मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख ५ आइतबार ०९:०३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिराहामा बोक्सी आरोपमा महिलालाई यातना

Read Time : > 2 मिनेट
२०७८ बैशाख ५ आइतबार ०९:०३:००

गाईलाई टुना लगाएर मारेको भन्दै कुटपिट गरी जबर्जस्ती मलमूत्र खुवाइयो, घटना सार्वजनिक नगर्न स्थानीयको दबाब, गाउँमै मिलापत्रको तयारी

सिराहामा बोक्सी आरोप लगाउँदै एक महिलालाई यातना दिइएको छ । औरही गाउँपालिका–५ की ५० वर्षीया हिरादेवी साहलाई शनिबार बिहान साढे ६ बजे भतिजा र बुहारीहरूले बोक्सी आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र खुवाएका छन् ।

गाईलाई टुना गरेर मारेको आरोपमा आफूमाथि जेठाजुका छोरा र बुहारीले कुटपिट गर्दै मानव मलमूत्र खुवाएको हीरादेवीले जानकारी दिइन् । भतिज घुरन साहले हात समातेर भुइँमा लडाएको र बुहारीहरू कौशिला, निशा र कविताले जबर्जस्ती मानव मलमूत्र खुवाएको उनले बताइन् ।

हीरादेवीका श्रीमान् रामचलितर साह रोजगारका क्रममा भारतको चण्डीगढमा छन् । उनी छोराछोरीसहित घरमा बस्दै आएकी छन् । दुई छोरी र एक छोरामध्ये जेठी छोरी मात्र घरमा भएको मौका पारी आफूमाथि अमानवीय काम गरेको भन्दै उनले दोषीलाई कारबाहीको माग गरेकी छिन् । तर, घटना लुकाउन हीरादेवीलाई स्थानीयले दबाब दिएका छन् । बोक्सी आरोपमा कुटपिट गर्ने र मलमूत्र खुवाउने घटनाका दोषीलाई कानुनी कारबाही गर्नुको सट्टा स्थानीय अगुवा गाउँमै मिलापत्रको तयारीमा जुटेका छन् । घटनाको उजुरी गर्न प्रहरी चौकी औरही पुगेकी साहलाई स्थानीय श्रीदेव यादवलगायतले गाउँमै मिलापत्र गर्ने गरी फर्काएर ल्याएका छन् । यादवले आफन्तबीचको घटना भएकाले प्रहरीमा मिल्नुभन्दा गाउँमै मिल्नु राम्रो हुन्छ भनेर फर्काएको बताए । कुटपिटको घटना सुन्नमा आएकाले आफूले गाउँमै मिलापत्रको लागि प्रहरीमा जानबाट फर्काएको उनको भनाइ छ ।

२ वैशाखमा मिथिला क्षेत्र जुडशीतल पर्व मनाउँदै थियो । हीरादेवी जेठाजुका छोराबुहारीलाई पानी छर्केर आशीर्वाद दिन उनीहरूको घर पुगिन् । पानी छर्किने क्रममा घरमा रहेको गाईमाथि पानी प¥यो । त्यो पानी घुरनले आफैँ गाईमाथि खन्याएका थिए । जिउमा पानी परेको गाईको शनिबार बिहान मृत्यु भयो । गाई मरेको जानकारी घुरनले श्रीमती विन्दीलाई दिए । ‘गाई मरेको देखेपछि बुहारीलाई सुनाए,’ पीडित हीरादेवीले भनिन्, ‘त्यो सुन्नेबित्तिकै तथानाम गाली गर्न थाल्यो । सडकमा घिसार्दै कुटपिट गर्न थाल्यो । घुरनले पाखुरा र हात समातेर भुइँमा लडायो । बुहारीहरूले जबर्जस्ती मलमूत्र मुखमा कोचे ।’ गाई मारेको झुटो आरोप लगाएर सडकमा आफूलाई मलमूत्र खुवाउँदा पनि गाउँलेले रमिता मात्र हेरेको उनले गुनासो गरिन् ।

घटनापछि घुरन साह फरार
बोक्सी आरोप लगाउँदै काकीलाई यातना दिने घुरन साह फरार भएका छन् । प्रहरीले सो घटनामा संलग्न कौशिला, निशा र कवितालाई पनि नियन्त्रणमा लिएको छैन । प्रहरी चौकी औरहीका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक (असइ) कलानन्द यादवले महिलालाई कुटपिट गरेको सूचनाका आधारमा अनुसन्धान थालेको बताए । घटनास्थलमा पुगेपछि महिलाको शरीरमा पानीजस्तो केही छर्केको देखिए पनि मलमूत्र हो÷होइन यकिन भन्न नसकिने उनको भनाइ छ । घटनाबारे लिखित उजुरी नआएकाले कसैलाई नियन्त्रणमा नलिइएको यादवले बताए । सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बोक्सी आरोपमा अमानवीय कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन जरुरी भएको बताए । घटनामा संलग्नलाई चाँडै पक्राउ गरी कानुनी कारबाही गरिने उनले जानकारी दिए ।

समाचार संकलन गर्न गएका पत्रकारमाथि दुर्व्यवहार
बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार भएको घटनाको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि दुर्व्यवहार गरिएको छ । नयाँ पत्रिकाकर्मी सुरेन्द्रकुमार कामति र एभिन्यूज सिरहा संवाददाता शुभनारायण कामतीलाई आरोपित पक्षका रामचन्द्र साहले दुव्र्यवहार गरेका हुन् । गाउँमै घटना मिलाउन चाहेको, तर पत्रकारको टोली पुगेपछि घटना बाहिरिने र कारबाही हुने भयपछि साहले गालीगलौज गर्दै पटक पटक कुटपिट गर्ने धम्की दिएका थिए । आफ्नै घर अगाडिको सडकमा आफूलाई पटक पटक धम्की दिएको एभिन्यूजकर्मी कामतीले बताए । असुरक्षा महसुस भएपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । 
पत्रकार महासंघ सिरहाले घटनाको भत्र्सना गरेको छ । महासंघ सिरहा अध्यक्ष मनोज बनैताले समाचार संकलन गर्न पुगेका पत्रकारद्वयलाई गालीगलौज र कुटपिटको धम्की स्वतन्त्र प्रेसप्रतिको आक्रमण भएकोले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।  

गाउँमै मिलाउन प्रहरीमा उजुरी हाल्न नदिएको हो :  स्थानीय श्रीदेव यादव
कुटपिटको घटना सुन्नमा आयो, आफन्तबीचको मामिला भएकाले प्रहरीमा गएर मिलापत्र गर्नुभन्दा गाउँमै मिल्नु राम्रो हुन्छ भनेर फर्काएको हुँ । अब गाउँमै पञ्चायत हुन्छ ।

९ महिनाअघि बोक्सी आरोपमा मूर्तिदेवीलाई यातना दिने धरौटीमा छुटे

गत २८ भदौमा सिराहाको नवराजपुर गाउँपालिका–५ कुर्सन्डीकी ४५ वर्षीया मूर्तिदेवी यादवलाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गर्दै मलमूत्र खुवाइएको थियो । बोक्सी आरोप लगाउँदै राति नै पञ्चायत बोलाएर छिमेकीहरू धर्मनाथ यादव, सन्तोष यादव, देवनाथ यादव, पशुपति यादव, वैद्यनाथ यादव, महेश यादव, कृष्ण यादव, ब्रह्म यादवलगायतले मूर्तिदेवीमाथि कुटपिट गरेका थिए । कुटपिटपछि मूर्तिदेवीको चिउँडो तथा गालाको हड्डी भाँचिएको थियो । घटनाका आरोपीमध्ये धर्मनाथ यादवका छोरा २५ वर्षीय सन्तोष यादवलाई गत १८ कात्तिकमा जिल्ला अदालत सिराहाले दुई लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।