उत्तर–दक्षिण तमोर काेरिडोरमा पर्ने लिम्बुनी पुल समयमा नबन्दा तमोर काेरिडोर नै प्रभावित हुने भएको छ । भारतको सिमाना विराटनगरको रानी र ताप्लेजुङको टिप्ताला जोड्ने नेपालकै छोटो उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्गमा पर्ने तमोर नदीमाथिको लिम्बुनी पुल २०७७ असार मसान्तसम्ममा सक्नुपर्ने भए पनि करिब एक वर्षसम्म म्याद थप गर्दासमेत २० प्रतिशत पनि काम हुन सकेको छैन ।
२०७३/०७४ मा निर्माण सुरु गरिएको सो पुल २०७७ असार मसान्तसम्ममा सक्ने गरी सम्झौता भएको थियो । तर, चार वर्ष बित्दा पनि २० प्रतिशत मात्र काम भएको उत्तर दक्षिण ओलाङचुङगोला सडक डिभिजन कार्यालयले जनाएको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिन र पाँचथर जिल्लालाई जोड्ने तमोर नदीमाथि बन्ने लिम्बुनी पुलको काम २२ करोड रुपैयाँको लागतमा सपना याक्थुङवा जेभी कस्ट्रक्सनले २०७४ साल फागुन ६ गते सम्झौता गरी काम सुरु गरेको थियो ।
१०२ मिटर लम्बाइको पुल बनाउन ठेक्का लिने कम्पनीको लापर्बाहीका कारण काम ढिला भएको बताइएको छ । दुईपटक म्याद थप भए पनि समयमा काम भने सकिने देखिँदैन । आगामी कात्तिकभित्रमा काम सक्नुपर्ने गरी म्याद थप गरिएको छ । चार वर्षमा नभएको काम अब सात महिनामा हुने सम्भावना छैन ।
तमोर काेरिडोरको सुनसरीको चतरादेखि ताप्लेजुङकको दोभान बजारसम्म ट्रयाक ओपन भइसकेको छ । तर, लिम्बुनी पुल चाँडो नबन्ने हो भने यो सडकको कुनै महत्व नहुने जानकार बताउँछन् ।