मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ४ शनिबार ११:१९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुलुकको राजनीति गलत दिशामा जाँदै छ : ईश्वर पोखरेल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ४ शनिबार ११:१९:००

उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन् ।  शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलापविरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन् ।

जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्यविरुद्ध प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए । निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने बताएका हुन् । सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाब–किताब चुनावमा हुने भन्दै उनले सरकार ढाल्ने, जनतामा निराशा फैलाउने र अस्तव्यस्त सिर्जना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए । 

उनले भने, ‘राजनैतिक अस्थिरता भइरह्यो भने र सरकार ढाल्ने खेल भयो भने सरकार त पाँच वर्षका लागि आएको हो निर्वाचित भएर । सधैँ बस्छु भनेर हिजो निरंकुश वेलामा जस्तो त होइन । एउटा अवधिसम्म बस्ने हो । त्यो अवधिसम्म राम्रो काम गर्‍याे भने जनताले पुरस्कृत गर्छन् ।  

राम्रो काम भएन भने जनताले दण्डित गर्छन् । यसलाई त हामीले मानेको हो नि । तर, बीचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने र फेरि नयाँ बनाउने, नयाँ खेल गर्ने काम सुरु भयो भने यसले दुर्भाग्य निम्त्याउँछ । विकास र निर्माणका काम पनि रोकिन्छन् । समाजमा भद्रगोल सिर्जना हुन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृति, विसंगति देखापरिरहेका छन् ।

सरकार ढाल्ने खेलमा लाग्ने, राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी छ । सही कुराको पक्षमा गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ । यो काम पनि हामीहरूबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु । जनतामा निराशा फैलाउने र अस्तव्यस्त सिर्जना गर्ने प्रयास भयो भने यो राम्रो हुँदैन ।’

उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनीतिक खिचातानीले कामै गर्न नसकिने वातावरण सिर्जना भएको बताए ।  स्थिर सरकार भए मात्र सामाजिक, आर्थिक र भौतिक पूर्वाधार तथा समग्र विकासका काम गर्न सकिने उनको तर्क थियो । उनले  आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाइने पनि बताए । उनले स्थानीयस्तरमा हुने विकास निर्माणलाई राजनीतिक रूपमा नहेर्न आग्रह गरे । राजनीतिक रूपमा प्रतिस्पर्धा भए पनि विकास निर्माणमा मिलेर लाग्नुपर्नेमा उनले जोड दिए ।