेपछि रेस्टुरेन्ट, सिनेमा हल, रात्री क्लबलगायतका स्थल बन्द गर्न केन्द्रले अपिल गरेको छ ।