मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख ५ आइतबार ०७:२७:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

डेब्यु प्लेयरको उत्कृष्ट प्रदर्शनमा नेपालको सानदार जित

Read Time : > 3 मिनेट
२०७८ बैशाख ५ आइतबार ०७:२७:००

डेब्यु खेलमै सर्वाधिक रन प्रहारको कीर्तिमान कायम गरेका कुशल र आसिफबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटका लागि सर्वाधिक ११६ रनको साझेदारी

प्रारम्भिक ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ सेखले डेब्यु खेलमै उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले त्रिदेशीय शृंखलाअन्तर्गत उद्घाटन खेलमा सानदार जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले पराजित गरेको हो । 

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वर्षदिनभन्दा लामो समय अवरुद्ध भएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फर्कंदा नेपालले पहिलो खेलमै जितको स्वाद चाखेको छ । यही खेलमा नेपाली खेलाडीहरूले नयाँ कीर्तिमानसमेत कायम गरेका छन् । यो जित र कीर्तिमानले अन्तर्राष्ट्रिय क्रिकेटमा १३ महिनापछिको नेपालको पुनरागमन अझ सुखद बनेको छ । 

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पाहुना टोली नेदरल्यान्ड्सलाई निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ३६ रनमै रोकेको थियो । जवाफमा नेपालले १५ ओभरमा एक विकेट मात्रै खर्चिएर जित निश्चित गरेको हो ।

सधैँ परिवर्तन देख्न पाइने नेपालको प्रारम्भिक जोडीमा यसपटक पनि त्यस्तै भयो । एक सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले दुई डेब्यु प्लेयर कुशल र आसिफलाई प्रारम्भिक जोडीको रूपमा मैदानमा पठायो । यी दुई खेलाडीले पहिलो अन्तर्राष्ट्रिय टी–२० खेललाई अविस्मरणीय बनाउँदै नेपाललाई सानदार जित दिलाए । 

कुशलले ६२ र आसिफले अविजित ५४ रनको अर्धशतीय इनिङ्स खेले । यी दुई खेलाडीले पहिलो विकेटका लागि एक सय १६ रनको कीर्तिमानी साझेदारी गरे । उनीहरूको व्यक्तिगत प्रदर्शन मान्यताप्राप्त टी–२० खेलमा डेब्युमै सर्वाधिक रन प्रहार गर्ने खेलाडीको सूचीमा क्रमशः पहिलो र दोस्रो स्थानमा रह्यो । प्रतियोगिताअघि यो कीर्तिमान नेपालकै खेलाडी सन्दीप जोराको नाममा थियो । सन्दीपले सन् २०१९ मा संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध अविजित ५३ रन प्रहार गरेका थिए । कुशल र आसिफको यो साझेदारी पहिलो विकेटका लागि नेपाली खेलाडीहरूले बनाएको अहिलेसम्मकै ठूलो रह्यो । यसअघि मंसिर ०७६ मा काठमाडौंमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुटानविरुद्ध कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले एक सय आठ रनको साझेदारी गरेका थिए । 

कुशलले ३० बलमै ५० रन पूरा गरे । ४६ बल खेलेका कुशलले आफ्नो इनिङ्समा समान पाँच छक्का र पाँच चौका प्रहार गरे । उनले पहिलो ओभरको तेस्रो बलमै एउटा खराब सट खेलेका थिए । त्यो सटमा उनी क्याचआउट भएका थिए । यद्यपि, अम्पायरले नो बलको संकेत गरेपछि जीवनदान पाएका कुशलले त्यसपछि भने गल्ती गरेनन् । एकपछि अर्काे ठूलो सट खेल्दै उनले नेपाली इनिङलाई अघि बढाए ।

कुशलजस्तै आसिफले पनि जीवनदान पाएका थिए । व्यक्तिगत ३१ रनमा खेलिरहेका आसिफले ११औँ ओभरको दोस्रो बलमा प्रहार गरेको सटलाई एक्स्ट्रा कभरमा नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले उत्कृष्ट क्याच लिएर पनि छुटाएका थिए । त्यसपछि उनले ३६ बलमा ५० रन पूरा गरेका थिए । कुल ३८ बल खेलेका उनले चार छक्का र चार चौका प्रहार गरेका थिए । 

कुशल आउट भएपछि ब्याटिङका लागि आएका कप्तान ज्ञानेन्द्रले सात बलमा अविजित १३ रन प्रहार गर्दै टोलीको जित निश्चित गरेका हुन् । कप्तान ज्ञानेन्द्रले १५औँ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । 

यसअघि नेपाली बलरहरूले सशक्त प्रदर्शन गर्दा नेदरल्यान्ड्स सहज योगफलमै रोकिन पुगेको थियो । नेदरल्यान्ड्सका लागि बास डी लिडीले सर्वाधिक ४१ र स्कट इडवार्डस्ले ३० रनको योगदान दिएका थिए । बास डी सन्दीप लामिछाने र स्कट साहब आलमको बलमा कुशलमार्फत क्याचआउट भए । कप्तान पिटर २३ र अन्तोनियस स्टाल २० रनमा अविजित रहे । 

नेदरल्यान्ड्सलाई कम योगफलमा रोक्न सन्दीपले दुई तथा सोमपाल र साहबले एक–एक विकेट लिए । कुशल र आसिफसँगै स्पिनर साहबले पनि यसै खेलबाट अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा डेब्यु गरेका हुन् । टी–२० क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध नेपालले हात पारेको यो अहिलेसम्मकै ठूलो (विकेटको आधारमा) अन्तरको जित हो । 

मैदानमा दाजुभाइको जोडी
नेपालले नेदरल्यान्ड्सविरुद्ध जित हात पार्दा मैदानमा एउटा फरक दृश्य पनि देखियो । आरिफ र आसिफ सेख दाजुभाइको जोडी चार वर्षपछि फेरि एकैसाथ मैदानमा देखिए । 

आसिफ नेदरल्यान्ड्सविरुद्ध प्रारम्भिक ब्याट्सम्यानको रूपमा मैदानमा प्रवेश गरेका थिए । मध्यक्रमका ब्याट्सम्यान आरिफको भने यो खेलमा ब्याटिङको पालो आएन । उनले फिल्डिङ मात्रै गरे । यी दाजुभाइ चार वर्षअघि बंगलादेशमा भएको एसिसी इमर्जिङ नेसन्स कपका लागि पहिलोपटक सँगै राष्ट्रिय टोलीमा परेका थिए । उक्त प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा आसिफले ओपनिङ ब्याटिङ गर्दै आठ रन जोडेका थिए । उक्त खेलमा दाइ आरिसले पाँच ओभर बलिङ गरेका थिए । 

आरिफ त्यसपछि पनि नियमितजस्तै राष्ट्रिय टोलीमा रहे । आसिफलाई भने राष्ट्रिय टोलीमा फर्फन लामै समय कुर्नुपर्‍यो । चार वर्षपछि आसिफ राष्ट्रिय टोलीमा फर्कंदा दाजुभाइ सँगै मैदानमा उत्रने अवसर जुरेको हो । उनीहरूभन्दा अघि अर्काे दाजुभाइ जोडीले पनि नेपाली राष्ट्रिय टोलीबाट खेलेका छन् । युनिल र मञ्जिल श्रेष्ठको दाजुभाइको जोडीले नेपाली राष्ट्रिय टोलीबाट सन् २००२ मा हङकङमा त्रिदेशीय क्रिकेट खेलेका थिए ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा बनेका कीर्तिमान
पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी : कुशल भुर्तेल र आसिफ सेखले शनिबार पहिलो विकेटका लागि गरेको एक सय १६ रनको साझेदारी मान्यताप्राप्त टी–२० क्रिकेटमा नेपालको अहिलेसम्मकै ठूलो साझेदारी रह्यो । 

डेब्यु खेलमा सर्वाधिक रन : कुशल भुर्तेलको ६२ रनको अर्धशतकीय इनिङ्स कुनै पनि नेपाली खेलाडीले मान्यताप्राप्त अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा डेब्यु खेलमै बनाएको सर्वाधिक रन हो । आसिफको अविजित ५४ रनको योगफल आइसिसीको रेकर्डको दोस्रो स्थानमा छ । 

ठूलो अन्तरको जित : नौ विकेटको जित नेपालले नेदरल्यान्ड्सविरुद्ध विकेटका आधारमा हात पारेकोमध्ये अहिलेसम्मकै सर्वाधिक ठूलो अन्तरको जित हो । सबै प्रतिद्वन्द्वीविरुद्ध भने नेपालको यो तेस्रो नौ विकेटको जित हो । नेपालले यसअघि सिंगापुर र थाइल्यान्डविरुद्ध पनि नौ विकेटको जित हात पारेको थियो । 

टी–२० खेलमा डेब्यु : कुशल भुर्तेल, आसिफ सेख, साहब आलम